Logo
१३ बैशाख २०८१, बिहीबार
(March 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मौसममा खराबी, विमानको चाप झन् बढ्दै

सोलुखुम्बु : करीब चार दिनदेखि खुम्बुको मौसममा खराबी आउँदा लुक्ला जाने विमान पनि फाप्लुमा अवतरण हुने गर्दा जिल्लाको फाप्लु विमानस्थलमा विमानको चाप बढेको छ । मौसम प्रतिकूलताका कारण तेञ्जिङ हिल्लारी विमानस्थल लुक्लाका लागि आएका विमानसमेत ‘डाइभर्ट’ भई फाप्लु आउने गरेको नागरिक उड्डयन कार्यालय फाप्लुले जनाएको छ ।

नियमितरूपमा तीनदेखि चारवटा मात्र विमान आवतजावत हुने फाप्लु विमानस्थलमा हाल १२ देखि १५ विमान अवतरण हुने गरेको छ । बुधबार मात्रै १२ विमानले उडान गरेका छन् । मौसममा आएको परिवर्तनले लुक्लाका लागि उडेका विमान फाप्लुमा अवतरण गर्नुपरेको फाप्लु विमानस्थलका प्रमुख प्रकाश शर्माले जानकारी दिए । फाप्लु ओर्लेका यात्रुलाई हावाको गति कम भएको समयमा लुक्ला पुर्याउने कार्य भएकोसमेत उनको भनाइ छ ।

बिहान लुक्ला विमानस्थलमा हिउँको थुप्रो लाग्ने र दिउँसो हावाको तीव्रता बढेकाले फाप्लुमा अवतरण गर्नुपरेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमानाथ अधिकारीले बताए । मौसम प्रतिकूलता भएपनि बुधबार लुक्ला विमानस्थलमा ४० वटा उडान भएको उनको भनाइ छ । अहिले हिमाल आरोहणको ‘सिजन’ शुरु भएकाले अधिकांश उडानबाट पर्यटक तथा हिमाल आरोही एवं सामग्री आउने गरेका छन् । खुम्बु क्षेत्रमा आरोहणको समय भएकाले लुक्लामा हवाई उडानको चाप बढेको बताइएको छ ।

लुक्लाको विकल्पमा सदरमुकाम नजिक रहेको फाप्लु विमानस्थल प्रयोग गर्ने गरिएको छ । फाप्लु विमानस्थलमा अवतरण गराइएका केही पर्यटक गाडीमार्फत खुम्बुपासाङल्हामु गाउँपालिका–१ खरिखोलासम्म जीपमार्फत जाने गरेका छन् ।

प्रकाशित मिति: Mar 28, 2019

प्रतिक्रिया दिनुहोस्