Logo
७ बैशाख २०८१, शुक्रबार
(April 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ सरकारकाे असक्षमता : समायोजन भएर आएका कर्मचारीको एक महिनासम्म पनि भएन पदस्थापन

‘मालदार’ कार्यालय कर्मचारीकाे मुख्य राेजाइमा, पदस्थापनमा शक्ति र रकमको चलखेल 

जनकपुर : प्रदेश २ सरकार गठन भएदेखि कर्मचारी अभावमा कामकाज प्रभावित भइरहेको बताउँदै आइरहेको अवस्थामा अहिले प्रदेशमा समायोजन भएर आएका कर्मचारीहरुको एक महिना बित्नै लाग्दा समेत पदस्थापन गर्न सकिएको छैन। प्रदेश सरकारले पदस्थापन गर्न नसक्दा विगत एक महिनादेखि सयौं कर्मचारीहरु मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमै हाजिर गरी तलब पकाइरहेका छन्।

समान्य प्रशासन मन्त्रालयबाट प्रदेश २ मा पदस्थापनको लागि २ हजार ४ सय २२ कर्मचारीकाे नामावली सहितको पत्र मुख्यमन्त्री कार्यालयमा चैत्र महिनाको मध्यतिर पठाइएकाे थियाे। जसमध्ये हालसम्म लेखा अधिकृत, शाखा अधिकृत, सहलेखापालजस्ता कर्मचारीहरुकाे मात्रै पदस्थापन भएको छ।

नायब सुब्बा, सहायक वन अधिकृत, खरिदार, प्राविधकतर्फका कर्मचारी, कम्प्युटर अपरेटर, सहायक कम्प्युटर अपरेटर, कार्यालय सहयोगी जस्ता सयौं कर्मचारीको पदस्थापन हुन सकेकाे छैन। जसकारण ती कर्मचारीहरु अहिले मुख्यमन्त्री कार्यालय मै हाजिर गरेर कामै नगरी तलबभत्ता खाइरहेका हुन्।

मुख्यमन्त्री कार्यालय मै हाजिरी गर्न आएका एक कर्मचारीले भने, ‘हामीलाई कतै पदस्थापन नगरेसम्म त यसरी नै मुख्यमन्त्री कार्यालयमा आएर हाजिर गरी तलब खाने त हाेला। यो हाम्रो चाहना होइन। प्रदेश सरकारले चाँडै पदस्थापन गरोस्। हामी काममा खट्न तयार छाैं।’

अन्य सबै प्रदेशहरुमा कर्मचारी पदस्थापनको काम २ साता अघि नै भइसकेको छ। प्रदेश २ मा कर्मचारी पदस्थापन नहुँदा विभिन्न कार्यालयहरुमा कर्मचारी अभावको कारण दैनिक कार्य सम्पादनमा समस्या भइरहेको छ। विकासको कामहरु पनि कर्मचारी अभावले गति लिन सकेको छैन।

‘मालदार’ कार्यालय कर्मचारीकाे मुख्य राेजाइमा 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका निमित्त प्रमुख सचिव कोमल खत्रीले कर्मचारी पदस्थापनको लागि मापदण्ड तयार गर्ने काम भइरहेकाले चाँडै पदस्थापन हुने बताए। यता पदस्थापनको बढी जसो कर्मचारीले ‘मालदार’ कार्यालय रोज्न खोजेको देखिएको छ। पदस्थापनको लागि आएका अधिकांश कर्मचारीहरुको रोजाइमा यातायात व्यवस्था कार्यालय, सडक डिभिजन, भौतिक पूर्वाधार कार्यालय बढी प्राथमिकताको क्रममा छ।

शक्ति र रकमको चलखेल

कर्मचारीले बढी कमाइ हुने कार्यालयमा पदस्थापन हुन मन्त्री तथा पहुँच भएका सांसद र नेताहरुकाेमा धाइरहेका बताइएकाे छ। यातायात, भौतिक पूर्वाधार र सडकमा जान कर्मचारीहरुले आर्थिक लेनदेन गर्नसमेत अघि बढ्ने गरेकाे बुझिएकाे छ। पदस्थापनमा आएका एक कर्मचारीले ढिलाई हुनुमा रकम र पैसाको चलखेल भएको आशंका व्यक्त गरे। उनले भने, ‘हाम्रै कतिपय कर्मचारी मित्र पैसा लिएर पनि मुख्यमन्त्री, मन्त्री र नेताको घरमा सोर्स पैरवी गर्न धाइरहेका छन्।’

त्यति मात्र होइन मन्त्री र नेताहरुले आफ्ना निकटका कर्मचारीहरुलाई राम्रो कमाइ हुने कार्यालयमा ‘सेटिङ’ गर्न सिफारिस गरेकाले पनि पदस्थापनमा समस्या भई ढिलाइ भएको हुनसक्ने मुख्यमन्त्री कार्यालय कै एक कर्मचारीले बताए। मुख्यमन्त्री कार्यालयका निमित प्रमुख सचिव कोमल खत्रीले पदस्थापनमा पावर र रकमको चलखेलका विषयमा आफूलाई केहि थाहा नभएको बताए। उनको अनुसार मुख्य सचिव दीपक कार्की अस्ट्रेलिया भ्रमणमा रहेको र मुख्यमन्त्री पनि विभिन्न कार्यक्रमहरुमा व्यस्त रहेको हुँदा ढिलाई भएको हो।

प्रकाशित मिति: Apr 28, 2019

प्रतिक्रिया दिनुहोस्