Logo
१२ बैशाख २०८१, बुधबार
(March 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालसँग टाढिदै चीन : सी को प्राथमिकतामा परेनन् ओली, न बोआओमा नेपाललाई निम्तो, न भ्रमणमै आए

काठमाडौं : भारतसँग टाढिएर चीनसंग नजिकिएको भनिएको नेपाललाई चीनले खासै भ्याल्लु गर्न छोडेको छ । यो वर्ष पनि चीनको हैनान प्रान्तमा हुने ‘बोआओ फोरम’मा नेपालको प्रतिनिधित्व नहुने भएको छ। यसको खास कारण के? नेपाललाई निम्तो नआएर या नेपालले नै नचाहेर? परराष्ट्र मन्त्रालयका अधिकारी भने नेपाललाई निम्तो नआएको बताउँछन्।

बोआओको वार्षिक सम्मेलन आउँदो मंगलबारदेखि सुरु हुँदैछ र शुक्रबार सकिने छ। मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले फोरममा नेपालको प्रतिनिधित्व हुनेबारे अहिलेसम्म आफूलाई केही जानकारी नभएको बताउँछन्। नेपाल लाइभसँग पौडेलले भने, ‘अहिलेसम्म जाने भन्ने जानकारी छैन।’

अहिलेसम्म तयारी किन नगरिएको भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘निमन्त्रणा आएको बेलामा जाने हो। अहिलेसम्म त्यसको जानकारी छैन्।’ ३ दिनसम्म चल्ने फोरमको वार्षिक सम्मेलनका लागि तय गरिएको नारा छ, ‘साझा भविष्य, ठोस कार्य र साझा विकास।’

कतिपय कूटनीतिज्ञ प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएपछि चीनले निमन्त्रणा नगरेको अुनमान गरेका छन्। वास्तविकता के हो? यो खुल्दै जाला। यसअघिका केही वर्षलाई छाडिदिने हो भने बोआओ फोरममा नेपालबाट उच्च स्तरको प्रतिनिधित्व हुने गरेको थियो। स्थापनादेखि नेपालका तर्फबाट तत्कालीन राजा फोरममा सहभागी हुँदै आएका थिए। ०६२/०६३ को परिवर्तनपछि केही समयसम्म त्यो क्रम टुटेको भने थियो।

तर, पछिल्लो समय शुशिल कोइराला सरकारको पालादेखि नेपाललाई चीनले निम्तो दिन थालेको थियो। सन् २०१५ को बोआओ फोरममा प्रथम राष्ट्रपति डा. रामवरण यादव सहभागी थिए। २०१६ मा ओली गएका थिए। र, २०१७ दोस्रो पटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएका थिए।

सन् २०१८ मा आएर भने यो क्रम टुट्यो। दोस्रो पटक प्रधानमन्त्री बनेका ओली त्यहीबेला भारतको राजकीय भ्रमणमा रहेका कारण नेपालबाट सम्मेलनमा कार्यकारी प्रमुख सहभागी भएनन्। परराष्ट्र मन्त्रालयका अधिकारीहरूको भनाइ मान्ने हो भने यसपाली पनि सम्मेलनमा नेपालको प्रतिनिधित्व हुने सम्भावना अब लगभग सकिएको छ।

‘बोआओ फोरममा नेपालको प्रतिनिधित्व कत्तिको अर्थपूर्ण छ? नेपाल त्यहाँ जाँदा के फाइदा नजाँदा के घाटा?’ यही प्रश्न कूटनीतिज्ञ जयराज आचार्यसँग राखियो। आचार्य सम्मेलनमा नेपाललाई नबोलाइनु अर्थपूर्ण रहेको बताउँछन्।

सम्मेलनबाट ठूलै उपलब्धी हात नलागे पनि त्यहाँ नेपालको प्रतिनिधित्व हुनुको प्रतिकात्मक अर्थ रहने उनको विश्लेषण छ । ‘फोरममा नबोलाइनु चाहिँ अर्थपूर्ण छ,’ उनको टिप्पणी छ, ‘त्यो बहुपक्षीय फोरम हो। भाग लिएर हुने उपलब्धि चाहिँ केही होइन् तर त्यहाँ हाम्रो प्रतिनिधित्व हुनु भनेको ‘सिम्बोलिक’ रुपमा अर्थपूर्ण हुन्छ।’

नेपाल आएनन् राष्ट्रपति सी

नेपाललाई आफूले निकै महत्व दिने दाबी गरे पनि त्यसलाई झल्काउने गरी नेपालमा चीनबाट उच्च स्तरीय भ्रमण हुन सकेका छैनन्। सन् १९९६ को डिसेम्बरमा चीनका राष्ट्रपति जियाङ जेमिनले दुईदिने नेपाल भ्रमण गरेका थिए। त्यसको २३ वर्ष पुगिसक्दा पनि अहिलेसम्म चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुन सकेको छैन।

