Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

होलिका दहनपछि आज तराई मधेशमा होली मनाईँदै, प्रदेश दुईमा २ दिन बिदा (जोगिरा भिडियो सहित)

काठमाडौँ : देशको तराई मधेश क्षेत्रमा आज (बिहीबार) धुमधामका साथ होली पर्व मनाईँदै छ । बुधबार पहाडी क्षेत्रमा देखिएको रंगहरुको उत्सव बिहीबार तराईमा देखिएको छ । पूर्णिमाको दिन होलिका दहन गरेपछि भोलिपल्ट रंग खेलेर होली मनाउने परम्परा अनुसार तराईका जिल्लामा विशेष रुपमा फागु पर्व मनाईँदैछ । यस्तै जनकपुरमा भने शुक्रबार होली मनाईने छ ।

प्राचिन मिथिलाको राजधानी जनकपुरधाममा मिथिला माध्यमिकी परिक्रमा गर्नेहरु जनकपुरको अन्तरगृह प्रवेश गरेको भोलिपल्ट होली मनाउने परम्परा छ । बुधबार सकिएको माध्यमिकी परिक्रमाका श्रद्धालु बिहीबार अन्तरगृह प्रवेश गर्दै छन् । होलीका अवसरमा तराईका जिल्लामा बिहीबार बिदा छ । प्रदेश नम्बर दुई सरकारले भने शुक्रबारका लागि पनि बिदा दिएको छ ।

तराई क्षेत्रको बिशेष पर्वका रुपमा लिइने होलीको रौनकताले पूर्व देखि पश्चिम तराईलाई छपक्कै छोपेको छ । आपसी प्रेम र सद्भाव दर्शाउने होली (फागु) पर्वको रौनक मिथिलामा ह्वातै बढेको छ । मिथिला माध्यमिकी परिक्रमाका यात्रीले आज जनकपुरमा एकआपसमा रंङ अबीर खेलेर वसन्त उत्सव मनाउने भएपछि यस क्षेत्रमा होली पर्वको रौनक ह्वात्तै बढेको हो ।

यतिखेर मथिला क्षेत्रका गाउँनगर बस्तीमा रंङ अबीरको खरिद बिक्री ह्वात्तै बढेको छ । फागु पूर्णिमाका दिन राति होलिका दहन (राक्षसी प्रवृत्तिकी प्रतीक मानिएकी होलिका राक्षसीको प्रतिमा दहन गरिने काम) सकेर भोलिपल्ट रंङ अबीर खेल्दै मिष्ठान्न भोजन गरेपछि समापन गरिने होली पर्व मिथिला क्षेत्रको आपसी प्रेम दर्शाउने मुख्य पर्व रहँदै आएको यस क्षेत्रका बुढापाका बताउँछन् ।

होली (फागु) पर्वको सन्दर्भ सत्य युगमा दैंत्यराज हीरण्यकशिपुले विष्णुभक्त आफ्ना छोरा प्रह्लादलाई मार्न आगोमा पोलिएर नमर्ने अभय बरदान पाएकी बहिनी होलिकाको काखमा राखेर प्रह्लादलाई अग्निकुण्डमा राख्दा होलिका भष्म भएकी र प्रह्लाद भने ध्यान मुद्रामा भगवान्को नाम जप्दै रहेको विश्वाससँगै जोडिएको विद्वानको मत छ ।

त्यही सन्दर्भ भए पनि मिथिलाको हकमा पर्वप्रति अपनत्व बढाउन मिथिलावासीले मिथिलापुत्री जानकीको सन्दर्भ जोडेर यो पर्वको ओज बढाएका याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ मटिहानीका उपप्राध्यापक ध्रुव राय बताउँछन् । “पुराणमा हीरण्यकशिपु, होलिका र प्रह्लादको प्रसंग फागु पर्वका लागि छँदैछ”, उपप्रध्यापक रायले भने, “तर मिथिलामा यो पर्वप्रति अपनत्व बढाउन आफ्नै चेली सीताको सन्दर्भ पर्व विशेषका लागि जोडिएको हो ।”

फागु पर्वको बढ्दो रमझमसँगै महोत्तरी जिल्लाका बजारमा विभिन्न रंङका अबीरको माग बढेको व्यापारीले बताएका छन् । बिहीबार राति होलिका दहन गरेपछि भोलिपल्ट शुक्रबार होली मनाइने तयारी छ । पर्वका लागि भोजनमा मासुको प्रयोग आमरुपमा हुने भएकाले खसीबोका र कुखुरासँगै साकाहारीले खाने मिष्टान्न परिकारका समानका लागि अहिलेदेखि नै मैथिल ९मिथिलावासी० कुराकानी पक्का गर्न लागेका छन् ।

पर्वकै लागि आवश्यक सामग्री बजारमा सजाउन व्यापारी लागिपरेको बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष प्रह्लाद क्षेत्रीले बताए । होली आपसी प्रेम दर्शाउने रमाइलो पर्व भए पनि केही वर्षयता पर्वका नाउँमा उच्छृङ्खलता र विकृति बढेकोतर्फ भने बुद्घिजीवीले चिन्ता व्यक्त गरेका छन् ।

अमर्यादित ढंगले रंङका नाउँमा कालो पोतो दल्ने, अनिच्छुकलाई जबर्जस्ती रङ छ्याप्ने र मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने बढ्दो विकृतिलाई भने तत्काल नियन्त्रण गरिन आवश्यक रहेको बर्दिवास जनता बहुमुखी क्याम्पसका प्रमुख तोपबहादुर ठकुरीको मत छ ।असत्यविरुद्ध सत्यको जीत हुने सन्देश प्रवाह गर्ने यस पर्वको गरिमा र महत्वलाई बुझेर यस पर्वको नाउँमा उच्छृङ्खलता र विकृति बढ्न नदिनतर्फ नयाँ पुस्ता सजग हुनुपर्ने पाका बुद्धिजीवीको सुझाव छ ।

प्रकाशित मिति: Mar 21, 2019

प्रतिक्रिया दिनुहोस्