Logo
६ बैशाख २०८१, बिहीबार
(April 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२३ वर्षपछि सञ्चालनमा आएको राजविराज विमानस्थल फेरि अवरुद्ध

प्रदेश २ स्थित राजविराज विमानस्थलको सेवा पुनः प्रभावित भएको छ । २३ वर्षपछि गत १० असारदेखि सेवा दिँदै आएको श्री एयरलायन्सले प्राविधिक कारण देखाउँदै सेवा रोकेको राजविराज नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

साताको तिन दिन काठमाडौं–राजविराज र राजविराज–काठमाडौं उडान गर्दै आएको विमान कम्पनीले जानकारी नै नदिई सोमबारदेखि सेवा बन्द गरेको कार्यालय प्रमुख भीमदत्त पन्तले बताए ।

सोमबार उडानको तालिका रहे पनि विमान नआएपछि सोधखोज गर्दा मात्रै सेवा रोकिएको जानकारी पाएको उनले बताए । ‘निर्धारित समय बितिसक्दा पनि विमानको अत्तोपत्तो भएन,’ उनले भने, ‘यात्रुहरू छटपटाउन थालेपछि सोधखोज गर्दा प्राविधिक कारणले विमान नआउने जानकारी पाइयो ।’

विमान कम्पनीले इन्जिन मर्मत गर्नुपर्ने भने पनि कहिलेदेखि सेवा सुचारु गर्ने भन्ने विषय अनिश्चित नै रहेको कार्यालय प्रमुख पन्तको भनाइ छ । कच्ची धावनमार्गका कारण ०५२ वैशाखयता विमानस्थल सञ्चालनमा थिएन । तर, स्तरोन्नतिपछि तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पहलमा १० असारदेखि सञ्चालनमा आएको थियो ।

इँटाभट्टाले उडान जोखिममा
प्राविधिक कारण भनिए पनि विमानस्थलमा देखिएको जोखिमका कारण सेवा रोकिएको अनुमान गरिएको छ । विमानस्थलको पूर्वतर्फ रहेका अग्ला-अग्ला इँटाभट्टाका कारण विमानको उडान र अवतरण जोखिमपूर्ण बनेको छ ।

राजविराज नागरिक उड्डयन कार्यालयका प्रमुख भीमदत्त पन्तले पनि इँटाभट्टाको चिम्नीका कारण विमान उडान र अवतरणमा जोखिम रहेको स्वीकार गरे । ‘७ सय मिटर दूरीमा रहेका हिमाल, किसान, माँ दुर्गा र माँ काली इँटाभट्टाको चिम्नी ९० फिटसम्म अग्ला रहेकाले उडान र अवतरणमा प्रत्यक्ष प्रभाव पर्दै आएको छ,’ उनले भने, ‘यस विषयमा सरोकारवाला सबै निकायलाई अवगत गराए पनि समाधान खोजिएको छैन ।’

विमान सेवा अवरुद्ध भएपछि स्थानीयवासी निराश छन् । वर्षौंको प्रयासपछि सुरु भएको सेवा अचानक बन्द भएपछि विराटनगर र जनकपुर धाउनुपर्ने नियति दोहोरिएको उनीहरूको गुनासो छ । सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधानले विमान सेवा पुनः सञ्चालन गर्न प्रयास गरिने बताए ।

‘सेवा रोकिएको जानकारीपछि हामीले श्री एयरलाइन्सको व्यवस्थापन पक्षसँग कुरा गरेका छौँ । १० दिनभित्र सेवा सुचारु गर्ने कुरा भएको छ,’ उनले भने, ‘श्रीले सेवा दिन नसके नागरिक उड्डयन मन्त्रालयसँग समन्वय गरी अन्य विमान चलाउने विषयमा कुरा अघि बढाउँछौँ ।’

प्रकाशित मिति: Apr 4, 2019

प्रतिक्रिया दिनुहोस्