Logo
१५ चैत्र २०८०, बिहीबार
(March 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समायोजनबारे देशभरबाट आएका प्रशनहरुको यस्तो छ महाशाखा प्रमुख पनेरुको जवाफ

कर्मचारी समायोजनबारे देशमा निकै चर्चा परिचर्चा भयो । नयाँ कानून नै आयो । अझैपनि समायोजन हुन बाँकीहरूका आफ्नै पीडा छन् त भइसकेकाहरूका पनि आ-आफ्नै गुनासा तथा जिज्ञासा छन् । ७७ हजार ४३ कर्मचारीले समायोजन फाराम भरेकोमा स्वास्थ्य सेवाबाहेकका ६२ हजारमध्ये ५९ हजार २ सय ७२ कर्मचारीको समायोजन सकिएको छ । समायोजन महाशाखाका अनुसार रेकर्डमा नभेटिएका भनिएका दुई/तीन हजार कर्मचारीमध्ये कृषिलगायत केही सेवाका पाँच/छ सय कर्मचारीको मात्रै समायोजन हुन बाँकी छ । तर, समायोजनको सकस अझै सकिएको छैन । समायोजित कर्मचारीलाई पत्र दिन भएको ढिलाइसँगै बढ्दै गएको अन्यौलता एकातिर छ भने दूर दराजका कर्मचारीहरूका गुनासाहरूको समयमै सम्बोधन नगरिँदा असन्तुष्टि चुलिँदो छ । पद, पदस्थापन तथा सिनियर /जुनियर नमिलेर गुनासा टिपाउनेहरूको चाङ दिनहुँ बढी रहेको छ । यसै सन्दर्भमा देशभरबाट समायोजनबारे पठाएका प्रश्नहरूको कर्मचारी समायोजन तथा सङ्गठन विकास महाशाखा प्रमुख केदार प्रसाद पनेरुले जवाफ दिएका छन् । उक्त प्रश्न र जवाफ प्रस्तूत छ जस्ताको त्यस्तै  : 

समायोजनको पत्र हुलाक मार्फत पठाइन्छ कि सफ्टवेयरमार्फत पठाइन्छ ?
समायोजनको प त्र बुझ्न कर्मचारी आफै आउँछन्, आफै बुझ्छन् । धेरैजसोको हामी पठाइदिन्छौँ ।

नासुको समायोजन पत्र कहिले दिइन्छ, कि टाइपिष्ट नासुको पनि सँगै मिसाएर दिइने हो ?
अधिकृतसम्मका कर्मचारीको समायोजनको पत्रमा सहसचिवलाई सही गर्ने भनेर जिम्मेवारी तोकिएको छ । त्यो भन्दा मुनिका कर्मचारीको हकमा उपसचिवले तयार गरिराख्नु भएको छ । करिब पाँच हजार भन्दा बढीको सङ्ख्यामा रहेका नासुको पत्र तयार गर्ने भनेपछि त समय लागि हाल्छ नि !

जहाँसम्म टाइपिस्ट नासुसँगै मिसाएर दिने हो भन्ने प्रश्न छ यसमा बुझ्नु पर्ने कुरा के हो भने सुब्बा र टाईपिष्ट सुब्बा फरक हो । उनीहरूको कामै फरक हो । नियुक्ति प्रक्रिया पनि फरक हो । टाइपिष्ट सुब्बा भए पनि सुब्बा त हो तर टाइपिष्ट हो नि त ! सङ्ख्याको आधारमा सबै समूहका सबै पदका पत्र क्रमशः दिँदै जान्छौँ । त्यो कामको लागि हाम्रो टिम तयार छ । टिमले काम गरिरहेको छ । रातदिन काम गरिरहनु भएको छ । छिटो होस् भन्ने अपेक्षा हुनु स्वाभाविक हो, त्यसका लागि हामी लागिरहेका छौँ ।

वन सेवाको समायोजन सकिएको हो र ? खै त अझै कतिपयको सूची नै आएको छैन त ?
वन सेवाको कर्मचारीहरूको करिब सकियो । अलिकति छुटफुट भएको होला । सबै सकिई सकेको छ ।

