Logo
१३ बैशाख २०८१, बिहीबार
(March 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल आफैंमा सम्पन्न राष्ट्र हो, मगन्ते देश होइन : प्रधानमन्त्री

बुटवल : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल मगन्ते देश नभएको बताएका छन् । कतिपयले विदेशी सहयोग आउँदैन भनेर हल्ला चलाउन थालेको भन्दै उनले नेपाल मगन्तेहरुको देश नभएकाले आफ्नै देशका प्राकृतिक स्रोत सदुपयोग गरेर समृद्ध मुलुक बनाइने बताए ।तिलोत्तमामा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले खनिज, पेट्रोल, फलाम, सुन जस्ता खानी रहेकाले नेपाल आफैंमा सम्पन्न राष्ट्र भएको तर्क गरे ।

सरकारले चौतर्फी विकासको लहर ल्याउन थालेपछि केहीलाई आफ्नो दोकान बन्द होलान् भन्ने पीर परेको प्रधानमन्त्री ओलीले दाबी गरे । ‘सडक चौडा बनाउँदा पनि बर्बाद भो भनेका छन्, एअरपोर्ट बनाउन थालेपनि बर्बाद भो भनेका छन्, झन् विप्लव समूहका हिंसात्मक गतिविधि नियन्त्रण खोज्दा त झनै बर्बाद भो भनेर कराउन थालेका छन्’ प्रधानमन्त्रीले भने, ‘तर, सरकार समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानमा दृढ भएर अघि बढेको छ ।’

विज्ञानले ठूलो करामत गरिसकेको भन्दै त्यही करामतले आफू अहिले प्रधानमन्त्री बनेको बताए । ‘विज्ञानकै कारण अरुको मिर्गौला लिएर चलेको मान्छे मै हुँ । चलेको मात्र हैन, प्रधानमन्त्री नै बनेको छु’ उनले भने । सरकारी मेडिकल कलेज ठूलो आयोजना भएको भन्दै उनले यसलाई सफल बनाउन सबैको सहयोग हुनुपर्नेमा जोड दिए ।

विभिन्न कारणले रोगहरु बढिरहेका उल्लेख गर्दै सरकार रोगहरु बढ्न नदिने प्रयासमा पनि लागेको बताए । दुषित पानी,पोषणयुक्त खानाको अभावमा,गर्भावस्थादेखि नै कुपोषणको शिकार, असन्तुलित,अस्वस्थ खानाले रोगहरु बढेका भन्दै प्रधानमन्त्रीले स्वस्थ आहार विहारमा रहन आग्रह गरे । मान्छे जति कम सुत्छ, उति छिटो मर्छ भन्दै थकाई मर्ने गरी आराम र भोक लाग्ने गरी काम र व्यायाम गर्न पनि आग्रह गरे ।

नेकपा महासचिव विष्णु पौडेलले केपी ओली प्रधानमन्त्री र आफू अर्थमन्त्री रहेका बेला सातवटै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेकोमा बल्ल काम अघि बढेको बताए । तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले मेडिकल कलेजका लागि २ सय बिघा (२६ सय रोपनी) जमिनको प्रबन्ध भइसकेको जानकारी दिएका छन् ।

तिलोत्तमा नगरपालिका-१ र ८ मा पर्ने शंकरनगर र करिहया सामुदायिक वनको २ सय बिघा जग्गामा मेडिकल कलेज बन्ने छ । उद्घाटन भएको मेडिकल कलेज पुर्वाधार निर्माण विकास आयोजनाको कार्यालयमा आयोजना प्रमुखसहित एकजना उपसचिव, शाखा अधिकृत, इन्जिनियर, लेखा अधिकृत, चालक र कार्यालय सहयोगीसहित सातजना कर्मचारीको दरबन्दी रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव मानबहादुर घिमिरेले बताए ।

आयोजना कार्यालय स्थापना भएपनि तत्काल फिल्डमा काम भने हुनेछैन । धेरैजसो काम कानुनी प्रकृयाका भएकाले शुरुमा केन्द्रबाटै काम हुने उपसचिव घिमरेले बताए । आयोजनाले मेडिकल कलेज स्थापनाका लागि ईआईए, गुरुयोजना निर्माण, जग्गा प्राप्ति लगायतका कामहरु गर्नेछ । संघीय सरकारले चालु आर्थिक वर्षको वजेटमा तिलोत्तमा, बर्दिबास र सुर्खेतमा गरी तीनवटा मेडिकल कलेज स्थापनाका लागि एकमुष्ट ३० करोड रुपैयाँ विनियोजन गरेको थियो ।

कम्तीमा तीन सय शैयाको अस्पताल बनाएर तीन वर्षसम्म संचालन गरेपछि मात्र मेडिकल कलेजले एमबीबीएस तहका विद्यार्थी भर्ना गर्न पाउने प्रावधान छ । योजना अनुसार मेडिकल कलेज त्रिभुवन विश्वविद्यालयको आंगिक कलेजको रुपमा स्थापना हुनेछ । त्यसका लागि करिब १० अर्ब खर्च हुने पुर्वानुमान गरिएको छ । डिपिआर लगत्तै २ सय बिगाहा क्षेत्रफलमा तत्काल २ वटा ठूला ठूला भवन बन्ने छन् ।

प्रकाशित मिति: Mar 22, 2019

प्रतिक्रिया दिनुहोस्