Logo
१२ बैशाख २०८१, बुधबार
(March 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

परराष्ट्र सचिव बैरागीको पाकिस्तान जाने कार्यक्रम स्थगित, पुलुवा घटनालाई लिएर नेपालदेखि भारत असन्तुष्ट

काठमाडौं : परराष्ट्र सचिव शंकरदास बैरागीको सचिवस्तरीय छलफलका लागि पाकिस्तानमा तय भएको कार्यक्रम स्थगित गरिएको छ ।परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सचिव वैरागीले चैत ११ पाकिस्तान जाने सम्पूर्ण तयारी गरिसकेका थिए । तर त्यही बीचमा भारतीय विदेश सचिव विजय गोख्ले आउने भएपछि पाकिस्तान कार्यक्रम स्थगित भएको हो ।

भारत र पाकिस्तानबीच पुलुवा घटनालाई लिएर नेपालले आफ्नो धारणा स्पष्ट नगरेको कारण भारत सन्तुष्ट छैन । सचिव वैगरागी पाकिस्तान जान लागेको थाहा पाएर नै भारतीय विदेश सचिव गोख्ले नेपाल आएको भारतीय दूतावासका एक अधिकारीको दावी छ ।

पुलुवा घटनालाई भारतले आतंककारी हमला भन्दै आएको छ । त्यो घटना पाकिस्तानले गराएको भारतले निष्कर्ष निकालेको छ । तर नेपालले त्यसमा आफ्नो धारणा स्पष्ट नपारेको भारतको बुझाई रहेको छ । गोख्लेले नेपाल आएका बेला प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र परराष्ट्र सचिव वैरागीसँग भारत–पाकिस्तानको विषयमा कुरा राखेका थिए ।

जवाफमा उनीहरुले नेपाल कुनै पनि आतकंवादको पक्षमा नरहेको प्रतिकृया दिएको दूतावास स्रोतले जनाएको छ । परराष्ट्र सचिव बैरागी पाकिस्तान किन नगएको भनि राखिएको जिज्ञासामा परराष्ट्र मन्त्रालयका सहप्रवक्ता सुरेश अधिकारीले आफूलाई यसको बारेमा कुनै जानकारी नरहेको प्रतिकृया दिए ।

प्रकाशित मिति: Mar 30, 2019

प्रतिक्रिया दिनुहोस्