लेखापालहरूको पत्र आइसक्दा खरिदारको किन ढिलो नि ? फस्ट इन फस्ट पोलिसि हुनु पर्ने होइन र ?
हामीले क्रमशः बनाई राखेका छौँ । एटिएम मेसिनबाट पैसा झरे जस्तै झर्छ चिठी भन्ने ठान्नुभएको छ कतिपयले, त्यो स्वाभाविक हो । तर हाम्रो म्यानपावर त्यै हो । हाम्रो मेसिन त्यै हो । हामी निरन्तर काम त गरी राखेका छौँ । कुनै पद, सेवा, समूह, दर्जा, तहसँग हाम्रो भेदभाव छैन । हाम्रा लागि सबै समान छन् । त्यस कारण यी सबै समान पदहरूको लागि सबैसँग समान व्यवहार हुन्छ ।

शिक्षाका शाखा अधिकृतहरूको समायोजनको सूची कहिले सम्म आउला ?
काम भइरहेको छ ।

स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत समायोजन भएर आउने कर्मचारी भन्दा सिनियर भएको अवस्थामा प्रमुख प्रशासकीय अधिकृत को हुने ? सिनियरले जुनियरलाई हाकिम मानेर बस्न मिल्छ कि मिल्दैन ? यदि मिल्छ भने स्थानीय तहको उपसचिव एक तह बढुवा भएर दसौँ तहमा स्थानीय तहमा समायोजन भएर आएको हुन्छ तर सङ्घीय दरबन्दीको उप सचिव उपसचिव नै भएर स्थानीय तहमा खटिएको हुन्छ अब बताई दिनुस् । दसौँ तहको कर्मचारी सिनियर कि उप सचिव ?

हेर्नुस्, एउटा पाँच वर्ष पुगिसकेको कर्मचारीलाई हामीले इनसेन्टिभको रूपमा नौ तहलाई दश तह, आठ तहलाई नौ तह हुँदै सबैलाई एक तह दिएका छौँ । यहाँनेर के भ्रम छ भने सबै जनाले मेरो स्टाटस के भनेर भनिराखेका छन् । कार्यकारी प्रमुख भनेको सरकारले त्यहाँको नेतृत्व लिन पठाएको कर्मचारी हो । त्यो विशेष अवस्था हो । त्यसैले म भन्दा जुनियर छ, म काँ त्यसले भनेको टेर्छु भन्न पाउँदैन ।

नेपाल कृषि सेवाका समूहकृत नहुने पदहरूमा अन्तर समूह ज्येष्ठता मिलान नगरी सहसचिवहरूको समायोजन सुची प्रकाशन गरिएको थियो, जसले गर्दा ज्येष्ठ सहसचिवहरू आफूले चाएको दरबन्दीमा आफू भन्दा कनिष्ठ सहसचिव समायोजन भएका थिए । यस्तै समूहकृत नहुने पदहरूमा उपसचिवहरूको हकमा पनि सोही अवस्था आउँछ । अतः समूहकृत नहुने पदहरूमा अन्तर समूह ज्येष्ठता हेरी समायोजन गर्ने कार्य कहाँ पुगेको छ होला ?
कृषिका सहसचिवहरूको हकमा मन्त्रालयबाटै मिलाएर ल्याउन भनिसकेका छौँ । कृषि तर्फ कम्तीमा पनि पाँच वटा समुह/उपसमुह छन् । समुहीकृत नहुने र समूहकृत हुने दुवै पदहरू छन् । उहाँहरूको लजिकहरु सुनेर के कसरी मिलाउने भनेर कृषिकै पदाधिकारी राखेर छलफल भइरहेको छ । खरिदार–सुब्बाहरूको एउटै भएकोले सजिलो भएको थियो तर यहाँ धेरै समूह÷उपसमूह भएकोले मिलान गर्न कठिनाइ भएको हो ।

कृषितर्फको राजपत्र अनंकित प्रथमबाट छैटौँमा विवाद किन भएको होला ? सँगै नियुक्त भएको समान योग्यता हुँदा कसैको पाँचौँ कसैको छैटौँ कसरी ?
कृषि मात्रै होइन, वन तथा प्रशासनतर्फ पनि यो इस्यू उठेको छ । खास गरी न्यूनतम शैक्षिक योग्यता हासिल गरेका कर्मचारीहरूले कितावखानामा आफ्नो वैयक्तिक विवरण अद्यावधिक नगरेका कारण छैटौँको चिठी ननिस्केको हुन सक्छ । समायोजनको सूचना निस्केको मितिलाई आधार मानेर न्यूनतम योग्यता भएकाहरूलाई माथिल्लो तहको पदपूर्ति गरिदिन भनेर निजामती कितावखानामा परिपत्र नै जारी गरिसकेका छौँ ।

