Logo
१५ चैत्र २०८०, बिहीबार
(April 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जो कोहीलाई पत्याउन गाह्रो ट्वीटरका सीईओको तलब

सन् २०१८ मा कम्पनीबाट माइक्रो ब्लगिङ साइट ट्वीटरका सीईओ ज्याक डोर्सीले यति कम तलब बुझे कि जो कोहीलाई पत्याउन गाह्रो हुन्छ । हुन त उनले सन् २०१५ मा दोस्रोपटक सीईओ बनेसँगै ट्वीटरबाट कुनै तलब सुविधा लिएका थिएनन् । तर सन् २०१८ मा उनले ट्वीटरबाट कूल १ डलर ४० सेन्ट तलब बुझेका छन् । पछिल्लो चार वर्षमा उनले तलब लिएको यो पहिलोपटक हो ।

ट्वीटरले अमेरिकाको सेक्योरिटिज एण्ड एक्सचेन्ज कमिसनलाई बुझाएको रिपोर्ट अनुसार सीईओ डोर्सीले सन् २०१८ को वर्षभरमा जम्मा १.४० डलर तलब पाएका हुन् । ट्वीटरका सह-सस्थापकसमेत रहेका डोर्सी कम्पनीको सुरुवातताका दुई वर्षसम्म ट्वीटरको सीईओ थिए । सन् २००८ मा उनले उक्त पद छाडे । त्यसपछि सन् २०१५ मा उनले पुन: ट्वीटरको प्रमुख कार्यकारी अधिकृतको पद सम्हाले ।

त्यसपछि उनले सन् २०१५, २०१६ र २०१७ मा ट्वीटरबाट कुनै तलब सुविधा लिएनन् । डोर्सीले सन् २०१८ मा ट्वीटरबाट लिएको १.४ डलरको तलब मात्र होइन उनले अर्को कम्पनी स्क्वाएरबाट बुझ्ने तलब पनि यस्तै अपत्यारिलो छ । मोबाइल पेमेन्ट कम्पनी स्क्वाएरबाट उनले वार्षिक २ डलर ७५ सेन्टमात्र तलब बुझ्दछन् ।

गत डिसेम्बरमा उनले स्क्वाएरमा रहेको आफ्नो १७ लाख कित्ता शेयर बेचेका थिए । जसबाट उनले ८ करोड डलर आम्दानी गरेका थिए । फोब्र्सको तथ्यांक अनुसार डोर्सीको कूल सम्पत्ति ४ अर्ब ७० करोड छ । जसमा ३ अर्ब ९० करोड डलर मूल्य बराबरको स्क्वाएर कम्पनीको ६ करोड १० लाख कित्ता शेयर पनि समावेश छ । त्योसँगै ट्वीटरको करीब ६० करोड डलर बराबरको शेयर पनि उनीसँग छ ।

उनले ट्वीटरको शेयर भने हालसम्म बेचेका छैनन् । जबकि ट्वीटरका अर्का सह-सस्थापक इभान विलियम्सले अप्रिल २०१८ देखि हालसम्म आफ्नो स्वामित्वमा रहेको ट्वीटरको शेयरमध्ये झण्डै ५० प्रतिशत शेयर बेचिसकेका छन् । वार्षिक डेढ डलरभन्दा पनि कम तलब बुझ्ने डोर्सी एक्ला अर्बपति होइनन् । फेसबुकका सीईओ मार्क जुकरबर्ग, ओरेकलका ल्यारी एलिसन तथा गुगलका ल्यारी पेज र सर्गेई ब्रिनले पनि वार्षिक १ डलर तलब लिन्छन् ।

फेसबुक सीईओ मार्क जुकरबर्गले सन् २०१२ मा तलब र बोनसको रुपमा जम्मा ७.७० डलर मात्र तलब बुझेका थिए । अहिले जुकरबर्ग फेसबुकमा सबैभन्दा कम तलब खाने कर्मचारी हुन् । स्मरणरहोस् १९ औं शताब्दीको सुरुवातमा युद्धको अवस्था रहेको बेलासमेत अमेरिकाका ठूला कम्पनीका शीर्षस्थ पदाधिकारीहरुले एक डलर तलब लिने चलन सुरु गरेका थिए ।

 

प्रकाशित मिति: Apr 13, 2019

प्रतिक्रिया दिनुहोस्