Logo
११ बैशाख २०८१, मंगलबार
(March 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

न्यायिक समितिमा जग्गा र पारिवारिक विवादका संख्या उजुरी बढ्दो

काठमाडौं : बूढानीलकण्ठ नगरपालिकाको न्यायिक समितिमा चालू आर्थिक वर्ष २०७५–७६ मा सबैभन्दा बढी जग्गा विवादको उजुरी परेको छ । समितिमा चालू आर्थिक वर्ष २०७५-७६ मा सबैभन्दा बढी जग्गा विवादको उजुरी परे सँगै ४९ उजुरी दर्ता भएको उक्त न्यायिक समितिका संयोजक तथा उपप्रमुख रमादेवी राईले बताइन् ।

सकेसम्म उजुरी मेलमिलापबाटै टुंग्याउने गरेको र मिल्दैै नमिल्ने मुद्दालाई मात्र अदालतमा पठाउने गरिएको उपप्रमुख राईले बताइन् । उनका अनुसार तीमध्ये १५ उजुरीमा मेलमिलाप गरिएको छ । ६ वटालाई अदालतमा सिफारिस गरिएको छ भने १३ वटा फछ्र्योट भएको छ । बाँकी २२ उजुरी प्रक्रियामै रहेको राईले बताइन् ।

व्यक्तिगत तथा घरेलु हिंसाका उजुरी नगरपालिकाको न्यायिक समितिमा नपरे पनि घर-जग्गा विवाद, पारिवारिक विवाद, गालीगलौज, लेनदेन विवाद र घरबहालसम्बन्धी उजुरी न्यायिक समितिमा पर्ने गरेका छन् । चालू आवमा पारिवारिक विवादका नौ उजुरी दर्ता भएको छ । नगरपालिकाको न्यायिक समितिमा घरबहालसम्बन्धी ६ र गालीगलौजसम्बन्धी चार उजुरी दर्ता भएको छ ।

त्यस्तै सम्बन्धविच्छदेका ६ तथा बाटो विवादसम्बन्धी र लेनदेन ठगी विवादसम्बन्धी चार-चार उजुरी नगरपालिकाको न्यायिक समितिमा दर्ता भएको छ । न्यायिक समितिमा वातावरण प्रदूषणसम्बन्धी उजुरी पनि पर्ने गरेको कार्यालयले जनाएको छ । कलकारखानाको ध्वनि प्रदूषणका कारण नजिक रहेको बस्तीमा बस्न समस्या भएको छ ।

दैनिक कामकाजमा समेत बाधा पुगेकाले न्यायिक समितिमा उजुरी आउने गरेको राईले बताइन् । नगरपालिकामा सबै उजुरी लिखितरुपमै आउने गरेको छ । उपप्रमुख राईको संयोजकत्वमा रहेको समितिमा दुई कानून व्यवसायी सदस्य छन् । समितिले यहाँ दर्ता भएका उजुरीको सुनुुवाइका लागि प्रत्येक मङ्गलबार र शुक्रबार इजलास राख्दै आएको छ ।

प्रकाशित मिति: Mar 23, 2019

प्रतिक्रिया दिनुहोस्