Logo
१५ चैत्र २०८०, बिहीबार
(April 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किर्ते प्रकरणमा पक्राउ परेका पूर्वसभासद् वीपी यादव र हरि मण्डलको यस्तो छ अवस्था

सप्तरी : पूर्व सभासद् तथा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य वीपी यादव सरकारी छाप किर्ते अभियोगमा पक्राउ परेका छन् । यादवसँगै सप्तरीकै राजगढ गाउँपालिका– ३ नर्घो निवासी अर्का केन्द्रीय सदस्य हरि मण्डललाई पक्राउ गरिएको छ । छिन्नमस्ता गाउँपालिका– २ मोहनपुर निवासी यादव पहिलो संविधानसभामा मधेशी जनअधिकार फोरम नेपालका तर्फबाट समानुपातिक सभासद् थिए ।

यादव र मण्डलसहितको संलग्नतमा अग्निसाईर कृष्णसवरण गाउँपालिकाको लेटर प्याड, प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्र यादव, २ नम्बर वडाअध्यक्ष पशुपति चौधरी र ३ नम्बर वडा अध्यक्ष अरुणकुमार चौधरीको छाप किर्ते गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

घटनाको अनुसन्धानका क्रममा दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टले जानकारी दिनुभयो । प्रदेश नम्बर २ सरकारद्वारा सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा नम्बर २ र ३ मा सञ्चालित विकास योजनाको रकम निकाल्न लेटरप्याड र छाप किर्ते गरिएको जनाइएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सडकमा माटो तथा ग्राभेल गर्न स्वीकृत योजनाको २५ लाख रुपैयाँ निकाल्न कागज तथा छाप किर्ते गरी उपभोक्ता समिति समेत किर्ते खडा गरिएको स्थानीयहरुको भनाइ छ ।

गाउँपालिकाको लेटरप्याड र छाप किर्ते गरेको भन्दै उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले प्रहरीलाई पत्राचार गरी घटनाको अनुसन्धान गर्न निर्देशन दिएको थियो । पक्राउ परेका दुवै जनालाई म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Apr 21, 2019

प्रतिक्रिया दिनुहोस्