Logo
१५ चैत्र २०८०, बिहीबार
(April 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संगीतमा करोडौँ फ्यान कमाएका गायक ड्रेकलाई फुटबल खेलाडीका लागि ‘अशुभ’ मानिदैँ

क्यानाडेली गायक ड्रेकको एल्बम ‘स्कोर्पियन’ ले गत वर्ष धेरै रेकर्डहरु तोड्यो । संगीतको क्षेत्रमा उनका करोडौँ फ्यानहरु रहेका छन् । तर, फुटबलको क्षेत्रमा भने उनलाई धेरैले अहिले अशुभ करार गरिरहेका छन् । नगरुन् पनि कसरी ड्रेकले जुन टोलीको फुटबल खेलाडीसँग खिच्छन्, त्यस टोलीले आगामी खेल हार्ने गरेको छ ।

इटालियन क्लब एएस रोमाले ठट्टा गर्दै ट्वीट नै गर्यो – यो सिजनको अन्त्यसम्म सबै रोमाका खेलाडीहरुलाई ड्रेकसँग फोटो खिच्न प्रतिबन्ध गरिएको छ । पछिल्लो पटक शिकार बने फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनका डिफेन्डर लेयविन कुरजावा । कुरजावाले ड्रेकसँग तस्विर खिचेको भोलिपल्ट पेरिस सेन्ट जर्मेनले लिलेसँग ५-१ को लज्जास्पद हार बेहोर्यो । यो पछिल्लो २० वर्षमा टोलीले बेहोरेको सबैभन्दा ठूलो हार थियो ।

ड्रेकको ‘शिकार’ पिएसजी मात्र होइन, युरोपका अन्य क्लबहरु पनि परेका छन् । आर्सनल स्टार पिएरे-एमरिक आउबामेयाङले लण्डनको ओटुमा आयोजित ड्रेकको कन्सर्टमा सहभागी भए । तीन दिनपछि आर्सनल एभर्टनसँग पराजित भयो ।

म्यान्चेस्टर युनाइटेड पनि ड्रेकको ‘अशुभ’ लक्षणको शिकार बन्यो । रोमेलु लुकाकु र पाउल पोग्बाले ड्रेकसँग फोटो खिचेपछि युनाइटेड एफए कपमा वुल्भसँग पराजित भयो ।

यता, अर्को म्यान्चेस्टर क्लब सिटी समेत यसको शिकार बन्यो । सर्जियो अगुएरोले ड्रेकसँग तस्विर खिचाएपछि च्याम्पियन्स लिगमा टोटनहम हटस्पर्सविरुद्ध पेनाल्टीबाट गोल गर्न सकेनन् । सिटी १-० ले पराजित भयो । गत महिना ड्रेकले डर्टमण्डका युवा इंग्लिस खेलाडी जाडोन सान्चोसँग तस्विर खिचाए । डर्टमण्ड चिरप्रतिद्वन्द्वी बायर्न म्युनिखसँग ५-० ले पराजित भयो ।

ड्रेकको ‘ब्याड लक’ फुटबलमा मात्र सिमित छैन । खबिब नुर्मागोमेडभविरुद्धको युएफसी खेलअघि ड्रेक कोनर म्याकग्रेगरसँग देखिएका थिए । सो खेल म्याकग्रेगरले हार्न पुगे ।

यता, केहीले टोरोन्टो र्याप्टर्सले एनबीएमा राम्रो प्रदर्शन गर्न नसक्नुमा ड्रेक कारण भएको बताउँदै आएका छन् । ड्रेक टोलीको पुरानो समर्थक हुन् । साँच्चिकै ड्रेक अशुभ नै हुन् कि यो संयोग मात्र हो रु यसमा मत विभाजित छ । तर, खेल समर्थकहरु भने ड्रेकलाई ‘अशुभ’ मानिरहेका छन् ।

प्रकाशित मिति: Apr 17, 2019

प्रतिक्रिया दिनुहोस्