Logo
११ बैशाख २०८१, मंगलबार
(April 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेलिब्रेटीका नयाँ वर्षका योजना : क-कस्ले गर्दैछन् विवाह !

काठमाडौँ : नयाँ वर्ष २०७६ आगमनको रौनकसँगै हरेक व्यक्तिले विगतका कामको समीक्षा गर्दै नयाँ वर्षमा गरिने कार्यका योजना बनाउन थालेका छन् ।

विगतलाई मूल्याङ्कन गर्दै आगामी दिनका लागि योजना कलाकारका पनि महत्त्वपूर्ण नै हुने गर्दछन् । यो वर्ष म यस्तो गर्छु, यस्तो गर्दिनँ । यस्तो बनाउँछु । यस्तो बनाउँदिन आदि इत्यादि प्रणहरु पनि हुने गर्छन् ।

यसै सन्दर्भमा कलाका विभिन्न विधामा क्रियाशील रहँदै आएका कलाकारका वर्ष ०७६ का लागि के कस्ता प्रण रहेका छन् । यो सबैका लागि चासोको विषय हुनसक्छ । कलाकारले नयाँ वर्षको प्रण उनीहरुकै शब्दमा

ऋचा शर्मा (अभिनेत्री) 
वर्ष ०७६ विषेश हुनेछ । यो वर्ष विवाह गर्दैछु । एक रियालटी सोका लागि जज छानिएकी छु, भने भर्खर एक नयाँ फिल्मको पनि एग्रिमेन्ट भएको छ । शुक्रबारबाट ‘पाङ्ग्रा एक्सप्रेस’ नामक फास्टफुड पनि सञ्चालनमा ल्याएकी छु । यो सबैको रोजाइमा पर्ने काम गर्छु । दर्शकका लागि राम्रो फिल्महरु पनि दिन्छु ।

सलिनमान बनिया (अभिनेता) 
दर्शकको रोजाइमा पर्ने फिल्म खेल्नेछु । मेरो नयाँ फिल्म ‘यात्रा’ भर्खर रिलिज भएको छ । दर्शक, शुभचिन्तकले यसमा औँल्याएका कमिकमजोरी सुधार गर्नेछु । मेरा फ्यान, शुभचिन्तक र दर्शकको खुसी ध्यानमा राखेर आगामी, दिन अगाडि बढ्छु ।

प्रशान्त ताम्राकार (कलाकार) 
जाँड, रक्सी, चुरोटलगायत केहीको पनि नराम्रो लत मेरो छैन । त्यसैले सुधार्नुपर्ने त्यस्तो केही नराम्रो बानी देख्दिनँ । ०७६ सालमा दर्शकका लागि राम्रो फिल्म दिने कोसिस गर्नेछु । यो वर्ष मेरो जोड आफ्नो एक्सरसाइजमा रहने छ । म शरीर सिक्स प्याक बनाएरै छाड्नेछु ।

प्रमोद अग्रहरी (अभिनेता) 
विगतका वर्षभन्दा अझ सशक्त रूपमा अभिनयमा प्रस्तुत गर्नेछु । दर्शकको मन छुने र जित्ने फिल्म खेल्छु । होम प्रोडक्सनबाट एक फिल्म बनाउने तयारी भइरहेको छ । ०७६ भित्र रिलिज गर्ने योजना पनि छ । नराम्रो बानी त्यस्तो केही छैन । केही रहेछ भने सुधार्नेछु ।

दीपेन्द्र के खनाल (निर्देशक) 
०७६ लाई सिर्जनशील वर्ष बनाउँदै दर्शक तथा फिल्म उद्योगका लागि सम्झन लायक फिल्महरु निर्माण गर्छु ।

प्रदीप कुमार उदय (निर्माता, वितरक) 
केही वर्ष जनतासँगको प्रत्येक्ष सम्पर्कभन्दा टाढा रहे । त्यो कमजोरी हटाउँदै हरपल सम्पर्कमा रहनेछु । नेपालाई हिन्दूराष्ट्र बनाउन राप्रपाले थालेको आन्दोलनलाई अझै उचाइमा पुर्याउँदै जनसरोकारका विषयहरु सम्बोधन गराएरै छाड्ने मेरो प्रण हो ।

खुश्बु खड्का (अभिनेत्री) 
केही नयाँ कामको थालनी गर्ने योजना रहेको छ । यो वर्ष परिवारलाई पनि धेरै समय दिन्छु । छिटो विश्वास गर्ने बानीले धेरै पटक धोका खाएकी छु । यो बानी सुधार्छु । राम्रो फिल्म मात्र खेल्छु ।

