Logo
१२ बैशाख २०८१, बुधबार
(April 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भीमदत्त नगरपालिकाको विपन्न दलित वस्तीमा खानेपानी योजनाको शिलान्यास

महेन्द्रनगर : भीमदत्त नगरपालिका वडा नं. १० श्रीलंका टोलमा खानेपानी योजनाको शिलान्यास गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले श्रीलंका खानेपानी उपभोक्ता तथा सरसफाई योजनाको शिलान्यास गरेका हुन् । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धनगढीसित खानेपानी उपभोक्ता तथा सरसफाई समितिको सम्झौता गरिएपछि योजनाको औपचारिक रुपमा शिलान्यास गरिएको छ ।

श्रीलंका टोल सहित वरपरका ६० घरधुरीका वासिन्दालाई शुद्ध खानेपानी उपलब्ध गराउन योजना सञ्चालन गरिएको छ । कार्यक्रममा भीनपाका नगर प्रमुख विष्टले योजनाबाट लक्षित घरधुरीमा शुद्ध खानेपानी पुगाउन नगरपालिकाबाट सक्दो सहयोग हुने बताए । ‘यो विपन्न वस्ती हो, बाढी आएको बेला ज्यान जोगाउन अप्ठेरो थियो, गाउँलेको माग अनुसार खोला कल्भर्ट हालिएको छ, पानीको समस्या छ, त्यसका लागि गत सालदेखि पहल गर्दै आएका थियौ, अहिले योजनाकाृे शिलान्यास गरिएको छ’ उनले भने,‘यो योजना सम्पन्न गर्न नगरपालिका पूर्ण रुपमा सहयोग गर्ने वचनवद्धता गर्दछ ।’

स्थानीय तह निर्वाचनका क्रममा गरिएका प्रतिवद्धता अनुसार नगर प्रमुख विष्टले गत वर्ष स्थानीयलाई बाढीको समय आउजाउका लागि रेडक्रस सोसाइटीसित साझेदारी गरी कल्भर्ट निर्माण गरेका थिए । कल्भर्टसम्म पुग्ने बाटो ग्राभेलिङ्गका लागि बाटोको सीमा यकिन गर्न स्थानीयसित छलफल थालिएको छ । नगर प्रमुख विष्टले खानेपानी योजना सञ्चालनपछि विपन्न वस्तीका वासिन्दालाई शुद्ध पानी उपलब्ध भएर पानीजन्य रोगको खतरा हटेर जाने बताए । ‘फोहर दुषित पानीबाट रोगको संक्रमण फैलिन्छ, शुद्ध पानीले त्यसलाई हटाउँछ’ उनले भने ।

खानेपानी योजना सञ्चालनका क्रममा योजना विरुद्ध विभिन्न अपवाह फैलाएको उल्लेख गर्दै उनले विकासका लागि अफवाह फैलिनु दुःखद भएको बताए । ‘खानेपानी योजना बनेपछि हेण्डपम्प र पानीका मूहान सुक्ने अफवाह फैलाइयो’ उनले भने,‘यो राम्रो होइन्, यसले विकासलाई प्रभावित पार्छ, यसो गरिनु दुःखद हो ।’ विकासमा सबैको सहभागितामा आफूले जोड दिर्दै आएको उल्लेख गर्दै उनले भने,‘विकास भनेको सबै मिलेर हुन्छ, सबैको सहभागिता चाहिन्छ,विकासमा अवरोध गरिन्छ भने त्यसलाई विकास विरोधी भनिन्छ ।’

स्थानीय तह निर्वाचनमा आफूले विकास मैले होइन, हामीले गर्ने वाचा प्रतिवद्धता सहित प्रचार गरिएको स्मरण गर्दै उनले नगरको विकासका लागि अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना सहित विभिन्न कार्यक्रम सञ्चालन भई रहेको जानकारी दिए ।
श्रीलंका टोल सहित भीनपा वडा नं. २ र ८ मा खानेपानी योजना सञ्चालनका लागि पहल गरिएको नगर प्रमुख विष्टको भनाई थियो ।
खानेपानी उपभोक्ता तथा सरसफाई योजना समितिका अध्यक्ष कृष्णराज जोशीको अध्यक्षतामा गरिएको कार्यक्रममा वडा अध्यक्ष परमानन्द जोशी, वडा सदस्यहरु भवान सिह ठगुन्ना, प्रेम बहादुर चन्द लगायतका सहभागी भएका छन् ।

कार्यक्रममा वडा अध्यक्ष जोशीले स्थानीय सरकारले श्रीलंका टोललाई प्राथमिकता दिएर पूर्वाधार निर्माण सहित खानेपानी, शिक्षा, स्वास्थ्यलाई प्राथमिकता दिएको बताए । ‘यो बाटो नभएको वस्ती हो, गत साल कल्भर्ट बनाएका छौ, यस वर्ष शुद्ध खानेपानी पुगाउन योजना सञ्चालन गरिएको छ’ उनले भने,‘यो वस्तीलाई प्राथमिकता दिएर अन्य कार्यक्रम पनि सञ्चालन गरिरहेका छौ । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका रुपक कठायतले भीनपाले विपन्न वस्तीमा पूर्वाधार निर्माण, खानेपानी योजना सञ्चालन लगायतका विकास निर्माण कार्य प्राथमिकता दिएकोमा नगरपालिकाको सराहना गरे ।

बर्खामा सधैं महाकाली नदीको बाढीको त्रास हुने यो वस्तीमा दलित समुदायका ६० घरधुरी बसोबास गर्छन् । श्रीलंका टोलमा खानेपानी योजना सञ्चालनका लागि शिलान्यास गरिएपछि वासिन्दाहरु खुसी भएका छन् । चार दशकदेखि वस्तीमा बसोबास गर्र्दै आएका स्थानीय लछी सार्कीले खानेपानी योजना शिलान्यासले वस्तीमा खुसी छाएको बताए । ‘यो वस्तीमा ३४/३५ सालदेखि बस्दै आएको छु, यस्ता योजना कहिल्यै आएन’ उनले भने,‘यस वर्ष योजना आयो, खुसी छौ, यसबाट सबैलाई राम्रो हुन्छ ।’

खनेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष जोशीले छिटो योजना सम्पन्न गरी लक्षित घरधुरीमा खानेपानी पुगाउने गरी निर्माण कार्य गरिने बताए । ‘यस वर्ष पर्खालको काम हुन्छ, त्यसपछि अरु काम गर्छौ, यसमा स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारको सहयोगको आश गरेका छौ’ उनले भने ।

प्रकाशित मिति: Apr 24, 2019

प्रतिक्रिया दिनुहोस्