Logo
७ बैशाख २०८१, शुक्रबार
(April 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त ५ न्यायाधीशलाइ पद तथा गोपनीयताको शपथ

काठमाडौं :  राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सर्वोच्च अदालतका नवनियुक्त ५ न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा आइतबार आयोजित विशेष समारोहमा नवनियुक्त न्यायाधीश प्रकाशकुमार ढुङ्गाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डा मनोजकुमार शर्माले शपथ लिएका हुन्। उनीहरूमध्ये ढुङ्गाना र माथेमा उच्च अदालतको मुख्य न्यायाधीश हुन् भने रेग्मी, फुँयाल र शर्मा कानुन व्यवसायी हुन्। प्रधानन्यायाधीश राणाले सोही समारोहमा नवनियुक्त प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई पद तथा गोपनीयताको शपथ गराए । उनी नेपाल सरकारको सचिव थिए।

राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा शान्तराज सुवेदीबाट सोही समारोहमा उक्त आयोगका नवनियुक्त सदस्य विष्णुमाया ओझाले पद तथा गोपनीयताको शपथ लिएकी थिइन् । नवनियुक्त सदस्य ओझासँग लामो समय अधिकारकर्मीका रुपमा काम गरेको अनुभव छ ।

राष्ट्रपति भण्डारीले उनीहरू ७ जनालाई तत् पदमा गत शुक्रबार नियुक्ति गरेकी थिइन्। सर्वोच्च अदालतका न्यायाधीश न्यायपरिषद्को सिफारिसमा तथा प्रमुख निर्वाचन आयुक्त र राष्ट्रिय समावेशी आयोगका सदस्य संवैधानिक परिषद्को सिफारिसमा नियुक्त भएका हुन्।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकृत र सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो।

प्रकाशित मिति: Apr 21, 2019

प्रतिक्रिया दिनुहोस्