Logo
७ बैशाख २०८१, शुक्रबार
(April 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१२ हजार गुनासो हेर्नका लागि खटिए ४४ जना कर्मचारी

काठमाडौं : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आइतबार गोरखाकी कोपिला भट्ट कर्मचारी समायोजन प्रक्रियामा छुटेको भन्दै निवेदन लेखिरहेकी थिइन् । गोरखाको अजिकोट गाउँपालिका २ भच्चेकमा रहेको खरीबोट स्वास्थ्य चौकीमा २५ वर्षदेखि काम गर्दै आएकी उनलाई साथीभाइले समायोजनको फारम नभरे पनि हुने सल्लाह दिए ।

म्याद सकिएपछि समायोजनका लागि फारम भर्नुपर्ने थाहा पाएपछि उनी हतार हतार गोरखाबाट मन्त्रालयमा निवदेन दिन आइपुगकी हुन् । उनले भनिन्, ‘अब रिटायर हुने बेला अन्तै सरुवा पो हुने हो कि भन्ने डरले निवेदन दिन अझै म्याद छ भन्ने थाहा पाएपछि हतार हतार आएँ ।’ गोरखाकी स्वास्थ्य सेवामा काम गर्ने भट्ट जस्तै अहिले समायोजनमा परेका तर विभिन्न कारणले समायोजनमा चित्त नबुझाएकाहरुले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा गुनासो दर्ता गरिरहेका छन् ।

यसरी गुनासो दर्ता गर्नेको सङ्ख्या १२ हजार पुगेको मन्त्रायका सहसचिव रूपनारायण भट्टराईले जानकारी दिए । मन्त्रालयले १ लाख १ हजार कर्मचारीको समायोजन गरेको बताए पनि झन्डै १० प्रतिशतले समायोजन नमिलेको भन्दै मन्त्रालयले बनाएको गुनासो व्यवस्थापन समितिमा गुनासो दर्ता गराएका छन् । अहिले मन्त्रालयमा देशका विभिन्न सरकारी कार्यालयबाट कर्मचारीहरु समायोजन आफू अनुकूल नभएको भन्दै गुनासो बोकेर आइरहेका हुन् ।

रोजेको ठाउँमा समायोजन पाइएन, श्रीमान श्रीमती सँगै भएनौँ, रोगी भएकाले राम्रो उपचार हुने अस्पताल नजिक भएन । स्थायी ठेगाना भएअनुसार समायोजन भएन भन्ने अर्को गुनासो आएको मन्त्रालयका सहसचिव रूपनारायण भट्टराईले जानकारी दिए । उनले भने, ‘कर्मचारीले बुझाएका गुनासो ठीक छ कि छैन भन्ने बारेमा उनीहरुले यसअघि भरेको अनलाइन विवरणसँग दाँज्ने काम भइरहेको छ । स्वास्थ्य सेवा, प्रशासन, लेखा र विविध सेवाको बारेमा गुनासो धेरै आएको छ ।’

मन्त्रालयले कर्मचारीको गुनासोलाई ११ समूहमा बाँढेर १ जना उपसचिवको नेतृत्वमा तीन तीन जना शाखा अधिकृत राखेर समाधानका लागि काम भइरहेको छ । रिक्त दरबन्दी हेर्ने र उनीहरुलाई सजिलो हुने गरी सिफारिस गर्ने काम भइरहेको छ । स्वास्थ्य सेवाको चौथो, देखि दशौं तहका १० हजार कर्मचारीको समायोजन बाँकी छ ।

सङ्घमा परेका कर्मचारी स्थानीय निकायमा जानका लागि र स्थानीय तहमा परेका कर्मचारीले सङ्घमा जान पाउँ भनेर पनि गुनासो दर्ता गराएका छन् । सो गुनासोलाई कसरी सम्बोधन गर्ने भन्ने बारेमा पनि छलफल भइरहेको सहसचिव भट्टराईले जानकारी दिए ।

स्वास्थ्य सेवाबाहेक अन्य सेवा समूहका कर्मचारीको गुनासो २० गतेसम्म लिएकाले अब नलिने र स्वास्थ्य सेवाको समायोजनको लिस्ट निस्केको ५ दिनसम्म गुनासो सुनुवाइ गर्ने उनले बताए ।

कर्मचारीको आफ्नै समस्या मुख्य कारक :

कर्मचारी समायोजनका क्रममा १ लाख १ हजार कर्मचारी समायोजन भएका थिए । ९० प्रतिशतको गुनासो नआएकाले समायोजन ठीकै भएको भट्टराईले बताए ।
समायोजन फारम भर्दा एउटा तहमा जाने भनेर भरेका र पछि विचार परिवर्तन भयो भनेर आउने कर्मचारीको सङ्ख्या पनि धेरै छ । कतिपयले समायोजन फारम नभरेका कारण पनि समस्या आएको छ ।

धेरैजसो कर्मचारीका कारणले समस्या आए पनि केही समस्या भने सफ्टवेरका कारण पनि समस्या आएको उनले बताए । केही समस्या दरबन्दी संरचना नमिलेका कारण पनि भएको हो । धेरैजसो समस्या कर्मचारीको आफ्नै कारणले भएको मन्त्रालयको ठम्याइ छ । मन्त्रालयले चैत मसान्तभित्र उजुरीको प्रमाणीकरण गर्ने र समायोजन कमिटीमा सिफारिस गर्ने बताए । सहसचिव रूपनारायण भट्टराईले भने, ‘उजुरी प्रमाणीकरण गरेपछि समायोजन ऐनको दफा १७ बमोजिमको कमिटीमा हामीले सिफारिस गर्नुपर्छ । त्यो कमिटीको बैठक बसेर निर्णय नगरेसम्म गुनासो सम्बोधन हुँदैन । सिफारिसअनुसार कमिटीको बैठकले निर्णय गरे सोही दिन नै गुनासो सम्बोधन हुन्छ ।’

यो महिनाको अन्त्यसम्म गुनासो सम्बोधनका लागि सिफारिसको काम गर्ने उनले बताए ।  कर्मचारीको १२ हजार गुनासो हेर्नका लागि ४४ जना कर्मचारी खटिएका छन् । कर्मचारीको निजामती किताब खानाको विवरण भिडाउँदा केही समय लाग्न सक्ने उनले बताए ।

प्रकाशित मिति: Apr 8, 2019

प्रतिक्रिया दिनुहोस्