Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सत्तारुढ दलमै राजधानीबारे विवाद : झुक्याएर अधिवेशन अन्त्य गरेको प्रतिपक्षको आरोप

राजधानी र नामाकरणका विषयमा सत्तारुढ दलमै विवाद भएपछि प्रदेश नम्बर ३ को तेस्रो (हिउँदे) अधिवेशन अन्त्य गरिएको छ । प्रदेश सरकारले प्रदेशको राजधानी टुङ्गो नलगाई सोमबार अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेपछि सोही अनुसार अधिवेशन अन्त्य भएको घोषणा गरिएको हो ।

मुख्यमन्त्री डोरमणि पौडेलले हिउँदे अधिवेशनमै प्रदेशको राजधानी टुङ्गो लगाउने कार्यव्यवस्था परामर्श समितिमा जनाएको प्रतिवद्धताविपरित संसदलाई झुक्याएर अधिवेशन अन्त्य गरेको प्रमुख प्रतिपक्ष दल काँग्रेसले जनाएको छ । ‘संसदले गर्नुपर्ने महत्वपूर्ण काम पन्छाएर जनतालाई भ्रमममा राखेर प्रदेश सरकारले संसद् अधिवेशन अन्त्य गरेको छ । यो कार्यप्रति हामी गम्भीर आपत्ति जनाउँछौ,’ प्रमुख विपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले बताए ।

यसअघि ‘अर्को सूचना जारी नभएसम्मका लागि स्थगित’ भएको अधिवेशन सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अचानक २०७५ वैशाख १० गतेबाट अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख अनुराधा कोइरालालाई सिफारिस गरेको थियो ।

गत चैत १७ गतेको बैठकमा अधिवेशन सफलताको शुभकामना दिने क्रममा सबै दलका नेता तथा सांसदहरूले राजधानीबारे प्रक्रिया सुरु गरेर तत्काल टुंगो लगाउनुपर्ने बताएका थिए । सभामा मुख्यमन्त्री डोरमणि पौडेलले राजधानी र नामाकरणका लागि सहमति खोज्दा ढिला भएको भन्दै अब ढिला नगर्ने बताएका थिए । ‘अब राजधानीबारे विवादमा फस्नु हुँदैन, प्रक्रिया सुरु गर्ने कार्यव्यवस्थामा सल्लाह नै भएको छ,’ मुख्यमन्त्री पौडेलले भनेका थिए ।

प्रदेश ३ मा सत्तारुढ दल नेकपाको स्पष्ट दुई तिहाइ बहुमत छ । ११० सांसदमध्ये ८१ जना सांसद सत्तारुढ दलका भएपनि राजधानी तोक्न ढिलाई गर्नुमा सत्तारुढ दलमै राजधानीबारे विवाद हनु प्रमुख कारण रहेको काँग्रेस नेतासमेत रहेका बानियाँले दाबी गरे । ‘अस्थायी राजधानी रहेको हेटौडालाई स्थायी राजधानी बनाउने या अरु कुनै स्थानमा राजधानी राख्ने भन्नेमा उनीहरुबीचमै विवाद छ । त्यही भएर निर्णय गर्न ढिलाई र आलटाल गरिएको हो । प्रकृयामै गएपनि उनीहरुकै पल्ला भारी रहेको अवस्थामा निर्णय नहुनु भनेको विवाद नै मुख्य कारण हो । यसलाई राजनीतिक बेइमानी भनिन्छ,’ बानियाँको दावी छ ।

नेता बानियाँले राजनीतिक बेइमानी गरेका कारण आगामी संसद काँग्रेसले चल्न नदिने चेतावनी दिएका छन् । उनले प्रदेश सरकारले हिउँदे अधिवेशनभित्र राजधानीको टुङ्गो लगाउने सहमति चैत १७ गतेको कार्यव्यवस्था परामर्श समितिमा गरेपनि सहमति तोडेकोले काँग्रेसले आगामी बैठक चल्न नदिने चेतावनी दिएको बताए ।

यसअघि काँग्रेसकै दवावमा प्रदेशको स्थायी राजधानीको निर्णय गर्न कार्यविधि तयार गर्ने समिति गठन गर्ने सहमति भएको थियो । सोही अनुसार प्रदेशसभामा सभामुख सानुकुमार श्रेष्ठले यसबारे जानकारी पनि गराएका थिए । त्यसपछि यसबारे कुनै प्रक्रिया अघि नबढेपछि काँग्रेस सांसदहरुले पटक-पटक तत्काल समिति बनाउन र प्रक्रिया अघि बढाउन सभामुखलाई आग्रह गरेपनि त्यसको सुनुवाई भएको थिएन ।

‘सहमतिलाई लत्याएर सभामुख, सांसद र सार्वभौम संसदलाई झुक्याएर अधिवेशन अन्त्य गरिएको छ,’ बानियाँले भने, ‘सहमति तोडेकाले काँग्रेसले संसद अघि बढाउन दिँदैन ।’ यता हिउँदे अधिवेशन अन्त्य गरेर मुख्यमन्त्री पौडेल चीन भ्रमण जाँदैछन् । उनी वैशाख ११ गतेबाट हुने राष्ट्रपतिको टोलीमा चीन भ्रमणमा जान लागेका हुन् ।

प्रदेश ३ मा अन्तरिम रूपमा तोकिएको हेटौँडालाई राजधानी कायम राख्ने कि अन्यत्र सार्ने भन्ने विवाद सत्तारूढ नेकपाभित्र तीव्र छ । हेटौँडा अपायक पर्ने भन्दै भक्तपुर वा काभ्रे हुनुपर्ने अडान सांसदहरूले राख्दै आएका छन् । त्यही कारण मुख्यमन्त्री पौडेलले यो एजेन्डालाई छल्न संसद अधिवेशनको अन्त्य गर्न सिफारिस गराएको भन्दै सत्तारुढ पार्टीभित्रै आलोचना भएको छ ।

तर, सत्तारुढ दलका सांसद अरुण नेपाल प्रदेश ३ को राजधानीका विषयमा सत्तारुढ दलमा कुनै विवाद नभएको दावी गर्छन् । ‘सकभर सहमतिमै राजधानी तोक्ने उद्देश्य हो । अन्तिममा सहमति नभए प्रकृया अनुसार नै तोकिन्छ,’ नेपालले भने ।

उनले राजधानीका लागि ४-५ वटा जिल्लाको प्रस्ताव आएको र ति प्रस्तावहरु संसदमा टेबल भइसकेकाले कसैले हार्ने या जित्ने भन्दा पनि सबैको स्वामित्व हुनेगरी निर्णयका लागि समय लागेको बताए ।

प्रकाशित मिति: Apr 23, 2019

प्रतिक्रिया दिनुहोस्