Logo
१३ बैशाख २०८१, बिहीबार
(March 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लव समूहलाई सरकारको आग्रह : ‘गोला-बारुद फाल्नुहोस्, प्रधानमन्त्री र राष्ट्रपति बन्‍नुहोस्’ (भिडियो)

काठमाडौँ : सरकारले संगठितरुपमा आतंकारी गतिविधि गरेको भन्दै एक साताअघि प्रतिबन्ध लगाएको विप्लव समूहलाई शान्तिपूर्ण बाटो रोज्न फेरि आग्रह गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आतंककारी गतिविधि बन्द गरेर शान्तिपूर्ण राजनीतिमा आए विप्लव समूहलाई पनि राष्टपति र प्रधानमन्त्री बन्‍ने अवसर भएको बताए ।

प्रतिबन्ध लगाएको तीन दिनमै विप्लव समूहलाई वार्तामा आउन आग्रह गरेको सरकारले फेरि शान्तिपूर्ण बाटो रोजी संविधानले दिएको प्रावधानमा टेकेर शान्तिपूर्ण राजनीति गर्न आग्रह गरेको छ । ‘विप्लव समूहका लागि पनि राजनीतिक मैदान नै खाली छ, जता पट्टा खेले पनि हुन्छ, जताबाट गिर हालेपनि हुन्छ शान्तिपूर्ण रुपले, देशको संविधान स्वीकार गर्नु पर्‍याे र हिंसालाई छोड्नु पर्‍याे र आतंक मच्चाउन छोड्नु पर्‍याे। गोलाबारुद त्याग्नुहोस राष्ट्रपति र प्रधानमन्त्री बन्नुहोस हामीले भनेकै छौँ,’ बिहीबार उनले भने ।

पछिल्लो पटक बसेको मन्त्रीपरिषद् बैठकमा निर्णय सार्वजनिक गर्नका लागि आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले हिंसाको बाटो त्याग्न नसक्नेलाई भीरबाट लड्न लागेको गाईलाई रामराम भन्‍नुको विकल्प नभएजस्तै भएको बताए । मुलुकले १० वर्षे सशस्त्र द्वन्द्वको पीडा खेपिसकेको र त्यसको असर भोग्‍नेहरुलाई बढ्ता थाहा हुने भन्दै उनले अब जनता युद्धप्रति सचेत भइसकेकाले कसैलाई भड्काउन खोज्नुमा कुनै तुक नरहेको उनको भनाइ छ ।

सरकारले संगठित अपराधमा संलग्न भएको र त्यसले मुलुकको शान्ति सुरक्षामा चुनौती थपिएको भन्दै फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । त्योसँगै उसले ३५ दिनभित्र विप्लव समूह लगायत अन्यले अवैधरुपमा राखेको हतियार बुझाउन सूचना समेत जारी गरेको छ । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पटक-पटक निर्धारित समयभित्र अवैध हतियार नबुझाउनेमाथि सरकारले कडा कदम चाल्ने चेतावनी सार्वजनिकरुपमै दिँदै आएका छन् ।

विप्लव समूह राजनीतिक पृष्ठभूमिको भएको र त्यसका गतिविधिलाई निषेध गर्ने निर्णय गरेर सरकार तानाशाही बनेको भन्ने टिप्पणीहरु पनि आएका छन् यो बीचमा । कार आफैँले युद्धको घोषणा गरिसकेको र त्यसको प्रतिकार गर्ने प्रतिक्रिया दिएको विप्लव समूहका नेतृत्व गरिरहेका विप्लव भनेर चिनिने पूर्व माओवादी नेता एवं सह-कमान्डर नेत्रविक्रम चन्द भूमिगत छन् ।

भिडियो :

प्रकाशित मिति: Mar 21, 2019

प्रतिक्रिया दिनुहोस्