Logo
१३ बैशाख २०८१, बिहीबार
(March 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दलमाथिको प्रतिबन्धले मुलुकको शान्ति र लोकतन्त्र खतरामा : नेता पौडेल

सिन्धुली : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दलमाथिको प्रतिबन्धले मुलुकको शान्ति र लोकतन्त्र खतरामा पर्ने बताएका छन् । नेता पौडेलले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्धले मुलुकको शान्ति र लोकतन्त्र खतरा हुनसक्ने भन्दै पुनर्विचार गर्न सरकारसँग माग गरेका छन् ।

‘कुनै पनि समूहलाई दबावमा राख्न खोजे मुलुकमा शान्ति र लोकतन्त्र खतरामा पर्ने भएकाले सरकारले यस कदममा पुनःविचार गर्नुपर्छ’, उनले भने । केपी ओली नेतृत्वको सरकार शक्ति केन्द्रीकरणतर्फ लागेकाले लोकतन्त्र खतरामा परेको दाबी उनको छ । बहुमतको आडमा यस्ता गतिविधिलाई निरन्तरता दिइरहे कांग्रेसले त्यसको प्रतिवाद गर्ने चेतावनी उनले दिए ।

ठूला आयोजना, सेनाको अधिकार र न्यायिक निकायको अधिकार सरकारले लिँदा लोकतन्त्र खतरामा परेको दाबी नेता पौडेलको छ । नेपाल प्रेस युनियन सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले सरकारको एक वर्ष खेर गएको टिप्पणीसमेत गरे ।

शान्ति, सुरक्षा, सुशासन, विकास र समृद्धिका आधारमा सरकार असफल भएको उनको आरोप छ । काङ्ग्रेस प्रमुख प्रतिपक्षी दल भए पनि संस्थागत रुपमा प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको आरोप उनले लगाए । आफूले अहिले पार्टी नेतृत्वभन्दा पनि पार्टीमा देखिएको गुटको अन्त्य र पार्टीलाई बलियो बनाउने विषयलाई प्राथमिकतामा राखेको उनको भनाइ थियो ।

‘समय आए नेतृत्व लिन तयार छु’, नेता पौडेलले भने । कांग्रेस नेताले धर्मनिरपेक्षता र गणतन्त्रमाथि जनमतसंग्रह गर्नुपर्ने विचार व्यक्त गरिरहेका बेला उनले राष्ट्रियता र लोकतन्त्र कमजोर हुने विषयमा जनमत सङ्ग्रह गर्न नसकिने प्रष्ट पारे ।

प्रकाशित मिति: Mar 23, 2019

प्रतिक्रिया दिनुहोस्