Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वकप छनोट यू-१९ क्रिकेटमा सिंगापुरविरुद्ध क्याप्टेन पौडेलको अर्धशतक

काठमाडौँ :  नेपाली राष्ट्रिय यू-१९ क्रिकेट टिमले सन् २०२० मा दक्षिण अफ्रिकामा हुने आईसीसी यू-१९ विश्वकपको एसिया छनोटको यात्रा सुरु गर्ने क्रममा नेपाल सिंगापुरविरुद्ध खेलेको छ। मलेसियामा जारी खेलमा ब्याटिङ गरेको नेपालले २५ ओभरमा ५ विकेट गुमाएर १४८ रन बनाएको छ।

नेपालको लागि क्याप्टेन रोहित पौडेलले अर्धशतक पूरा गरेका छन्। उनले ५१ बलमा ५४ रन बनाएका छन्। ६ चौकाको सहयातमा ५४ पूरा गर्न सफल भएका हुन्। क्रिजमा पौडेलसँग कुशल मल्ल रहेका रहेका छन्। उनले १ चौका र १ छक्का गरी ५ बलमा १० रन बनाइसकेका छन्। यसअघि पवन सराफले ५३ बलमा ४७ रन बनाएर आउट भएका थिए भने भीम सार्कीले १९ बलामा २६ रन बनाएर आउट भएका छन्।

समूहको शीर्ष स्थानमा रहने टिम विश्वकपका लागि छनोट हुने भएकाले नेपालको लक्ष्य शीर्ष स्थान नै हो। सिंगापुरविरुद्ध मैदानमा उत्रिँदा नेपाल बलियो मनस्थितिमा हुनेछ। पछिल्लो पटक यी दुई टिम २०१७ को विश्वकप छनोटमा खेलेका थिए। दुई खेल खेलेको नेपाल दुवैमा विजयी भएको थियो। एउटा खेलमा नेपाल २२ रनले विजयी भएको थियो भने अर्को खेलमा ४ विकेटले जित निकालेको थियो।

नेपालले छनोटमा खेल्ने प्रतिद्वन्द्वीहरू सबै चिरपरिचित छन्। यद्यपि नेपालका लागि निर्णायक खेलका रूपमा पुनस् यूएई, मलेसिया र ओमान नै रहेका छन्। यी टिमका केही खेलाडी राष्ट्रिय स्तरबाट पनि प्रमाणित गरिसकेकाले नेपालको खास प्रतिद्वन्द्वी का रूपमा यिनै टिमलाई मानिएको छ।

छनोटको दबाब

मलेसियामा आयोजना हुने एसिया छनोटमा नेपालसहित ६ टोलीले प्रतिस्पर्धा गर्दा यो पटक नेपाललाई छनोट हुने दबाब सर्वाधिक रहेको छ। छनोटमा नेपालसहित, मलेसिया, सिंगापुर, युएई, कुवेत र ओमन अघि छन्। यू-१९ विश्वकपको इतिहासमा नेपाल धेरै पटक उमेर समूहको विश्वकप खेलिसकेको छ। यद्यपि नेपालले सन् २०१०, २०१४ र २०१८ मा विश्वकप खेल्ने अवसर गुमाएको थियो। त्यसैले यो पटकको गोल्डेन जेनेरेसनले विश्वकप छनोट खेल्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: Apr 12, 2019

प्रतिक्रिया दिनुहोस्