स्वास्थ्य सेवाको सन्दर्भमा समायोजन हुन बाँकी छ । प्राथमिकता सुची परिवर्तन गर्न मिल्छ होला कि नाई ? सङ्घ र प्रदेश हटाएर स्थानीय तहमा बस्न के गर्नु पर्ला ?
अव वहाँहरूले रोजेको विषयलाई हामीले परिवर्तन गर्न मिल्दैन । अव त जहाँ जहाँ रोज्नु भाथ्यो त्यही ठाउँमा जानुपर्छ । तर पछिल्लो समय नेपाल सरकारले निर्णय गरेको पाँच वटा अस्पताल जुन सङ्घमा राखेको छ त्यसमा हिजो प्राथमिकता प्रदेशमा थियो तर सङ्घमा पर्‍यौँ प्रदेशमा नै जान्छौँ भनेर कसैले अनुरोध गर्‍यो भने त्यसबारेमा स्वास्थ्य मन्त्रालयलाले छलफल गर्ला नत्र भने जहाँ परेको छ त्यही हुन्छ ।

एक तह बढुवा लिएर प्रदेशमा समायोजन भएको शाखा अधिकृतले सङ्घको बढुवा प्रक्रियामा समावेश हुन पाउँछ, पाउँदैन ?
त्यो कुरो ऐनमै उल्लेख भई सक्यो । अहिले सङ्घीय निजामती सेवा ऐन संसद्मा पुगिसकेको छ । कर्मचारीले आन्दोलन गरेको विषयमा हामीले सम्बोधन गरिसकेका छौँ ।

समायोजन भएको यत्रो समयसम्म पनि पत्र नदिँदा विकासका कामहरू ठप्प छन् । समायोजनले राज्यलाई सहयोग गर्ने कि असहयोग गर्ने ? नयाँ प्रविधिबाट निष्पक्ष र छिटो भनिएको थियो, खै त ?
समायोजन निष्पक्ष नै छ । सफ्टवेयरले पनि काम गरिराखेको छ । काम धेरै छिटो पनि भएको छ । अरू मुलुकहरूमा हेर्नुहुन्छ भने सुरु गरेको १२–१३ वर्षमा पनि समायोजन भएको छैन । त्यसलाई हेर्ने हो भने हामीले धेरै छिटो गरेका छौँ । कर्मचारी समायोजन भएर जाँदा त्यो ठाउँमा भोलि अरू कर्मचारी आइसक्लान् । अप्ठ्यारो पर्ला र काममा बाधा पुग्ला भनेर अर्कोले रिप्लेस नगरुन्जेलसम्म ठाउँ नछोड्नु भनेर हामीले भनिसकेका छौँ । यसले गर्दा काममा र कार्य सम्पादनमा ढिलाइ होला जस्तो मलाइ लाग्दैन ।

वन मन्त्रालयमा फरेष्टरको दरबन्दी कटौती गरेर ५३८ लाई फाजिल बनाइयो । दरबन्दी स्वीकृतिका लागि सामान्यमा दरबन्दी चार्ट पठाएको ७ महिना भयो । के फाजिलसहित सबै दरबन्दी स्वीकृत गर्छ ?
वन मन्त्रालयमा फाजिलमा परेका कर्मचारीहरू फाजिलमा परेको होइन, सुरुको दरबन्दी संरचनाअनुसार वहाँहरूको फाजिलमा पर्नुभएको थियो । यो कर्मचारी समायोजनको सन्दर्भमा वन मन्त्रालयको मात्रै होइन, परराष्ट्रलगायत अन्य मन्त्रालयको पनि यही महिनामा गर्नुपर्‍यो भनेर आएको थियो तर अध्याधिक लोड परेका कारण हामीले त्यो गरेका थिएनौँ । त्यसैले अब जति पनि फाजिलमा परेका कर्मचारी छन्, तिनीहरूको यो समायोजन पछाडि कहाँ कहाँ कसरी गर्नुपर्छ, मन्त्रालयहरूबाट प्रस्ताव आएपछि हामी फाजिलमा राख्दैनौँ । तत् तत् ठाउँमा समायोजन गरिदिन्छौँ ।

