Logo
८ बैशाख २०८१, शनिबार
(March 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाद्वारा आज पनि संसद अवरुद्ध

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) ले आइतबारको संसद बैठक अवरुद्ध गरेको छ । उस्ले केहि दिनदेखि नियमिति रुपमा बैठक अवरुद्ध गर्दै आएको छ ।

अपरान्ह प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ राजपाका सांसदहरुले उभिएर संसद अवरुद्ध गरेको बताएका छन् । संसदमा उभिएर बोल्दै राजपा नेता लक्ष्मणलाल कर्णले भने, ‘आज बडो दुर्भाग्य भयो, हामीले संसद बैठक अवरुद्ध गर्नुपर्‍यो ।’

पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा बनेको प्रतिवेदन सार्वजनिक नभएसम्म संसद चल्न नदिने सांसद कर्णले बताए । टीकापुरलगायत तराई मधेसमा भएका आन्दोलनको घटनाको छानबिन गर्न गठित उक्त आयोगले सरकारलाई प्रतिवेदन बुझाए पनि सार्वजनिक भएको छैन ।

आन्दोलनमा कोही दोषी हो कि होइन भन्ने विषय राज्यले बनाएको आयोगबाट थाहा हुने भन्दै कर्णले भने ‘पटक पटक यो गलतफहमी किन ?’ उनले थपे ‘सम्पूर्ण आन्दोलनको मुद्दा फिर्ता हुन्छ, तर दुर्भाग्य छ, हामी मधेसी र थारुको मुद्दा समझमा आउँदैन ?’

यसअघि गत बुधबार पनि राजपाले संसद बैठक अवरुद्ध गरेको थियो । उक्त बैठकमा सभामुख कृष्णबहादुर महराले उक्त प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएका थिए । तर अहिलेसम्म सार्वजनिक भएको छैन ।

सांसद कर्णले सरकारले सार्वभौम संसदलाई समेत नटेरेको भन्दै आक्रोश पोखे । ‘यो संसद मातहत सरकार हो कि होइन सभामुख महोदय ? संसदले बनाएको सरकार हो र संसदप्रति जिम्मेवार छ भने सभामुखले ध्यानाकर्षण गराउँदा पनि, संसदको निर्देशनलाई पनि नमान्ने ?’ उनले भने ।

आयोगको प्रतिवेदन सार्वजनिक गर्न आफूले सरकारको ध्यानाकर्षण गराइसकेको भन्दै सभामुख कृष्णबहादुर महराले राजपा सांसदलाई बस्नका लागि अनुरोध गर्दा पनि उनीहरुले बस्न नमानेपछि बैठक १० मिनेटका लागि स्थगन गरेका छन् ।

प्रकाशित मिति: Mar 17, 2019

प्रतिक्रिया दिनुहोस्