Logo
७ बैशाख २०८१, शुक्रबार
(March 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सगरमाथाको हिउँ र हिमनदी पग्लिने क्रम तीव्र : जताततै मृत्यु भएका आरोहीको शव देखिने क्रम बढ्यो

विश्वव्यापी तापक्रम वृद्धिले सगरमाथाको हिउँ र हिमनदी पग्लिने क्रम तीव्र भएको छ । यसले गर्दा विभिन्न समयमा विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्दा ज्यान गुमाएका आरोहीहरुको मृत शरीर देखिने क्रम बढ्न थालेको छ । पछिल्लो समय सगरमाथा आरोहण गर्नेहरुले विभिन्न उचाईमा शव भेट्ने क्रम बढेको छ ।

सन् १९२२ मा आरोहणको प्रयास गर्दा पहिलो आरोहीको पटक मृत्यु भएको इतिहास छ । त्यसयता आरोहणको क्रममा २०० को हाराहारी पर्वतारोही मृत्यु भइसकेको छ । सगरमाथाको आरोहण गर्दा ज्यान गुमाएका अधिकांश हिमनदी वा हिउँमा पुरिएको विश्वास गरिन्छ ।

‘जलवायु परिवर्तन र विश्वव्यापी उष्णताको प्रभावको कारणले हिँउ र हिमनदीहरु छिटो छिटो गतिमा पग्लिरहेका छन् । यो सँगै मृत शरीर देखिने क्रम बढेको छ’, नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङ छिरिङ शेर्पाले भने ।

‘सन् २००८ यता मेरो आफ्नै कम्पनीले ७ वटा मृत शरीर तल ल्याइसक्यो । केही त सन् १९७० को ब्रिटिस अभियानका सदस्य पाइएका छन्’, उनले भने । अध्ययनले सगरमाथा क्षेत्रको हिमनदीहरु पहिले सोचिएभन्दा छिटो गतिमा पग्लिँदै गएको देखाएको छ ।

नेपाल पर्वतारोहण संघका एक अधिकारी सुवित कुँवरले यसबारे बताउँदै भने, ‘यो निकै गम्भिर विषय हो । यो बढ्दो क्रममा रहेकाले हाम्रो अभियानलाई असर गर्छ । असर घट्नुको साटो झन् खराब हुँदै गएकाले हामीहरु साँच्चै चिन्तित छौं ।’

‘हामी यसको सामना गर्नको लागि कुनै समन्वयात्मक तरिका छ कि भनेर जानकारीहरु फैलाउने प्रयास गरिरहेका छौं’ कुँवरले थपे । संघका कोषाध्याक्ष छिरिङ शेर्पाले जलवायु परिवर्तनले नेपाललाई तीव्र रुपमा असर गरिरहेको बताए । यसको कारणले हिमनदी हरेक वर्ष एक मिटर पग्लिरहेको उनको ठम्याई छ ।

‘तल ल्याउन सकिने शव हामीले ल्याइरहेका छौं र ल्याउन नसकेको अवस्थामा प्रार्थना गरेर ढुंगा वा हिँउले छोपिदिने गरेका छौं’, छिरिङले भने । उनले हिमालमा भेटिएका शव तल ल्याउनको लागि सरकारतर्फबाट प्रयास नभएको भन्दै दुःख व्यक्त गरे । ‘यस सम्बन्धमा हामीले सरकारले कुनै पनि जिम्मेवारी लिएको देखेका छैनौं’ उनले भने ।

शव तल ल्याउनु कठिन कार्य
माथिका आधार शिविरहरुबाट शव तल ल्याउनु खतरनाक र खर्चिलो कार्य हो । आङ छिरिङ शेर्पा पहिलो सगरमाथा आरोही एडमड हिलारीले खोलेको पर्वतारोहण विद्यालयका सुरुवाती विद्यार्थीहरुमध्ये एक हुन् । न्यूजील्याण्डका नागरिक एडमण्ड हिलारीले पछि सगरमाथा पर्यटनलाई विस्तार गर्न सहयोग गरेका थिए ।

शेर्पाले शिखरबाट फिर्ता गरिएको सबैभन्दा खतरनाक प्रयासमा ८,७०० मिटरबाट फिर्ता गर्दाको एक घटना भएको स्मरण गरे । “शवको तौल नै १५० केजी जति थियो । त्यस्तै त्यो हिमालको कठीन खण्डमा थियो । त्यसलाई तल ल्याउँदा निकै गाह्रो भएको थियो’ उनले भने ।

उनले शवलाई तल ल्याउने कुराको लागि सरकारबाट रकम निकासा हुन लामो समय लाग्ने बताए । ‘तर हामी संचालकहरुले यसलाई आफ्नो कर्तव्य ठानेका छौं र यही कर्तव्यबोधले गर्दा भेटेसम्मका शव हामीले तल ल्याउछौं’ उनले भने ।

प्रकाशित मिति: Mar 23, 2019

प्रतिक्रिया दिनुहोस्