आफ्नो दुई कार्यकालमा पनि राष्ट्रपति हु जिन्ताओ नेपाल आएनन्। उनकै कार्यकालमा प्रधानमन्त्री रहेका वेन जियावाआ २०१२ जनवरीमा नेपाल ओर्लिए तर केवल पाँच घन्टाकालागि। राष्ट्रपति सी चिनफिङले भने अहिलेसम्म नेपाल भ्रमण आवश्यक ठानेका छैनन्। दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा चुनिएका सी दक्षिण एसियाका अरु देशमा भ्रणमा गए पनि नेपालमा भने आएका छैनन्।

२०७२ सालमा पहिलो पटक प्रधानमन्त्री भएपछि चीनको भ्रमणमा गएका ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको निम्तो राष्ट्रपति सीलाई हस्तान्तरण गरेका थिए। ओलीको भ्रणम र निम्तोपछि सी नेपाल भ्रमणमा आउने ठानिएको थियो। ब्रिक्सको ८औं सम्मेलनमा भाग लिन भारतको गोवा जाने क्रममा सीले नेपाल र बंगलादेशको भ्रमण गर्नेगरी कार्यतालिका नै बनाइएको बताइएको थियो।

तर, नेपालमा सत्तागठबन्धनमा आएको परिवर्तनले ओली सरकारबाट बाहिरिएपछि सीको नेपाल भ्रमण टरेको थियो। राष्ट्रपति सी ढाका गए तर काठमाडौं आएनन्। ढाका पुगेर उनले २४ अर्ब डलर बराबरको ऋण सम्झौतामा हस्ताक्षर समेत गरे। ओलीपछि दोस्रो पटक सत्तामा आएका तत्कालीन प्रधानमन्त्री प्रचण्डले बिग्रिएको माहोल सुर्धान तत्कालीन आफ्ना अर्थमन्त्री कृष्ण बहादुर महरालाई विशेष दूतका रुपमा चीन पठाए ।

उनले गृहमन्त्री बिमलेन्द्र निधिलाई पनि विशेष दूतका रुमपा सोहि समयमा भारत पठाए। निधिको भ्रमणपछि भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आए तर सी आएनन्। प्रचण्ड आफैं सन् २०१७ को मार्चमा बोआओ सम्मेलनमा भाग चीन पुगे। राष्ट्रपति सीसँग भेटघाट गरे र नेपाल आउन उनलाई निमन्त्रणा पनि गरे। सीले प्रचण्डको आग्रहलाई पनि मानेनन्। सी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा चुनिए।

त्यसपछि सरकारमा आएका शेरबहादुर देउवाले परराष्ट्र मन्त्री प्रकाशशरण महतलाई चीन भ्रमणमा पठाए। निमन्त्रणा पनि गरे। तर, राष्ट्रपति सी आएनन्। दुई तिहाइको शक्तिसहित ओली पुनः सरकारमा आए। पाँच वर्षको स्थायी सरकारको नेतृत्व गर्नेगरी आएका ओलीले पुनः चीनको राजकीय भ्रमण गरे। राष्ट्रपति सीलाई नेपाल भ्रमणको निमन्त्रणा दिए।

ओली सरकारका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सन् २०१८ मा चीन र भारतबाट उच्च स्तरीय भ्रमण हुने सार्वजनिक घोषणा नै गरे। धेरैलाई पनि लागेको थियो– स्थायी सरकार आयो, अब भने राष्ट्रपति सी पक्का नेपाल भ्रमणमा आउँछन्। ज्ञवालीको दाबी भारतको हकमा सही सावित भयो। मोदी नेपाल भ्रमणमा आए।

तर, राष्ट्रपति सीको हकमा उनको दाबी यर्थातमा बदलिन सकेन। मन्त्री ज्ञवाली आफैं नै धेरे पटक चीन भ्रमणमा गए र राष्ट्रपति सीलाई नेपाल भ्रणको निम्तो थमाए। ओली सकारमा आएको एक वर्ष बिते पनि सीलाई नेपालमा भ्रमण गराउन उनी सफल रहेनन्। आम अपेक्षा विपरीत नेपाल र ओलीलाई खासै ‘भाउ’ दिएनन्।

अब सीको भ्रमण होला या नहोला? भए कहिले होला? यस्ता प्रश्नको जवाफ कसैसँग छैन् स्वयं सी बाहेक। तर मुख्य प्रश्न छ–अहिलेसम्म सीले नेपाल आउन किन इच्छा देखाएनन्? कुटनीतिज्ञ आचार्य बलियो सरकार आए पनि नेपालको राजनीति अझै विश्वसनीय नुहनुलाई सी नेपाल नआउनुको कारण ठान्छन्। ‘हाम्रो राजनीतिक परिस्थिति अझै विश्वसनीय भइसकेको छैन्,’ उनी भन्छन्, ‘विश्वासको संकट छ। बलियो सरकार आए पनि भरपर्दो अवस्था अझै छैन।’ @nepallive

प्रकाशित मिति: Mar 23, 2019

प्रतिक्रिया दिनुहोस्