Logo
१२ बैशाख २०८१, बुधबार
(April 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीलङ्का आत्मघाती हमला : देशभरी कर्फ्यू, घटनाको योजना विदेशमा रचिएको आशंका

श्रीलङ्का :  श्रीलङ्कामा आइतबार भएको श्रृङ्खलाबद्ध बम बिस्फोटपछि सरकारले देशभरी कर्फ्यू लगाएको छ । श्रीलङ्काली सरकारले उक्त आत्मघाती हमलाको षड्यन्त्र विदेशमा रचिएको बताएको छ ।

अहिलेसम्म ८ बम बिस्फोट भएको छ जसमा मृत्यु हुनेको संख्या २०७ पुगेको छ भने ४५० घाइते छन् । मृतकमा २७ विदेशी नागरिक पनि समावेश छन् ।

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिंघेका अनुसार यस मामलामा संलग्न भएको आशंकामा अहिलेसम्म ८ जनालाई पक्राउ गरिएको छ । पक्राउ सबै श्रीलङ्काका नागरिक हुन् । उनीहरुको कुनै अन्तरराष्ट्रिय संगठनसँग सम्पर्कको पनि अनुसन्धान गरिँदै छ । अहिलेसम्म कुनै पनि संगठनले बिस्फोटको जिम्मेवारी लिएको छैन ।

प्रधानमन्त्रीले सम्भावित हमलाबारे पुलिसलाई पहिले नै जानकारी भएको प्रतित हुने बताउँदै क्याबिनेटलाई यसबारे कुनै जानकारी नभएको बताएका छन् । हमलापछि श्रीलङ्कामा कर्फ्यू लगाइएको छ र सोसल मिडियालाई पनि प्रतिबन्ध लगाइएको छ ।

श्रीलङ्काका रक्षामन्त्री आर विजयवर्धनले भने, ‘यो आत्मघाती हमला हो । गुप्तचर एजेन्सीले हमलाबारे सूचित गरेका थिए तर उनीहरुलाई घटना अघि रोक्न सकिएन । हमलाको षड्यन्त्र विदेशमा रचिएको हो ।’

को हुन् हमलाकर्ता ?

हमला कसले गर्यो यसबारे स्पष्ट जानकारी छैन । समातिएका मानिसहरुबारे पनि केही सार्वजनिक गरिएको छैन । श्रीलङ्काका दूरसंचार मन्त्री हरिन फर्नान्डोले पनि बीबीसीसँगको कुराकानीमा आइतबारको हमलाबारे गोप्य जानकारी भएको स्विकारेका छन् ।

उनले भने, ‘यो गोप्य रिपोर्टबारे प्रधानमन्त्रीलाई जानकारी दिइएको थिएन । यो रिपोर्टलाई किन गम्भीरतापूर्वक लिइएन, यो प्रश्न पनि क्याबिनेटमा उठ्छ ।’

उनले भने, ‘गोप्य रिपोर्टमा हमला चार तरिकाले हुन सक्छ भनेर जानकारी दिइएको थियो । आत्मघाती बम बिस्फोट हुनसक्ने, हतियारमार्फत हमला हुनसक्ने, चक्कूमार्फत हमला हुनसक्ने वा बिस्फोटले भरिएका ट्रकमार्फत हमला हुनसक्ने बताइएको थियो । यो रिपोर्टमा केही संदिग्धको नाम पनि दिइएको थियो । उनीहरुको टेलिफोन नम्बर पनि दिइएको थियो । यो अचम्म छ कि गुप्तचर विभागसँग यो रिपोर्ट थियो तर यसबारे क्याबिनेट वा प्रधानमन्त्रीलाई जानकारी थिएन ।’

फर्नान्डोले भने, ‘यो रिपोर्ट एउटा दस्तावेज हो र यो दस्तावेज हामीसँग छ । यो रिपोर्टमा केही नाम पनि लेखिएका छन् । यसमा केही संगठनको नाम पनि छ । मैले जे सुनिरहेको छु त्यसबाट थाहा भइरहेको छ कि अनुसन्धान राम्रै चलिरहेको छ र हामी हमलाकर्तासम्म पुग्न सक्छौं । हमलाको पछाडि को छन् र कुन समूह हो त्यसको पहिचान भइसकेको छ । भोलि बेलुकासम्म हामीसँग पूरा जानकारी हुनेछ ।’

आठौं बिस्फोटमा तीन पुलिस अधिकारी पनि मारिएका छन् । पुलिस अधिकारीले कोलोम्बोको एउटा घरमा अनुसन्धान गरिरहेका बेला उक्त बिस्फोट भएको हो ।

प्रकाशित मिति: Apr 22, 2019

प्रतिक्रिया दिनुहोस्