साबिक जिल्ला विकासका कर्मचारीको समायोजन कहिले हुन्छ ?
हामीले समायोजन अगाडि बढाइसकेका छौँ । एक हप्ता भित्रमा ती कर्मचारीहरूको समायोजन टुङ्ग्याउने छौँ । त्यो रेडि भई सकेको छ । मेरो समायोजन कर्णाली प्रदेशमा भयो । मेरो साबिकको पद प्रा.स. छ । समायोजनमा तह छैटौँ अधिकृत भयो । अब सो क्षेत्रमा मेरो छैटौँको

दरबन्दी कहीँ कतै छैन, मैले कहाँ हाजिर गर्ने ?
पाँचौबाट छैटौँ स्वतः कायम हुन्छ । त्यो पद त्यही कायम हुन्छ । त्यही हाजिर गर्ने ।

मिति २०७५/११/२१ गते भएको नेपाल कृषि सेवाको किन समायोजनको सूची वेबसाइटबाट हटाइयो ?
वेब साइटबाट हटाउनुको कारण के छ भने सफ्टवेयरमा जुन लजिक छ त्यसमा इरर देखियो । हामीले खास गरी कार्यालय सहयोगीहरूको हकमा उनीहरूले मागेको ठाउँमा जाउन् भन्ने चाहेका थियौँ । स्थानीय तहमा काम गरिरहेका कर्मचारीलाई भरसक आफ्नो घर पायक नै जान खोजेको छ, परिवारसँगै बस्न चाहेको छ भने तिनीहरूलाई सकेसम्म हामीले त्यही ठाउँमा दिऔँ भन्ने मान्यता थियो । तर प्रदेश र स्थानीय तहको जुन लजिक छ त्यसबाट धेरै कार्यालय सहयोगी र सवारी चालकहरूको एकैचोटी अफ्ठेरो परेको गुनासो आएपछि हामीले करेक्सन गर्न लगाएका छौँ, अझै मिलाउन सकेका छैनौँ । एक-दुई दिनमा मिलाएर नतिजा वेबसाइटमा राख्छौँ ।

समायोजन गर्दा एक समूहको व्यक्ति अर्को समूहमा जाँदा सम्बन्धित समूहको व्यक्ति मर्कामा पर्न गएका छन्, पीडित वर्गले कहाँ के गर्ने होला ?
यो विषय नै समायोजन हो ।

फाजिललाई कहाँ हाजिर गराउने हो ? यो समस्या समाधान गर्न कति समय लाग्ला ?
फाजिलमा केही समयको लागि मात्रै रहन्छन् । मलाई लाग्छ, धेरै लामो समयसम्म फाजिलमा कर्मचारी रहँदैनन् ।

स्वास्थ्य सेवाको सहायकस्तरको कर्मचारीहरूको ज्येष्ठता विवरण सार्वजनिक भएको हप्तौँ नाघी सक्यो । समायोजन सुची कहिले प्रकाशित हुन्छ ? साथै समायोजनको बेला प्रसूति बिदामा बसेको कर्मचारी कसरी २१ दिनभित्र समायोजन भएको ठाउँमा हाजिर हुन्छ ? त्यस्तो कर्मचारीको लागि के व्यवस्था छ ?
यो चाहिँ सामान्य कुरा हो । प्रसूति बिदा लिन पाउँछ, अन्य बिदा लिन पाउँछ । जहाँसम्म ज्येष्ठता सार्वजनिक भएको लामो समयसम्म पनि समायोजन रोकिएको कुरा छ त्यसमा स्वास्थ्यमा सबैभन्दा ठुलो विडम्बना छ । ०५६ सालदेखि जुन तहमा जानु भयो । तहमा गई सके पछि वहाँहरूले विभिन्न किसिमका समस्याहरू थपेर लिएर जानु भएको छ । ती सबै समस्याहरू समायोजनबाट एकै चोटि फुकी दिए हुन्थ्यो भन्ने स्वास्थ्यका कर्मचारीको भनाई छ, त्यो समाधान हुन सक्दैन ।

