Logo
८ बैशाख २०८१, शनिबार
(March 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विवादित क्षेत्र भन्दै भारतीय एसएसबीले रोक्यो सडक कालोपत्रे कार्य

कञ्चनपुर : भारतीय सीमा शुरक्षा बल(एसएसबी)को अवरोधका कारण कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रम्हदेवमा सडक कालोपत्रे गर्ने कार्य रोकिएको छ ।

विवादित क्षेत्र भन्दै भारतीय एसएसबीले सडक कालोपत्रे गर्ने कार्य रोकेको हो । विवादास्पद टनकपुर बाँध नजिकै ब्रम्हदेव बजार जोडनका लागि नगरपालिकाले ४३ लाख रुपैयाँमा १.३८ किलोमिटर सडक कालोपत्रे गर्नका लागि न्यू जोशी कस्ट्रक्सनलाई ठेक्का दिएको थियो । ठेकेदारले शुक्रबार सडक कालोपत्रे गर्नका लागि साधनसहित कार्यस्थलमा पुगेपछि भारतीय एसएसबीले अवरोध गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

भारतीय एसएसबीले सडक कालोपत्रे गर्ने कार्यको अवरोध गरेको ठाउँको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी शुसिल वैद्य, नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट र शुरक्षा निकायका अधिकारीहरूले अवलोकन गरेका छन् । भारतीय पक्षले माथिल्लो निकायमा विवाद समाधान नहुँदासम्म सडक निर्माणको कार्य अगाडि बढाउन नदिने अडान राखेको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी वैद्यले सडकमा कालोपत्रे गर्ने कार्य अगाडि बढाउनका भारतीय पक्षसँग छलफल भइरहेको बताए । भारतीय पक्षले नौ महिनाअघि बाँध नजिकैको एक हजार दुई सय मिटर सडक कालोपत्रे गरिसकेको छ । नेपाली भूमिमा भारतले केही महिना अगाडि सडक निर्माणको कार्य अगाडि बढाएपछि नेपाली पक्षको विरोधका कारण काम रोकिएको थियो ।

सोही ठाउँमा अहिले नगरपालिकाले सडक कालोपत्रे गर्ने कार्य अगाडि बढाएपछि भारतीय पक्षले अवरोध गरेको छ ।

प्रकाशित मिति: Mar 22, 2019

प्रतिक्रिया दिनुहोस्