Logo
१३ बैशाख २०८१, बिहीबार
(March 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

७ करोड रुपैयाँको लागतमा डिजिटल बस बिसौनी, बढायो नगरको सौन्दर्यता

बाँके : नेपालगञ्ज उपमहानगरपालिकाभित्र निर्माण गरिएका अत्याधुनिक (डिजिटल) बस बिसौनीले यहाँको सौन्दर्य बढाएको छ । सात करोड रुपैयाँको लागतमा नेपालगञ्जको राँझा चोकदेखि ट्राफिक चोकसम्म सुर्खेत रोडका २१ स्थानमा अत्याधुनिक बस बिसौनी निर्माण भएका हो ।

नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले डिजिटल बस बिसौनीले नगरको सौन्दर्यतासँगै यातायात व्यवस्थापन र यात्रुलाई समेत सहजता भएको बताए । नगर बसले जहाँ मन लाग्यो त्यही रोकेर यात्रु झार्ने र चढाउने काम गर्दै आएका थिए, अब त्यसो हुँदैनु, श्रेष्ठले भने, अब यात्रु बिसौनीमा बस पर्खिनेछन् र त्यहीबाट चढ्ने र झर्ने गर्दछन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले बिपी चोक, धम्बोझी चोक, गणेशमानचोक लगायतका मुख्यमुख्य स्थानमा अत्याधुनिक बस बिसौनी निर्माण भइसकेको र अन्य बाँकी स्थानमा समेत निर्माण कार्य भइरहेको जानकारी दिए । उनका अनुसार, निजी क्षेत्रको एपेक्स नेपाल प्रालिले निर्माण शुरु गरेको बस बिसौनी तथा ट्राफिक बुथको काम दुई हप्ताभित्रै सकिने योजना रहेको छ । यसका लागि नेपालगञ्ज उपमहानगरपालिकाले एपेक्स नेपाल प्रालिसँग १० वर्षका लागि वार्षिक १५ लाख २६ हजार ३०० मा सम्झौता गरेको छ। निर्माण कार्यको सम्पूर्ण खर्च एपेक्सकै रहने र त्योवापत एपेक्सले बस बिसौनीमा विज्ञापन गर्न पाउनेछ ।

एपेक्स नेपाल प्रालिका निर्देशक कृष्णप्रसाद आचार्यले अत्याधुनिक बस बिसौनीमा विभिन्न प्रचार सामग्री सुन्दर किसिमले राखिने र यात्रुका लागि घामपानीमा ओत लाग्ने स्थानकोसमेत व्यवस्था गरिएको छ । उनका अनुसार, नगरलाई सुन्दर बनाउन र ऊर्जा बचतका लागि सोलारको व्यवस्था गरेर रातिमा बत्ती बल्ने अत्याधुनिक बस बिसौनी बन्दैछन्, यसले शहरलाई सुन्दर बनाउँछ । नेपालगञ्जको सौन्दर्यमा यसले शोभा बढाउनेछ ।

डिजिटल बस बिसौनी निर्माण कार्य हेर्दै गरेका स्थानीय तथा बटुवासमेत निकै खुशी छन् । रातिमा समेत सोलारमार्फत बत्ती बल्ने डिजिटल बस बिसौनी नेपालगञ्जमा पनि देख्दा वातावरण अधिकारकर्मी तेजविक्रम शाह दंग छन् ।

प्रकाशित मिति: Mar 23, 2019

प्रतिक्रिया दिनुहोस्