Logo
७ बैशाख २०८१, शुक्रबार
(April 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

११ महिनापछि नेकपा एकता प्रकृयाले आज मूर्तरुप, सोमबार घोषणा कार्यक्रम

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका विभिन्न संगठनहरुको एकतालाई अन्तिम रुप दिन आइतबार सचिवालय बैठक बस्ने भएको छ। पार्टीका शिर्ष नेता र जनवर्गीय संठनका प्रमुखहरुबीच सहमति जुटेपछि ‘अनुमोदन’का लागि बिहीबार साँझ सचिवालय बैठक बस्न लागेको बताइएकाे छ।

आइतबार बिहान नेकपा शिर्ष नेताहरु अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल तथा महासचिव विष्णु पाैडेलबीच छलफल भएकाे छ। यसका साथै नेकपाका दाेस्राे तहका नेता तथ जनवर्गीय संगठनका प्रमुखहरुको पनि बैठक बसेको छ। उक्त बैठकले नेतृत्व र सांगठनिक संरचनाका विषयमा छलफल गरेको थियो।

छलफलबाट टुंगोमा पुगेका विषयलाई नेकपा सचिवालयले अन्तिम खाका तयार गर्नेछ। सचिवालयलाई उक्त सहमति अनुमोदन गराएर सोमबार सांगठनिक एकता घोषणा गर्ने कार्यक्रम तय भएको छ। कम्युनिष्ट पार्टीको ७०औं एकता दिवस अर्थात् विश्व लेनिन जयन्तीका अवसरमा उक्त घोषणा गर्न लागिएको हो। सोमबार १२ बजे काठमाडौंस्थित प्रज्ञाभवनमा घोषणासभा आयोजना गर्ने निर्णय भएको छ।

पार्टी अध्यक्षद्वय ओली र प्रचण्ड केही दिनदेखि निरन्तर एकता प्रक्रियालाई अन्तिम रुप दिन लागिपरेका थिए। दुई अध्यक्षबीच सहमति भएपछि महासचिव पौडेलसहित पार्टीको एकता प्रक्रियामा असहमत वरिष्ठ नेता नेपालसँग पछिल्लाे ३ दिनदेखि छलफल भइरहेकाे छ। नेता नेपालसँग पनि सहमति जुटेपछि जनगवर्गीय संगठनसँग संयुक्त रुपमा बैठक गरिएको थियो।

शीर्ष नेताहरु पछिल्लाे तीन दिनदेखि छलफलमा

३ महिनामा एकता प्रकृया सक्नेगरी तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएकाे पार्टी एकीकरण प्रकृयाले ११ महिनापछि मात्रै मुर्तरुप पाउने भएकाे छ। लामाे समयदेखि अल्झिएकाे एकता प्रकृया टुंग्याउन नेकपाका शीर्ष नेताहरु पछिल्लाे तीन दिनदेखि छलफलमा जुटेका थिए।

नेकपा केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार आज पुन: शीर्ष नेताहरु अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पाैडेल छलफलमा जुट्ने र एकीकरण प्रकृयालाई अन्तिम रुप दिनेछन्। एकीकरण प्रक्रियामा आफूलाई कम आँकलन गरिएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट थिए।

पार्टी स्थापना दिवसको दिन एकता प्रक्रिया टुंग्याउने

उनीसँगको छलफलपछि एकीकरण टुंगोमा पुग्न लागेको हो। शुक्रबार र शनिबार दुई अध्यक्षसहित नेपाल र पाैडेलले एकीकरणका सम्बन्धमा छलफल गरी एकता प्रकृयालाई टुंग्याउने सैद्धान्तिक सहमति गरेका थिए। कम्युनिस्ट पार्टी स्थापना दिवसको दिन पारि बैसाख ९ अर्थात साेमबार एकता प्रक्रिया टुंग्याउने तयारी भएकाे नेता रिजालले जानकारी दिए।

नेताहरुबीच सहमति नजुट्दा जिल्लासहितका तल्लाे तह तथा जनवर्गीय संगठनहरुको एकता पछिल्लाे ११ महिनादेखि अल्झिरहेको थियो। आफू विदेश भ्रमणमा रहेका बेला प्रदेश नेतृत्व र प्रदेश कमिटीकाे एकता प्रकृयालाई टुंग्याइएकाे भन्दै नेपाल पक्ष सन्तुष्ट थिएन। चार शीर्ष नेताबीच जिल्ला अध्यक्ष र सचिवहरूको सूची टुंग्याउन केही नीतिगत र सैद्धान्तिक विषयमा सकारात्मक छलफल भएकाे छ।

आइतबार बिहान ९ बजे पुनः ४ शीर्ष नेताहरुबीच छलफल हुने र एकताकाे प्रस्तावलाई अन्तिम रूप दिइने ‍बताइएकाे छ। यसअघि अध्यक्षद्वयबीच एकताका सम्बन्धमा सहमति जुटेपनि नेता नेपाल सहमतिमा आएका थिएनन्। नेपाल साबिक कमिटीमा रहेकामध्येबाट वरिष्ठलाई अध्यक्ष र सचिव बनाउनुपर्ने अडानमा छन्।

वरिष्ठताको मापदण्डअनुसार एकता

जनप्रतिनिधिमा निर्वाचित र राजकीय मामिलामा रहेकालाई पार्टीमा कार्यकारी जिम्मेवारी नदिने सचिवालयको निर्णयलाई आधार मानेर वरिष्ठताको मापदण्डअनुसार एकता टुंग्याउनुपर्ने उनको भनाइ छ। पछिल्ला छलफलपछि भने अध्यक्ष ओली सबै जिल्लामा एउटै मापदण्ड लागू हुन नसके पनि नेपाल समूहलाई पनि सम्मानजनक स्थानका साथ समेटेर प्रस्ताव टुंग्याउने निष्कर्षमा पुगेका छन्।

केन्द्रीय सदस्य रिजालका अनुसार एकताकाे मापदण्डमा आइतबार सैद्धान्तिक सहमतिमा पुग्ने तथा तल्लाे तहका प्रमुख पदमा नामसहितकाे प्रस्तावलाई आइतबार मुर्त रुप दिई अध्यक्षद्वयले केन्द्रीय सचिवालयको बैठकमा प्रस्ताव प्रस्तुत गर्नेछन्। अन्तिम गृहकार्यका लागि सिन्धुपाल्चोकको सुकुटेबाट फर्किएलगत्तै बालुवाटार पुगेर अध्यक्ष प्रचण्ड छलफलमा सहभागी भएका थिए।

यसअघि पनि केही ठूला निर्णय लिनुअघि सुकुटे जाने गरेका प्रचण्डकाे यसपटककाे सुकुटे भ्रमणलाई लिएर पनि केही अड्कलबाजी भएका थिए।

#फाइल तस्बिर

प्रकाशित मिति: Apr 21, 2019

प्रतिक्रिया दिनुहोस्