राज घिमिरे (अभिनेता) 
आफूलाई सधैँ सामाजिक कार्यमा लगाउने विचार छ । नयाँ फिल्म बनाउने तयारी गर्दैछु । सबैलाई हुन्छ, गर्दिन्छु भन्ने बानी छ । अबका दिनमा हुने, गर्दिन सक्ने र मिल्ने कामलाई मात्र हुन्छ भन्छु । नहुने, नमिल्ने र गर्न नसक्ने काम हुँदैन र मिल्दैन भन्ने प्रण गर्छु ।

उत्तम केसी (हाँस्य कलाकार) 
०७६ मा टीभी सिरियल ‘रहरै भो’ निर्माण गर्छु । फिल्म ‘जन्तिबाख्रो’को कथावस्तु तयार भएकाले चाँडै कलाकार छनौट गरेर सुटिङ सुरु गर्छु । नेपाली चलचित्रको विकाश र विस्तारका लागि बजारको खोजीमा समेत लाग्नेछु । सङ्ख्यात्मकभन्दा गुणस्तरीय फिल्म निर्माणमा जोड दिनेछु ।

लक्ष्मी आचार्य (गायिका) 
आफूलाई नयाँ ढङ्गले अगाडि बढाउने सोच छ । सुधार्नुपर्ने केही कुरा पनि छन्, ती सुर्धाछु । गतवर्षका भन्दा राम्रा गीत सङ्गीत दिनेछु । गीत सङ्गीतमा नेपाली कलासंस्कृति समेट्ने छु । नयाँ खालका, सन्देशमूलक र देश विदेशमा समेत प्रतिनिधित्व गर्ने गीत ल्याउँछु ।

मिलन चाम्स (निर्देशक) 
०७६ मा नयाँ सोच लिएर अगाडि बढ्दैछु । पहिले गरेको गल्ती सच्याएर दर्शकको मन जित्ने चलचित्र दिनुपर्छ भन्ने सोच छ । चलचित्र र बिजनेस दुवै काम गर्ने योजना छ ।

युवराज चौलागाईं (गायक) 
२०७६ मा पनि गीत सङ्गीतै व्यस्त हुनेछु । अहिले गरेको र बजारमा आएका भन्दा फरक काम गर्नेछु । गीतको सङ्ख्यामा भन्दा गुणस्तरमा लाग्नेछु । ०७५ मा पूरा नभएका सपनासमेत पूरा गर्नेछु । आफ्नो शरीर र बढी बनाउन पनि ध्यान दिनेछु । स्रोताको रुचि ध्यानमा राखेर गीत सङ्गीत तयार गर्नेछु । अघिल्लो वर्षभन्दा धेरै मिहिनेत गर्नेछु ।

ज्योती मगर (गायिका) 
नयाँ गीतहरु फरक ढङ्गबाट ल्याउनेछु । आफ्नो सुधार गर्नुपर्ने खासै केही छैन । खानपिनमा सुधार गर्नेछु । शरीर घटाउनुपर्ने छ । अघिल्लो वर्षभन्दा अझै लगनशील र मिहिनेतका साथ गीत सङ्गीतमा लागिपर्नेछु ।

चेतन सापकोटा (गायक तथा सङ्गीतकार) 
आफूलाई सामाजिक गायक तथा सङ्गीतकारको रूपमा स्थापित गर्नेबाटोतिर लाग्नेछु । जोसुकैलाई पनि आत्मीय मित्र सम्झने बानी सुधार्नेछु । समाजमा सहयोगी र सत्कर्मको भावना जगाउन जयमाया प्रेम अभियान चलाउनेछु ।

भावना गुरुङ (अभिनेत्री) 
खराब कुरा सबै त्याग्नेछु । लाइफस्टाइल अघिल्लो वर्षभन्दा फरक बनाउने सोच छ । छिटो रिसाउने र ढिलो पुग्ने मेरो नराम्रो बानी छ । त्यसलाई सुधार्ने छु । नयाँ व्यवसाय गर्ने योजना छ । ०७६ मा धेरैभन्दा धेरै पार्टी जाने, मनोरन्जन गर्नेछु ।

सुपुष्पा भट्ट (अभिनेत्री) 
०७६ भन्दा आफूलाई सुधारेर अगाडि बढाउनेछु । राम्रो नेचर भएको केटीको रूपमा आफूलाई बिस्तार गर्नेछु । नयाँ राम्रो फिल्म खेल्छु ।

साहिमा श्रेष्ठ (गायिका) 
विगतका वर्षभन्दा ०७६ मा नयाँ तथा उत्कृष्ट गीत तथा भिडियो ल्याउनेछु । आफ्नो गायनमा भएको कमीकमजोरी पनि सुधार्ने छु । यसका लागि आफन्त र साथीभाइसँग सल्लाह लिनेछु । गीतको सङ्ख्यामा भन्दा गुणस्तरतिर ध्यान दिनेछु ।

प्रकाशित मिति: Apr 14, 2019

प्रतिक्रिया दिनुहोस्