Logo
१३ बैशाख २०८१, बिहीबार
(April 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशमा लोकप्रिय बन्दै सिके राउत, राजपालाई बढ्यो खतरा

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको पदाधिकारी बैठकमा समावेसी नेताहरुले मधेशमा सिके राउतको पार्टीबाट राजपालाई खतरा रहेको औंल्याएका छन् । राजपा गठन भएको दुई वर्ष बित्दा पनि पार्टी व्यवस्थित हुन नसकेको भन्दै उनीहरुले यस्तो अवस्था कायमै रहे सिके राउतको जनमत पार्टी मधेसमा लोकप्रिय बन्दै जान सक्ने औंल्याएका हुन् ।

राजपा नेपालका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सिके राउतको पार्टी मधेशमा लोकप्रिय बन्दै गएको धारणा राख्दै यस्तै भइरहे राजपालाई राउतको पार्टीले कडा टक्कर दिनसक्ने चेतावनी दिए । ‘मधेशका हरेक जिल्लामा सिके राउतको संगठन छ, अमेरिका, अष्ट्रेलिया, कतार लगायतका देशमा पनि संगठन विस्तार भएका छन्’ कर्णको भनाई थियो, ‘राजपा नेपालले आफूमा सुधार गरेन भने मधेशमा सिके राउतले समस्या पर्नेमा दुइमत छैन ।’

बैठकमा नेताहरुले राजपा नेपाल अझै संस्थागत हुन नसकेको समेत बताएका थिए । हालसम्म पार्टी अध्यक्षमण्डलको वरिपरी मात्रै घुमेको धारणा राख्दै नेताहरुले समयमा यसलाई सुधार गर्न नसकिए पार्टी समाप्तिको बोटातर्फ अग्रसर हुने चेतावनी दिएका थिए । एक नेताका अनुसार बैठकमा अध्यक्षमण्डल भङ्ग गर्नुपर्ने सुझाव पनि आएको छ । पार्टी महाधिवेशनको मिति तोकेर अध्यक्षमण्डल विघटन गरि महाधिवेशन गराउनु पर्ने सुझाव आएको हो ।

राजपाले महाधिवेशन आयोजक समितिको संयोजक महन्थ ठाकुरलाई बनाएको छ, उनलाई नै महाधिवेशनसम्म संयोजक मानेर अध्यक्षमण्डल विघटन गरी महाधिवेशन गराउने सुझाव उपाध्यक्ष वृषेशचन्द्र लालले दिएका छन् । उनीसहित सहअध्यक्ष लक्षमण्लाल कर्ण, उपाध्यक्ष गोविन्द चौधरी, अर्का उपाध्यक्ष सत्यनारायण मण्डललगायतका नेताहरुले दिएका पनि अध्यक्षमण्डल विघटनको आवाज उठाएका हुन् ।

जबसम्म अध्यक्षमण्डल रहन्छ तबसम्म पार्टी अगाडि बढ्न नसक्ने उनीहरुको ठहर रहेको छ । बैठकमा सहभागी अर्का नेताका अनुसार गोविन्द चौधरीले अध्यक्षमण्डलका कारण राजपा नेपाल संस्थागत हुन नसकेको गुनासो गरेका थिए ।

यसैबीच राजपा नेपालका अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले राखेको विशेष अधिवेशनको प्रस्ताव पारित नहुने भएको छ । बैठकमा बोल्ने अधिकाँश नेताहरुले पूर्ण महाधिवेशन गराउनुपर्ने धारणा राखेका हुन् । पार्टी निर्मण भइनसकेको अवस्थामा विशेष अधिवेशन गराइए झनै पार्टी नबन्ने धारणा नेताहरुको थियो ।

भण्डारीले पार्टीको हालका केन्द्रीय समितिका सबै सदस्य, प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिक तर्फका जिते-हारेका सबै उम्मेदवार, सबै जिल्लाका अध्यक्षमण्डलका सदस्य, स्थानीयतहका प्रमुख, उपप्रमुख पदका जितेका र हरेका सबै उम्मेदवार, समन्वय समितिका जितेका प्रमुख, उपप्रमुखहरु र मनोनित केही सदस्यहरु समेतको महाधिवेशन प्रतिनिधि बनाएर विशेष अधिवेशन गराउने प्रस्ताव गरेका थिए ।

प्रकाशित मिति: Apr 24, 2019

प्रतिक्रिया दिनुहोस्