Logo
१३ बैशाख २०८१, बिहीबार
(March 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महाधिवेशन स्थगित गरेर राजपाले थाल्यो फोरमसँग एकीकरण प्रयास, महतोको नेतृत्वमा वार्ता समिति

केपि शर्मा ओली नेतृत्वको संघीय सरकारलाई दिएको सर्मथन फिर्ता लिएर आन्तरिक संगठन सुधारमा जुटेको राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा) ले निधारित महाधिवेशन स्थगित गर्दै संघीय समाजवादी फोरम नेपालसंग एकीकरणका लागि पहल थालेको छ । काठमाडौं स्थित होटल हायतमा बिभिन्न चरणमा राजपाका शीर्ष नेताहरुबीचको गोप्य बैठक र बुधवार बसेको अध्यक्ष मण्डलको बैठकले पार्टी एकीकरणका लागि फोरमसँग प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

फोरमसंग एकिकरण प्रक्रियाकै लागि निर्धारित महाधिवेशन समेत स्थगित गरिएको राजपाका एक अध्यक्षले बताए । ‘अब फोरमले पनि आफ्नो निर्धारित अधिवेशन स्थगित गर्नेछन् हामिबीच अनौपचारिक रुपमा धेरै छलफलहरु भयो अब हामि औपचारिक रुपमै एक भएर विषेश एकता महाधिवेशन गर्नेछौंं’ नाम उल्लेख नगर्ने शर्तमा उक्त अध्यक्षले भने ‘प्रदेश १, २ र ५ लाई मुख्यत आफ्नो पकडमा लिने हाम्रो पहिलो लक्ष्य हुने उनले बताए । हामि अब सरकारको सहपाठी होइन अब प्रधानमन्त्री नै बनाउने लक्ष्य सहित एकिकरण हुन लागेका हौं’ उनले भने ‘अब राजनीतिक कोर्ष समेत फेरिएको छ ।’

राजपाले मधेश आन्दोलनको प्रतिवेदन सार्वजनिक नगरेको र संविधान संशोधन प्रक्रिया अगाडि नबढाएको भन्दै सडक संघर्षको तयारी पनि राजपाले गरेको छ । गत मंसिर २३ गतेको संघीय समाजवादी फोरम नेपालको केन्द्रीय समिति बैठकले राजपासहितसँग पार्टी एकीकरणका लागि समिति गठन गरेको थियो ।

उक्त समितिले पार्टी एकीकरणका लागि राजपालाई पत्राचारसमेत गरेको थियो । तर, राजपाले उक्त पत्रको जवाफ दिएको थिएन । अनौपचारिक रुपमा राजपा नेताहरुले सरकार छोडेर आएमात्र एकीकरणको विषयमा वार्ता गर्ने प्रतिक्रिया दिएका थिए ।

यता, उक्त बैठकबाट राजपाले आगामी रणनीति पनि तय गरेको नेता केशव झाले जानकारी दिए । झाका अनुसार पार्टी एकीकरणका लागि राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको नेतृत्वमा समिति गठन भएको छ । समितिले अब केही दिनभित्रै आफ्नो काम थाल्नेछ। वार्ता समितिमा झासहित वृषेशचन्द्र लाल, रमेश यादव र सुनिल रोहित छन् ।

यसैगरी, अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवको संयोजकत्वमा प्रदेश सरकार संयोजन समिति, अनिल झाको संयोजकत्वमा स्थानीय तह संयोजन समिति समेत गठन गरिएको छ । त्यसैगरी प्रशिक्षणका लागि राजकिशोर यादवको संयोजकत्वमा केन्द्रीय प्रशिक्षण विभाग गठन गरिएको छ । सरकारबाट समर्थन फिर्ता लिएको राजपाले सदन अवरुद्ध गर्दै संसदमा समेत आफ्नो सक्रियता बढाएको छ ।

त्यसैगरी, आफ्ना नेता तथा कार्यकर्तालाई इंगेज गराउन विभिन्न योजनाहरुलाई अगाडि सारेको छ भने पार्टी एकीकरणको प्रक्रिया पनि अगाडि बढाएको छ । तर, अहिले राजपाले महाधिवेशनको तयारी गरिरहेको नेता महेन्द्र राय यादवले बताए । तोकिएको समयमा ढिलाइ हुन सक्छ तर महाधिवेशन २०७६ भित्रै हुने उनले दाबी गरे ।

प्रकाशित मिति: Mar 21, 2019

प्रतिक्रिया दिनुहोस्