Logo
१३ बैशाख २०८१, बिहीबार
(April 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपभोक्ताको जीवनसँग खेलवाड गर्नेलाई मृत्युदण्डको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री राउत

जनकपुरधाम : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले उपभोक्ताको जीवनसँग खेलबाड गर्नेलाई मृत्युदण्ड सजायको व्यवस्था हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगद्वारा आज यहाँ आयोजित उपभोक्ताको मानवअधिकार अवस्था विषयक प्रदेशस्तरीय कार्यशालाको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले साे कुरा बताउँदै र्फर्मालिन (शवलाई गन्हाउन नदिने) औषधिको प्रयोग गरी वस्तु बिक्री गर्ने व्यक्ति मानव हत्यारा भएको बताए ।

विगतमा काठमाडौँ उपत्यकामा बिक्री हुने गरेका सडेका मिठाईलाई गुँदपाक बनाई बिक्री गर्ने व्यवसायीले मानवको जीवनसँग खेलबाड गर्दा पनि दण्डित नहुनु विडम्बना भएको प्रसङ्ग उल्लेख गर्दै उनले उपभोक्तालाई रोगी बनाउने वस्तु बिक्री गर्नेलाई अपराधीसरह कानूनी कारवाही गर्न आवश्यक भएको बताए ।

मुख्यमन्त्री राउतले खुला रूपले बिक्री गर्ने मिठाई, मासु, झिल्ली, कचरीलगायतका व्यवसायीमाथि कारवाही प्रक्रियालाई प्रभावकारी बनाउनु पर्ने खाँचो औँल्याए ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले बजार अनुगमन गर्ने संरचनामा समन्वय, सहकार्य र एकरूपता कायम हनुपर्ने बताउँदै उपभोक्ता शिक्षामा आम उपभोक्ताको पहुँच अहिलेसम्म हुन नसकेको प्रसङ्ग उल्लेख गरे ।

प्रदेश नं २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले उपभोक्ताको संरक्षण मानवअधिकार वा कानूनी विषयबारे विश्वव्यापी बहस बनेको बताउँदै उपभोक्ता संरक्षण ऐनले सबैको दायित्वलाई व्यवस्थित गरेको उल्लेख गरे ।

धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले आगामी दिनमा उपभोक्ताको हितलाई ध्यानमा राखी धनुषा जिल्लामा खुला रूपमा दुग्ध बिक्री वितरणमा रोक लगाइने जानकारी गराए ।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष ललित साहले खाद्य र कपडाका व्यवसायी पलायनको अवस्था आएको बताए । उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बानियाँले दोषीउपर कारवाहीको अवस्था कमजोर भएका कारण पनि उपभोक्ताका गुनासो बढ्दै गएको बताए ।

आयोगका सदस्य मोहना अन्सारीले संविधान र कानूनले उपभोक्ता अधिकारको संरक्षणका लागि सङ्घ, प्रदेश र स्थानीय तहलाई जिम्मेवार बनाउने गरी कानूनी व्यवस्था गरेको बताए ।

प्रकाशित मिति: Apr 16, 2019

प्रतिक्रिया दिनुहोस्