Logo
१३ बैशाख २०८१, बिहीबार
(April 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विशेष अधिवेशन गर्ने कि पूर्ण महाधिवेशन भन्नेमा राजपा भित्र लफडा, महन्थ ठाकुर मौन

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालभित्र विशेष अधिवेशन गर्ने कि महाधिवेशन गर्ने विवाद उत्पन्न भएको छ । ६ जना अध्यक्ष रहेको राजपा नेपालभित्र महाधिवेशनका लागि विवाद उत्पन्न भएपछि पदाधिकारीको बैठक डाकिएको छ । पार्टीका अध्यक्षमण्डलका सदस्य शरतसिंह भण्डारीले अध्यक्षमण्डलको बैठकमा विशेष अधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

उनको प्रस्तावमा अध्यक्षमण्डलका सदस्य महेन्द्रराय यादव, राजकिशोर यादवले समर्थन नगरेपछि निर्णय हुन सकेन । वैशाख ७, ८ र ९ गते महाधिवेशनको मिति तोकिएको थियो तर तयारी नपुगेको भन्दै वैशाखमै विशेष अधिवेशन भए पनि गर्ने प्रस्ताव संयोजक भण्डारीले राखेका थिए । तर, महेन्द्र यादवले लोकतान्त्रिक विधि र निर्वाचन प्रणालीबाट महाधिवेशन हुनुपर्ने अडान लिएका थिए ।

विशेष अधिवेशनको पक्षमा भण्डारी, राजेन्द्र महतो र अनिल झा रहेका छन् भने महाधिवेशनको पक्षमा महेन्द्र राय यादव र राजकिशोर यादव रहेका छन् । महन्थ ठाकुर यस विषयमा मौन बसेका छन् । उनले सर्वसम्मतबाट जे निर्णय हुन्छ त्यो स्वीकार हुने बताएका छन् । यद्यपी उनी पनि लोकतान्त्रिक प्रकृयाबाट महाधिवेशन हुनुपर्ने पक्षमा रहेको उनी निकट नेताहरु बताउँछन् ।

पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लाल भन्छन्, ‘महन्थजी के चाहनुहुन्छ त्यो म भन्न सक्दिनँ तर पार्टीको महाधिवेशन लोकतान्त्रिक विधि यानि तल्लो तहदेखि नै अधिवेशन गर्दै केन्द्रीय महाधिवेशन हुनुपर्ने पक्षमा म छु ।’ पार्टीको निर्माणका लागि पूर्ण महाधिवेशन नै हुनुपर्ने बताउँदै उनले विशेष अधिवेशनले पार्टी निर्माण हुन नसक्ने र विशेष अधिवेशन आफूहरुलाई स्वीकार पनि नहुने बताए ।

महाधिवेशनका लागि पार्टी केन्द्रीय समिति ८५०, जिल्ला अध्यक्षमण्डल १३०, प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका सबै उम्मेदवार (समानुपातिक उम्मेदवारसहित) गरि करिब १६०० सयजनालाई महाधिवेशन प्रतिनिधि मानेर विशेष एकता महाधिवेशन गराउन संयोजक भण्डारीले प्रस्ताव गरेका थिए ।

उनले आफू अध्यक्षमण्डलको संयोजक रहेकै बेला महाधिवेशन गराउन सकिएन भने राम्रो सन्देश नजाने भएकाले विशेष एकताको अधिवेशन गरेर भएपनि महाधिवेशनको लफडा टुङ्ग्याउनु पर्ने प्रस्ताव राखेका थिए । त्यसका लागि हतार–हतारमा अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरलाई महाधिवेशन आयोजक समितिको संयोजक पनि उनले तोकेका छन् ।

एकता अधिवेशनबाट चयन भएको कार्यसमितिले नै एक डेढ महिनाभित्र महाधिवेशन गराउन सकिने प्रावधान पनि राख्न सकिने बताउँदै उनले तल्ला वडादेखि माथि प्रदेशसम्म अधिवेशन गरेर मात्र महाधिवेशनमा जाने अहिलेका लागि त्यति उपयुक्त देखिएको छैन तर पदाधिकारी समितिको बैठकमा जे सहमति हुन्छ त्यसैका आधारमा पार्टी अगाडि बढ्ने बताए ।

संयोजक भण्डारीले राखेको एकताको विशेष अधिवेशनको प्रस्ताव पारित नभएपछि अध्यक्षमण्डलको बैठकले वैशाख ८ र ९ गतेका लागि पदाधिकारी समितिको बैठक बोलाएको छ । त्यो अधिवेशनबाट जे निर्णय हुन्छ, त्यो स्वीकार हुने अध्यक्षमण्डलका सदस्य महेन्द्र राय यादवले बताए । विधि र प्रकृयाबाट महाधिवेशन भयो भने पार्टी निर्माण हुने बताउँदै उनले विशेष अधिवेशनको प्रावधान विधानमा समेत नरहेको बताए ।

प्रकाशित मिति: Apr 19, 2019

प्रतिक्रिया दिनुहोस्