वहाँहरूका नियुक्ति पनि किताबखानामा छैनन्, वहाँहरूको ठेगाना पनि किताबखानामा छैन । वहाँहरूले दर्ता नै गराउनु भएको छैन । कानुनले स्तर वृद्धि भइरहेको छ, तर स्तर वृद्धि भएको चिठी कितावखानामा छैन । यसमा कहिले मन्त्रीले ठोकेको छ, कहिले सचिवले ठोकेको छ, कहिले क्षेत्रीय प्रशासकले ठोकेको छ त कहिले कसले, कहिले ठोक्देका छन् अनि हात हातमा लिएर कुदेका छन् । कुनै चिठी कितावखानामा पुगेका छन् मन्त्रालयमा पुगेका छैनन्, कुनै मन्त्रालयमा पुगेका छन् तर कितावखानामा छैनन् ।

जुन कुरा स्वास्थ्य मन्त्रालयकै कर्मचारीहरूले आएर त्यो कुरा भनिरहेका छन् । अब पुनः ५ गतेभित्र आफ्नो विवरण सच्याएर पिआईएस अपडेट गर्नुस् भनेर स्वास्थ्य मन्त्रालयले सूचना प्रकाशित गरेको छ । त्यसपछि हामी सोही अनुसार समायोजन गर्छौ । कृषिमा जस्तै स्वास्थ्यमा पनि २४ हजारको सङ्ख्यामा कर्मचारी स्थानीय तहमा जान्छन् । ती कर्मचारीहरूको लजिक हामी कृषिमा जस्तै मिलाउँछौँ ।

कृषिको पुरानो सूची संशोधन हुँदैछ भन्ने सुनिन्छ नि, के हो वास्तविकता ?
सूची संशोधन गर्ने भन्ने कुरा छैन । लजिकमा फरक परेको छ भने त्यो मिलाएर हामी अघि बढ्छौँ ।

स्थानीयमा समायोजन भएको कर्मचारीले प्रदेश र सङ्घमा जान नपाउने, अनि स्थानीय र प्रदेशमा पर्ने कर्मचारीले बढुवा चैँ कसरी हुने हो नि ?
बढुवा हुने आधारहरू सङ्घीय निजामती सेवा ऐनमा राखिएका छन् त ।

म पहिला जिल्ला कृषि विकास कार्यालय म्याग्दीमा थिएँ तर अहिले धवलागिरी गाउँपालिका मुना म्याग्दीमा छु तर यहाँ नेटवर्कको सुविधा नभएकोले पीआईएस अपडेट हुन सकेन अब यसको लागि के होला ? अर्को कुरा मेरो स्थाई ठेगाना त धनकुटा हो तर म बस्ने भनेको गौर दह नगरपालिका हो र मैले छानेको स्थानीय तह पनि नजिक्कैको गाउँपालिका गौरिगन्ज हो । अब यस गा पा मा आउनको लागि म योग्य छु भने मलाई समायोजन के होला ?
अब हरेक व्यक्तिका व्यक्तिगत समस्याहरूबारे त सम्बोधन गर्न गारो हुन्छ तर समग्रमा के हो भने समायोजनका आधारहरू छन्, निश्चित मापदण्डहरू छन् त्यसको आधारमा गर्ने हो । सङ्घ, प्रदेश र स्थानीयको आधारहरू भएकोले ती आधारअनुसार तोकिएको ठाउँमा काम गर्ने हो ।

समायोजन ऐन विपरीत कनिष्ठ नासुले रोजिछानी छाडेका ठाउँमा ज्येष्ठ टाईपिष्ट समायोजनमा जानू पर्ने भयो । सङ्घमै थुप्रिने पद्धतिको विरुद्ध प्रदेश र स्थानीय तहमा जान चाहेका टाईपिष्टलाई सरकारले स्तरबृद्धि गरी पठाएन । न्यायको लागि मुद्दा नै लड्नु पर्ने हो त ?
टाईपिष्टको पद टाईपिष्ट नै हो, सुब्बा सुब्बा नै हो । टाइपिष्टको दरबन्दी जहाँ हुन्छ त्यही समायोजन हुन्छ, सुब्बाको सुब्बाको मै हुन्छ ।

प्रकाशित मिति: Mar 22, 2019

प्रतिक्रिया दिनुहोस्