Logo
६ बैशाख २०८१, बिहीबार
(April 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा तेस्रो चरणको मतदान : अमित शाह र राहुल गान्धीको आज ‘जन-परीक्षण’

१५ राज्यमा ११७ लोकसभा सिटका लागि मतदान

भारतमा जारी लोकसभा चुनाव अन्तर्गत मंगलबार तेस्रो चरणको मतदान हुँदैछ । तेस्रो चरणमा मंगलबार १५ राज्यमा ११७ लोकसभा सिटका लागि मतदान हुँदैछ । यो चरणको चुनावमा दुई प्रमुख पार्टी कांग्रेस र भारतीय जनता पार्टी (भाजपा) का अध्यक्षको चुनावी क्षेत्रमा मतदान हुँदैछ । कांग्रेस अध्यक्ष राहुल गान्धी यो चरणमा केरलको वायनाड संसदीय क्षेत्रबाट चुनावी मैदानमा छन् । यस्तै भाजपा अध्यक्ष अमित शाह गुजरातको गान्धीनगरबाट चुनावी मैदानमा रहेका छन् ।

यो चरणमा गुजरातका २६, केरलाका २०, कर्नाटकका १४, महाराष्ट्रका १४, गोवाका दुई, असमका चार, बिहारका पाँच, ओडिशाका ६, उत्तर प्रदेशका १०, छत्तीसगढका सात, पश्चिम बंगालका पाँच, दमन–दीवको एक, दादर नागर हवेलीको एक र जम्मू–कश्मारको एक सिटका लागि मतदान हुँदैछ । राहुल गान्धी केरलको वायनाडबाट चुनावी प्रतिस्पर्धामा रहेको यो पहिलोपटक हो । यहाँको जित राहुलका लागि मात्रै नभएर कांग्रेस पार्टीकै लागि महत्वपूर्ण हुने आंकलन गरिएको छ ।

राहुल गान्धीले दक्षिण भारतमा पार्टीको अवस्था बलियो बनाउनका लागि आफ्नो परम्परागत अमेठी क्षेत्रसँग वायनाडबाट पनि चुनाव लड्ने निर्णय गरेका हुन् । उत्तर प्रदेशको अमेठी राहुल गान्धीको खानदानी क्षेत्र हो । दुवै क्षेत्रमा जितेमा राहुलले एउटा क्षेत्र छोड्नु पर्नेछ ।सन् २०१४ को चुनावपछि सत्तामा रहेका प्रधानमन्त्री नरेन्द्र मोदीको जनमतसंग्रहका रुपमा लिइएको सात चरणको चुनाव अन्तर्गत मंगलबारको चुनाव सबैभन्दा ठूलो हो सिट संख्याका हिसाबले पनि ।

मंगलबारको चुनावमा प्रधानमन्त्री मोदीको गृह राज्य गुजरातमा चुनाव हुँदैछ । तर मंगलबार मोदीको चुनावी क्षेत्र वाराणसीमा भने मतदान हुँदै छैन । यसपटकको चुनावमा ९० करोड भन्दा बढि मतदाताले ५४३ लोकसभा सिटका लागि मतदान गर्दै छन् । भारतको चुनावमा मतदान योग्य व्यक्तिको संख्या विश्वको कुल जनसंख्याको १० प्रतिशत भन्दा बढि हो ।

भारत सन् १९४७ मा बेलातबाट स्वतन्त्र भएपछि पहिलो पटक सन् १९५१-५२ मा चुनाव भएको थियो । अहिले चुनावमा मतदान योग्य रहेका मतदाताको संख्या अमेरिकाको भन्दा झण्डै चार गुणा बढि हो । प्रजातान्त्रिक अभ्यास गर्ने देशमा भारतपछि अमेरिका दोस्रो स्थानमा आउँछ जनसंख्या या मतदाताका हिसाबले ।

यो चुनावमा जुन पार्टीले जित्छ उसले आगामी पाँच वर्ष विश्वको ठूलो प्रजातान्त्रिक देशको नेतृत्व सम्हाल्ने छ । अर्थतन्त्रका हिसाबले पनि भारत विश्वको शक्ति राष्ट्रमा पर्छ । अहिले भारतको जनसंख्या १.३४ बिलियन भन्दा बढि छ र चाँडै नै १.३९ बिलियन जनसंख्या रहेको चीनलाई उछिन्दै विश्वको सबैभन्दा बढि जनसंख्या युक्त देश बन्ने देखिएको छ ।

किसानका समस्या, गरिबी र बेरोजगारी भारतको सबैभन्दा ठूलो चुनौति हो र अहिलेको चुनावी मुद्दा पनि त्यहि बनेको छ । तर नरेन्द्र मोदीको भाजपाले राष्ट्रियताको मुद्दालाई प्रमुख बनाएको छ । सन् २०१४ को चुनावमा भन्दा यसपटक ८३ मिलियन मतदाता थपिएका छन् । सात चरणमा हुने चुनावका लागि १० लाख मतदान केन्द्र तोकिएका छन् ।

३९ दिन लगाएर हुने मतदानको मतगणना मे २३ हुने कार्यतालिका छ । निर्वाचित भएका लोकसभा सदस्यबाटै सबैभन्दा ठूलो दल अर्थात बहुमत ल्याउने दलका नेता प्रधानमन्त्री बन्ने छन् । यस्तो हुन नसकेमा गठबन्धनका नेता प्रधानमन्त्री बन्ने छन् । अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीका मुख्य प्रतिद्वन्द्वीका रुपमा कांग्रेसका राहुल गान्धी रहेका छन् ।

भारतको संसदमा लोकसभा र राज्यसभा गरि दुई सदन छ । लोकसभा सबैभन्दा शक्तिशाली छ । लोकसभामा रहेका ५४३ सिट मध्य बहुमतका लागि २७२ सिट चाहिन्छ । पछिल्लो चुनाव अर्थात सन् २०१४ को चुनावमा नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (बिजेपी) ले २८२ सिट जितेको थियो । यस्तै राहुल गान्धीको पार्टी कांग्रेसले ४४ सिट मात्रै जितेको थियो ।

कांग्रेसले सन् २००९ को चुनावमा २०६ सिट जितेको थियो । मोदीको पाँच वर्षे कार्यकालको जनमत संग्रहका रुपमा लिइएको चुनावमा हिन्दु बाहुल्य भारतमा उनको चर्चा बढि छ । तर उनीमाथि विभाजनको राजनीति गरेको आरोप पनि छ । भारतमा २० करोड भन्दा बढि मुस्लिमको बसोबास छ ।

केही महिनाअघिसम्म मोदी र उनको पार्टी भाजपाको जित निश्चित जस्तै देखिएको थियो । तर गएको डिसेम्बरमा प्रमुख राज्यमा भएका विधानसभा चुनावमा भाजपा पराजित भएपछि राजनीतिक समिकरण केही फेरिएको देखिन्छ । तर फेब्रुअरीमा जम्मू–कश्मीरको पुलवामामा आतंवादी आक्रमण भएपछि फेरि भाजपाको पक्षमा जनमत देखिएको बताइन्छ ।

प्रकाशित मिति: Apr 23, 2019

प्रतिक्रिया दिनुहोस्