Logo
१३ बैशाख २०८१, बिहीबार
(March 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ मा मुख्यमन्त्री राउतको सन्देश : छोरी अभिशाप होइन बरदान

सप्तरी : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले छोरी प्रति अत्यन्तै सकारात्मक सन्देश दिएका छन् । सप्तरीको कंचनरुप नगरपालिका १२ रुपनगर श्रावणपुरमा आयोजित पंचकन्या धार्मिक तथा साँस्कृतिक महोत्सवको शनिबार समापन गर्दै मुख्यमन्त्री राउतले अब छोरी भनेर हेला गर्ने समय समाप्त भइसकेको र छोरी अभिशाप नभई वरदान भएको बताएका छन् ।

‘छोरी भयो भनेर मन छोटो नगरौं, छोरी अभिशाप होइन’ उनले भने, ‘छोरीलाई राम्रो शिक्षा दिएमा छोराजस्तै छोरी पनि अगाडि बढेर घर, परिवार र देशलाई सघाउँछन् ।’ प्रदेश सरकारले बेटी पढाऔं, बेटी बचाऔं’ अभियान शुरु गरेको स्मरण गर्दै उनले प्रदेशमा महिलालाई ५० प्रतिशत आरक्षण दिन सरकारले काम गरिरहेको जानकारी दिए ।

उद्योग स्थापना गर्नेलाई २० बर्षसम्म प्रदेशमा कुनै पनि कर तिर्न नपर्ने बताउँदै उनले औद्योगिक क्षेत्रमा बन्द हड्ताल गर्न नपाइने कानुन बनाइने बताए । कार्यक्रममा प्रतिनिधिसभा सांसद सरिता यादवले भ्रष्टाचार विकासको घातक भएको भन्दै विकास गर्ने हो भने भ्रष्टाचारलाई रोक्नुपर्ने बताइन् । उनले पञ्चकन्या धामलाई विश्वकै सम्पदा सूचीमा राख्न पहल गर्ने प्रतिबद्वता समेत व्यक्त गरिन् ।

महायज्ञको समापन

यसैबीच सप्तरीको कञ्चनरूपमा विराट नवाह ज्ञान महायज्ञ आज समापन भएको छ । कञ्चनरुप १२ श्रावणपुरमा गत चैत १ देखि शुरु भएको श्री पञ्चकन्या धार्मिक तथा सांस्कृतिक महामहोत्सव श्रीमद्भागवत धनधान्याचल विराट नवाह ज्ञान महायज्ञको आज मुख्यमन्त्री राउतले समापन गरेका हुन् ।

सरकारले ल्याउने प्रहरी र निजामती ऐनका साथै लोकसेवा गठनपछि प्रहरीमा ५० प्रतिशत महिलाको सिट आरक्षित हुने बताए । उनले प्रत्येक स्थानीय तहमा एउटा प्राविधिक शिक्षालय खोलिने प्रतिबद्धता व्यक्त गरे ।

महायज्ञबाट सुनचाँदीबाहेक करीब ४५ लाख रकम सङ्कलन भएको महायज्ञ मूल आयोजक समिति सचिवालयका सदस्य इन्द्रनारायण श्रेष्ठले जानकारी दिए । यसबाहेक विभिन्न व्यक्तिबाट १२ कठ्ठा जमीन, प्रतिनिधिसभा सदस्य डा सूर्यनारायण यादवबाट २५ लाख ५५ हजार मूल्य पर्ने धातुको विशाल शिवजीको मूर्ति स्थापना गर्ने र राष्ट्रियसभा सदस्य गणेश तिमिल्सिनाबाट एम्बुलेन्स प्रदान गर्ने प्रतिबद्धतासमेत भएको छ ।

चैत १ गते राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले महायज्ञको उद्घाटन गरेका थिए । सङ्कलित रकम सो क्षेत्रको धार्मिक पर्यटकीय क्षेत्रको विकास गर्न, सामुदायिक भवन निर्माण गर्न र एम्बुलेन्स खरीद गर्न सदुपयोग गरिने जनाइएको छ ।

प्रकाशित मिति: Mar 23, 2019

प्रतिक्रिया दिनुहोस्