Logo
१५ चैत्र २०८०, बिहीबार
(April 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३ महिनादेखि बिजुलीबत्ती नहुँदा बिरामीका आफन्त आफै जेनेरेटर भाडामा लिएर एक्सरे गर्दै

जाजरकोट :  ३ महीनादेखि डोल्पाको सदरमुकाम दुनैमा विद्युत् सेवा नहुँदा यहाँका स्थानीय अन्धकारमा बस्न बाध्य छन्। विद्युत् सेवा अवरुद्ध भएपछि सबैभन्दा बढी समस्या जिल्ला अस्पताल डोल्पामा परेको छ।

एक्सरे मेशिन चलाउने विद्युत् नहुँदा जिल्ला अस्पतालको एक्सरे मेशिन चलाउन समस्या भएको हो। अस्पतालमा जोडिएका सौर्य ऊर्जा (सोलार)बाट आपूर्ति भएको विद्युत्ले काम नगर्दा दैनिक समस्या भएको अस्पतालले जनाएको छ। स्थानीय जैरीगाड जलविद्युत् आयोजनाको नहर सुक्खा पहिरोले ३ महीना अघि भत्किएपछि डोल्पा सदरमुकामलगायत १ हजार २०० घरधुरीमा विद्युत् सेवा ठप्प हुँदै आएको छ ।

विद्युत् नहुँदा जिल्ला अस्पतालमा एक्सरे गर्ने बिरामीका आफन्त आफै जेनेरेटर भाडामा लिएर एक्सरे गर्दै आएका छन्। स्थानीयवासी जयकृष्ण बुढाले छोराको हात भाँचिएपछि भाडामा जेनेरेटर लिएर एक्सरे मेशिन चलाएको बताए। मोटो रकम तिरेर जेनेरेटर भाडामा लिई एक्सरे मेशिन सञ्चालन गरेको उनको भनाइ छ ।

डोल्पा अस्पतालमा अहिले डिजिटल एक्सरेसमेत नभएको चिकित्सकले बताएका छन्। विद्युत् नभएकाले विद्यार्थीलाई अध्ययनमा समस्या भएको छ। त्यस्तै डोल्पामा रहेका बैंक सञ्चालन गर्न समस्या भएको छ। स्थानीय रेडियोले जेनेरेटर प्रयोग गरी समाचार मात्र प्रसारण गर्दे आएका छन् ।

अवरुद्ध विद्युत् सेवा सञ्चालन गर्नका लागि नेपाल विद्युत् प्राविकरणबाट ५९ लाख रकम विनियोजन भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले बताए। उनले भने, ‘विद्युत् नहुँदा जिल्लाको सबै विद्युत्बाट हुने काम ठप्प भएको छ’, अहिले प्राधिकरणबाट रकम विनियोजन भई आउन थालेको छ, उपभोक्ता समितिमार्फत् काम गरेर छिटो विद्युत् सञ्चालन गरिने छ।

प्रकाशित मिति: Apr 29, 2019

प्रतिक्रिया दिनुहोस्