Logo
७ बैशाख २०८१, शुक्रबार
(April 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खुट्टा केही बांगो रहेको थाहा पाएपछि पूर्वसांसद गायत्री साहले अस्पतालमै छोडिन् आफ्नो बच्चा

काठमाडौं : पूर्वसांसद गायत्री साहले ‘डाउन सिन्ड्रोम’ भएको बच्चा जन्मिएको भन्दै बच्चा अस्पतालमै छोडेकी छिन्। साहले फागुन २८ गते मेडिसिटी अस्पतालमा छोरा जन्माएकी थिइन्।

दुबै खुट्टा केही बांगो रहेको देखिएपछि एनआइसियुमा लामो समय बच्चालाई उपचारमा राखिरहेकै अवस्थामा साहले बच्चा छोडेकी हुन्। लापरबाहीले त्यस्तो (शारीरिक विकास कम) हुने बच्चा जन्मिएको भन्दै उनले मेडिसिटी अस्पतालमा बच्चा छोडेकी हुन्।

उनले बच्चाको बाँकी जिम्मा अस्पतालले नै लिनुपर्ने अडान राखेकी छिन्। ‘तीन र पाँच महिनामा बच्चाको शारीरिक परीक्षण गर्दा केही देखिएको थिएन,’ साहले भनिन्, ‘तर, जन्मेपछि यस्तो बच्चा आएपछि मैले अस्पतालको जिम्मामा छोडेकी हुँ।’ गर्भवतीलगत्तै उनले मेडिसिटी अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गरेकी थिइन्।

लामो समय एनआइसियुमा राखी बच्चाको रगत परीक्षण गर्न भारत पठाइएको थियो। भारतबाट आएको रिपोर्टमा ‘डाउन सिन्ड्रोम’ देखिएपछि साहले अस्पतालमै बच्चा छोडेकी हुन्।

‘यस्तो बच्चा जन्माउन हुँदैन भन्ने राष्ट्रिय/अन्तर्राष्ट्रिय कानुन छ, तर उहाँहरूले लापरबाही गरेकाले यस्तो बच्चा जन्मिन पुग्यो,’ उनले भनिन्, ‘त्यो भन्दा आठ महिनाअघि पनि त्यस्तै बच्चा रहेको थाहा पाएपछि मैले गर्भपतन गराएकी थिएँ।’

आफूले सो घटना पनि डाक्टरलाई बताएको तर डाक्टरले लापरबाहीपूर्वक बच्चाको शारीरिक जाँचमा त्रुटि गरेको आरोप उनले लगाइन्।बच्चा अहिले अस्पतालमै उपचारमा छन्। अस्पतालले भने लापरबाही नगरेको भन्दै सो बच्चा साहले नै जिम्मा लिनुपर्ने बताएको छ।

‘उहाँले केही असहमति राखेर बच्चा नलिने अडान राख्नुभएको छ, तर यस विषयमा कुराकानी भइरहेकै छ, उहाँले छोडिसक्नुभएको चाहिँ हैन,’ अस्पतालकी सूचना अधिकृत मनिता पोखरेलले भनिन्, ‘उहाँहरूसँग कुराकानी भइरहेको छ।’

प्रकाशित मिति: Apr 8, 2019

प्रतिक्रिया दिनुहोस्