Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्व क्षयरोग दिवसको अवसरमा कारागारका कैदीबन्दीको स्वास्थ्य परीक्षण

पर्वत : जिल्ला कारागार पर्वतमा रहेका कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको छ । विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको हो ।

पर्वत जिल्ला कारागारमा रहेका ९७ कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य कार्यालय पर्वतका प्रमुख सजिला महर्जनले जानकारी दिनुभयो । कारागारमा बन्दी जीवन बिताइरहेका कैदीबन्दीको एचआइभी परीक्षण गर्नुका साथै सबैको क्षयरोग र पूर्णरूपमा स्वास्थ्य परीक्षण गरिएको महर्जनले जानकारी दिनुभयो ।

परीक्षण गरिएका सबै कैदीबन्दीमा एचआइभी नभेटिएको र जटिल खालका बिरामी पनि नभेटिएको महर्जनले बताउनुभयो । उहाँका अनुसार केही बिरामीमा मधुमेहको समस्या देखिएकोले थप परीक्षणका लागि जिल्ला स्वास्थ्य कार्यालयमा बोलाइएको छ । कारागारका कैदीबन्दीको जिल्ला अस्पताल पर्वतका चिकित्सकले परीक्षण गरेका थिए ।

परीक्षणका क्रममा सामान्य रुघाखोकी र नियमित औषधि सेवन गर्नुपर्नेलाई औषधिसमेत वितरण गरिएको थियो । विभिन्न कसुरमा बन्दी जीवन बिताइरहेकालाई कारागारभित्र रहुञ्जेलसम्म स्वस्थ राख्ने उद्देश्यले पहिलोपटक स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।

पच्चीस कैदीबन्दी क्षमताको जिल्ला कारागारमा अहिले झण्डै चारगुणा बढी रहेका छन् । सङ्ख्या अत्यधिक हुँदा बसोबासमा समस्या भएको उनीहरुको गुनासो छ ।

प्रकाशित मिति: Mar 24, 2019

प्रतिक्रिया दिनुहोस्