Logo
७ बैशाख २०८१, शुक्रबार
(April 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चन्द्र अभियान सफल पार्ने इजरायलको सपना भयो अधुरो

काठमाडौं :  चन्द्रमामा पुग्ने इजरायलको पहिलो अभियान असफल भएको छ । चन्द्रमाको सतहमा अवतरण गर्ने बित्तिकै उसको अन्तरीक्षयान बेरेशिट दुर्घटनाग्रस्त भएको छ । बेरेशिटको इन्धनमा खराबी आएको थियो र अवतरण गर्ने सया रोवरका ब्रेकिंग सिस्टम असफल भयो ।

इजरायलको उक्त चन्द्रमा मिसनको मुख्य उद्देश्य चन्द्रमाका तस्वीर खिच्नु र चन्द्रमामा केही प्रयोगहरु गर्नु थियो । यदि यसमा सफल भएको भए इजरायल सफलतापूर्वक चन्द्रमामा पुग्ने विश्वको चौथो देश बन्ने थियो । अहिलेसम्म रुस, अमेरिका र चीनले आफ्ना अन्तरीक्षयानलाई चन्द्रमामा अवतरण गराइसकेका छन् ।

इजरायलले प्रक्षेपण गरेको बेरेशिट

उक्त अभियानका प्रमुख मोरिस कानले भनेका छन्, ‘हामी सफल भएनौँ, र निश्चित रुपमा हामीले कोसिस गर्यौं ।’ जहाँसम्म पुगियो त्यो उपलब्धी समेत महत्वपूर्ण रहेको र त्यसमा गर्व गर्नुपर्ने उनको भनाई छ ।

तेलअविवस्थित नियन्त्रण कक्षबाट चन्द्रयानको दृश्यावलोकन गरिरहेका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भनेका छन्, ‘यदि पहिलोपटकमा सफलता मिलेन भने हामीले दोश्रोपटक कोसिस गर्नुपर्दछ । हामीले दोश्रोपटक कोसिस गर्नुपर्दछ ।’

चन्द्रमामा पुग्नका लागि सात हप्ताको यात्रा पश्चात मानव रहित उक्त इजरायली यान चन्द्रमाको सतहबाट १५ किलोमिटर टाढा यसको अन्तिम कक्षमा पुगेको थियो ।

मिसन असफल भएको घोषणा गर्नेबेला के भयो ?

यस क्रममा कमान्ड सेन्टरमा तनाव अत्यधिक थियो किनकी अन्तरीक्षयानसँग सम्पर्क भैरहेको थिएन । सोही क्रममा इजरायल एरोस्पेस उद्योगको अन्तरीक्ष विभाग प्रमुखले चन्द्रयानमा खराबी आएको घोषणा गरे । ‘दुर्भाग्यवस हामी चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण गर्न सफल भएनौं,’ उनले भने ।

इन्जिन स्टार्ट गर्नका लागि अन्तरीक्षयानलाई रिसेट गरिरहेको उनले बताएका थिए । केही सेकेण्डपछि इन्जिन स्टार्ट भयो । त्यसपछि कमान्ड सेन्टरमा रहेका मानिसहरुले ताली बजाए । तर केही क्षणमै अन्तरीक्षयानसँग सम्पर्क विच्छेद भयो । योसँगै अभियान समाप्त भयो ।

२२ फेब्रुअरीमा बेरेशिटले अन्तरीक्षको उडान सुरु गरेको थियो

अमेरिकाको फ्लोरिडास्थित केप केनेभरल एयर फोर्स स्टेसनबाट उक्त चन्द्र यान प्रक्षेपण गरिएको थियो । स्पेस आइएल र इजरायल अन्तरीक्ष एजेन्सीको संयुक्त पहलमा सुरु भएको उक्त परियोजनामा १० करोड डलर खर्च भएको छ ।

चन्द्रमामा पुग्न किन लाग्यो ३ हप्ता  ?

चन्द्रमामा पुग्नका लागि केवल केही दिनको समय लाग्नुपर्ने हो । तर यो अन्तरीक्ष यानले चन्द्रमासम्म पुग्नका लागि ३ हप्ताको समय लगायो । आखिर किन ?

