Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

असार मसान्तसम्मै चट्याङको जोखिम जारी नै, विज्ञबाट लिनुहोस् यसबाट कसरी बच्ने सुझाव

चितवन :  अहिलेको मौसम चट्याङका दृष्टिले निकै जोखिमपूर्ण भएको भन्दै उच्च सतर्कता अपनाउनुपर्ने विज्ञहरुले जनाएका छन् । चैत १५ देखि असार मसान्तसम्म नेपालमा चट्याङको बढी जोखिम हुने गर्दछ ।

स्याण्डविच कार्यक्रमअन्तर्गत श्रीलङ्का र स्विडेनबाट चट्याङमा विद्यावारिधि गरेका डा श्रीराम शर्माका अनुसार विसं २०६८ देखि २०७४ सम्म गरिएको अध्ययनमा नेपालमा हरेक वर्ष चट्याङकै कारण ११० ले ज्यान गुमाउँदै आएका छन् । सावधानी अपनाउन नसक्दा कतिपयले अकालमै ज्यान गुमाउने गरेको उनले बताए ।

यस्ता छन् विज्ञले दिएका ८ सुझाव :

१. घर एवं भवनमा विद्युतीय सुचालकको प्रयोग गरेर आकाशदेखि जमीनसम्म सजिलो बाटो उपलब्ध गराउन सकेमा घर चट्याङको जोखिमबाट बच्ने उनले बताए ।

२.  नेपालमा पछिल्लो समय निर्माण गरिएका भवनमा त्यहाँका विद्युतीय सामानका अर्थिङ गर्ने गरिए पनि भवनको अर्थिङसमेत जोड्ने क्रम अझै प्रभावकारी ढङ्गले गरिएको पाइँदैन ।

३.  घरका विद्युतीय सामानको अर्थिङ गर्दा टाढाबाट विद्युतीय तार र टेलिफोनका तारमार्फत आउने करेन्टबाट बचाउन सकिने उनले बताए ।  शर्माका अनुसार १० किलोमिटर पर परेको चट्याङलाई समेत विद्युतीय वा टेलिफोनका तारले भोल्टेजलाई एन्टेनाको रुपमा रिसिभ गरेर घरसम्म ल्याउने गर्दछ ।

४.  उनले घरमा विद्युतीय सामानसहित सम्पूर्ण भवनको चट्याङ प्रतिरक्षा सामग्री जोड्नुपर्ने बताए । घरको माथि रड राखेर त्यसलाई तामा वा ग्याल्मोनाइज आल्मोनियमको पाता अथवा रडमार्फत जमीनमुनिसम्म पुर्याउन उनले सुझाव दिए ।

५. जमीनमुनि सुरक्षित अवतरण गर्नुपर्ने भन्दै उनले करीब ८ फिट गहिरो खाल्डो खनेर तामाको रड वा पातामा जोड्नुपर्ने बताए । खाल्डोमा पहिले कोइला र नुन राख्ने गरे पनि त्यसले पाता बिगार्ने हुँदा त्यसका लागि बनेको छुट्टै रसायन राख्न उनले सुझाव दिए ।

६.  चट्याङको फाइन सिग्नेचर विषयमा नेपालमा पहिलो विद्यावारिधि गरेका डा पितृभक्त अधिकारी चट्याङ परेको समयमा निकै सावधानी अपनाउनुपर्ने सुझाव दिन्छन् । विदेशको एउटै फुटबल मैदानमा एकै समूहका ११ खेलाडीले चट्याङका कारण ज्यान गुमाउनुपरेको भन्दै उनले सावधानी अपनाउनु नै बच्ने उपाय भएको बताउँछन् ।

७.  उनका अनुसार घर बाहिर हुँदा खुला ठाउँमा रहेमा टाउको र खुट्टा जोडेर गोलो परेर बस्नुपर्ने हुन्छ । रुखको नजिक नबस्न, बिजुली र फोनको पोल, अग्ला भवन नजिक पनि नबस्न उनले सुझाए । विद्युतीय सामग्री प्लगमा नजोड्न र ल्याण्डलाइन फोनमा कुरा नगर्न पनि अधिकारीको सुझाव छ । तर मोबाइल फोन भने चलाउन सकिने उनले बताए ।

८.  गाडीमा रहेमा सिसा लगाएर बस्नु पर्छ । धातुका गाडी सुरक्षित हुने भए पनि प्लाष्टिकका गाडी असुरक्षित हुने विज्ञको भनाइ छ । खेतमा पानीमा काम नगर्न र पौडी नखेल्न पनि उनको सुझाव छ । घरभित्र बस्दा झ्याल र भित्ता नजिक बस्न नहुने भन्दै उनले धाराका पानीमा करेन्ट आउनसक्ने भएकाले पानी नखेलाउन पनि सुझाव दिए ।

चट्याङ प्राकृतिक प्रक्रिया हो । अहिले मात्र होइन, मानव जाति अथवा जीवजन्तुको पृथ्वीमा अस्तित्व हुनुभन्दा अगावै चट्याङ पर्ने गरेको विज्ञहरुको भनाइ छ । इञ्जिनीयरिङ विषय अध्ययन गर्दै गरेका विद्यार्थीलाई पढाउँदै आएका डा शर्मा पृथ्वी र वायुमण्डलमा आउने सूर्यका विभिन्न किरणले पृथ्वी वा वायुमण्डलमा विद्युतीय चार्ज उत्पन्न गराइरहने बताउँछन् । यसरी उत्पन्न विद्युतीय चार्ज असन्तुलित बन्दा त्यो असन्तुलनलाई सन्तुलनमा ल्याउनका लागि चट्याङ पर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: Apr 18, 2019

प्रतिक्रिया दिनुहोस्