Logo
११ बैशाख २०८१, मंगलबार
(April 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीलंकामा आज राष्ट्रिय शोक मनाइँदै, मृतकको सामुहिक अन्त्येष्टि

काठमाडौं : श्रीलंकामा आज राष्ट्रिय शोक मनाइँदैछ ।

गत आइतबार चर्च र होटलहरुमा भएका श्रृंखलावद्ध बम विष्फोटमा मृत्यु भएकाहरुको आज राष्ट्रिय शोक मनाईने भएको छ । अहिले उम्त बम विष्फोटमा परी मृत्यु हुनेहरुको संख्या बढेर ३१० पुगेको छ । प्रहरीका अनुसार ५ सय जना घाइते छन् ।

कोलम्बोको उत्तरी क्षेत्रमा पर्ने नेगोमबोको सेन्ट सेबेस्टिएन चर्चमा मृतकहरुको सामुहिक अन्तिम संस्कार गरिएको छ, जुन आइतबार भएका आक्रमणस्थल मध्येको एक हो । अन्त्येष्टिका क्रममा तीन मिनेटसम्म मौनधारण गरिएको छ ।

सरकारी अधिकारीहरुका अनुसार यो आक्रमण कुनै अन्तर्राष्ट्रिय नेटवर्कको मद्दतमा गराइएको छ । सरकारले यो घटनामा स्थानीय जेहादी गुट नेशनल तौहिद जमातको संलग्नता रहेको बताएको छ । यद्यपि कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।यसअघि प्रहरीका अनुसार एक चर्चको बाहिर फेला परेको विष्फोटक पदार्थ निष्कृय पार्ने क्रममा विष्फोट भएको थियो । त्यसपछि शहरका बिभिन्न चर्च र होटलहरुमा विष्फोट भएका थिए ।

विष्फोट हुँदैछ भन्ने पूर्व सूचना प्रहरीलाई रहेको भन्दै प्रधानमन्त्री रनिल विक्रमासिंघेले प्रहरी अधिकारीहरुमाथि अनुसन्धान गर्नुपर्ने अभिव्यक्ति दिएका छन् । यसबाट राजनीतिक विवाद बढेको छ । कतिपयले विष्फोटलाई रोक्नका लागि कदम नचालेको भन्दै सरकारमाथि प्रश्न उठाएका छन् । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाका सल्लाहकार शिराल लकथिलाकाले बीबीसीसँग कुरा गर्दै सरकार चुक्यो कि चुकेन भन्ने कुराको अनुसन्धान हुने अभिव्यक्ति दिएका छन् ।

त्यसअघि श्रीलंका सरकारका एक वरिष्ठ मन्त्री रजित सेनारत्नेले अन्तर्राष्ट्रिय गुप्तचर एजेन्सीले आक्रमणको चेतावनी प्रहरी अधिकारीलाई दिए पनि त्यो सूचना प्रधानमन्त्री विक्रमासिंघेसम्म नपुगेको बताएका थिए । यो घटनापछि सिर्जना भएको वादविवादले श्रीलंकाको राजनीतिमा हंगामा मच्चिएको बीबीसीले लेखेको छ ।

प्रहरीका अनुसार शंकास्पद ४० जना लाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरु सबै श्रीलंकाका नागरिक हुन् । तर, उनीहरुको परिचय खुलाइएको छैन । उनीहरुसँग सोधपुछ जारी छ । तर, आक्रमणमा कसको संलग्नता छ भन्ने कुरा अझै खुलेको छैन ।

प्रकाशित मिति: Apr 23, 2019

प्रतिक्रिया दिनुहोस्