२२ फेब्रुअरीमा अन्तरीक्ष उडान सुरु गरेको बेरेशिट अप्रिल ४ मा मात्रै चन्द्रमाको गुरुत्वाकर्षण क्षेत्रमा प्रवेश गरेको थियो । त्यसबीचमा यसले कैयौँ पटक पृथ्वीको परिक्रमा गर्यो ।

बेरेशिटले चन्द्रमासम्म पुग्न लामो समय लगाएको थियो ।

पृथ्वीदेखि चन्द्रमासम्मको औसत दूरी करीब ३ लाख ८० हजार किलोमिटर हो । तर आफ्नो यात्राका क्रममा यो यानले त्यसको १५ गुणा धेरै दूरी उडेको छ ।

यसको उद्देश्य चाहिँ अभियानको लागत कम गर्नु थियो । यानलाई सीधै चन्द्रमामा पठाउन सकिन्थ्यो । तर बेरेशिटलाई स्पेस एक्सको फाल्कन नाइन रकेटबाट प्रक्षेपण गर्ने क्रममा त्यससँगै एउटा सञ्चार उपग्रह र एक प्रायोगिक विमान पनि पठाइएको थियो ।

अन्तरीक्ष यात्रामा रकेट साझेदारी गर्दा प्रक्षेपणको लागत कम हुन गयो । तर यसबाट उक्त अन्तरीक्षयानलाई केही जटिल र अप्ठेरो मार्गबाट गुज्रिनु पर्यो ।

चन्द्रमामा उत्रिन किन अप्ठेरो भयो ?

इजरायली अन्तरीक्ष यानलाई चन्द्रमामा अवतरण गर्नु सबैभन्दा चुनौतिपूर्ण काम थियो । त्यसको इन्जिन बेलायतमा बनेको थियो । यो इन्जिन नम्मो कम्पनीले बेलायतको वेस्टकोटमा बनाएको थियो । डेढ मिटर लामो यो अन्तरीक्षयानले चन्द्रमामा अवतरण गर्ने क्रममा आफ्नो गति लगातार कम गर्नु पर्दथ्यो । यसमा ब्रेकको सबैभन्दा ठूलो भूमिका थियो जसले अन्तरीक्षयानलाई सकुशल चन्द्रमाको सतहमा अवतरण गर्दथ्यो ।

बेरेशिटले खिचेको एक तस्वीर
अवतरण हुनुभन्दा अगाडि नम्मोका वरिष्ठ प्रपल्सन इन्जिनियर रोब वेस्कटले भने, ‘हामीले यस प्रकारको एप्लिकेसनमा इन्जिनको प्रयोग कहिल्यै पनि गरेका थिएनौँ ।’

उनका अनुसार चन्द्रमामा अवतरण गर्नेसमयमा यसको इन्जिन चालू राख्नुपर्ने हुन्छ र यो निकै तातो हुनेछ । फेरि यसलाई केही समयका लागि बन्द गर्नुपर्दछ । तातै रहेको अवस्थामा त्यसलाई पुनः स्टार्ट गर्नुपर्दछ । निकै सटिक रुपले यो कार्य गर्नुपर्दछ ता कि सुस्त गतिमा यान चन्द्रमामा अवतरण गर्न सकोस् । यो पूूरा प्रक्रियामा २० मिनेट लाग्दछ ।

चन्द्रमामा कहिले को पुग्यो ?

अहिलेसम्म चन्द्रमामा केवल ३ वटा देशले आफ्ना अन्तरीक्षयान उतार्न सफल भएका छन् । अन्तरीक्षमा चलिरहेको ६० वर्षे अनुसन्धानका क्रममा सबैभन्दा पहिले १९६६ मा सोभियत संघले लुना(९ लाई चन्द्रमामा उतारेको थियो । त्यसको ३ वर्षपछि नै मानव जातिका लागि ठूलो कोशेढुंगा सावित गर्दै २१ जुलाई १९६९ मा अमेरिकाका निल आर्मस्ट्रंगले चन्द्रमामा पाइला टेकेर इतिहास रचे ।

ती दुई सफलताको करीब ५० वर्षपछि गत जनवरी महिनामा मात्रै चीनले आफ्नो अन्तरीक्षयान चेन्ज फोरलाई चन्द्रमामा उतार्न सफल भयो । त्योसँगै चीन चन्द्रमामा पुग्ने तेश्रो देश बन्यो ।

प्रकाशित मिति: Apr 15, 2019

प्रतिक्रिया दिनुहोस्