Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शेयर बजार : दोहोरो अङ्कले बढ्यो

काठमाडौँ  : धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १७ दशमलव १६ विन्दुले बढेर एक हजार १८२ दशमलव ३६ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ४१ विन्दुले बढेर २५२ दशमलव ९८ विन्दुमा पुगेको छ ।

कूल १६८ कम्पनीको १८ लाख ८७ हजार ३७३ कित्ता शेयर रु ५४ करोड ३९ लाख ५५ हजार ६४२ मूल्यमा खरीद भएका छन् । कारोवार भएका दश उपसमूहमध्ये आज चार उपसमूहको शेयर घटेको छ भने पाँच उपसमूहको शेयर बढेको छ । यस्तै उत्पादन उपसमूहको शेयर भने कुनै कारोबार भएन । जलविद्युत् २ दशमलव ७५, निर्जीवन बीमा १९ दशमलव २१, उत्पादन ५ दशमलव ८२ र लघुवित्त शुन्य दशमलव ९५ विन्दुले घटेको छ । यस्तै बैंकिङ २८ दशमलव १९, होटल १३, विकास बैंक १४ दशमलव ९९, वित्त एक दशमलव ७८ र जीवन बीमा शुन्य दशमलव १२ विन्दुले बढेको छ ।

स्टकका अनुसार कारोवार रकमका आधारमा आज एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु छ करोड ७१ लाख ८४ हजार २५८, एनएमबी बैंकको रु तीन करोड ३१ लाख ७४ हजार ९३०, सानिमा माइ हाइड्रोपावरको रु दुई करोड ५५ लाख ८९३, प्रभु बैंकको रु दुई करोड २२ लाख सात हजार ९७३, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकको रु दुई करोड २० लाख ६४ हजार ५७५, प्राइम बैंकको रु दुई करोड तीन लाख १० हजार ८१०, नेपाल बैंकको रु एक करोड ८७ लाख ३५ हजार ६२७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार एनआइसी एशिया बैंकका शेयरधनीले ६ दशमलव ३६, किसान माइक्रोफाइनान्स वित्तीय संस्था ५ दशमलव ६, कुमारी बंैंक ४ दशमलव ९८, कन्काइ विकास बैंक ४ दशमलव ९२ र भागर्व विकास बैंक ४ दशमलव ८५ प्रतिशतले कमाएका छन् । यस्तै, युनिभर्सल पावर कम्पनीका शेयरधनीले ९ दशमलव २५, सिन्धु विकास बैंक सात दशमलव शुन्य चार, सामुदायिक लघुवित्त वित्तीय संस्था पाँच दशमलव शुन्य सात, चौतारी लघुवित्त वित्तीय संस्था चार दशमलव ९५, नेपाल सेवा लघुवित्त वित्तीय संस्था तीन दशमलव ५५ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति: Apr 7, 2019

प्रतिक्रिया दिनुहोस्