Logo
१३ बैशाख २०८१, बिहीबार
(April 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि चैत्र नवरात्र सुरु, घरघरमा घटस्थापना, शक्तिपीठमा भीड

काठमाडौं : आजदेखि चैत्र नवरात्र सुरु भएको छ । हिन्दु धर्मालम्बीहरुको घरघरमा घटस्थापना कार्यक्रम भइरहेको छ । चैतेदशैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ।

आश्विन शुक्ल पक्षमा पर्ने दशैँ अर्थात् बडादशैँ जति भव्यरुपमा नमनाइए पनि चैतेदशैँमा देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्छ । वैदिक सनातन धर्मावलम्बीले घरघरमा शक्तिको उपासना स्वरुप देवीको पूजाआजा गर्नुका साथै देवीभागवत, दुर्गा सप्तशती चण्डी, देवी स्तोत्रलगायत देवीको महिमा गाइएको ग्रन्थ पाठ गरिन्छ।

अष्टमीलाई चैतेदशैँ र नवमीलाई रामनवमी पर्वका रुपमा मनाउने गरिएको हो। यस वर्ष चैत ३० गते अष्टमी र वैशाख १ गते नव वर्षका दिन रामनवमी पर्व परेको छ। वर्षमा चार नवरात्र पर्छन्। चैत, असार, आश्विन र पुस महीनाको शुक्ल पक्षमा नवरात्र पर्दछ ।

आषाढ र पौषका दुई नवरात्रमा भने साधना मात्र गरिन्छ । यी दुई नवरात्रलाई सुषुप्त दशैँ भन्ने गरिएको उहाँले बताउनुभयो । चैत्र नवरात्र शुरु भएको अवसरमा आज बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको छ ।

उपत्यकाका गुह्येश्वरी, जयबागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, सुन्दरीमाईलगायत पीठमा भक्तजनको भीड लागेको छ ।

यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, बागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

नवरात्रका अवसरमा शक्तिपीठमा गई पूजाआजा एवं दर्शन गरेमा शक्ति प्राप्त हुने विश्वास छ ।

प्रकाशित मिति: Apr 6, 2019

प्रतिक्रिया दिनुहोस्