Logo
१२ बैशाख २०८१, बुधबार
(March 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारसँगको सम्झौतापछि लहानमा सीके राउतको पहिलो बैठक, मोबाइल बाहिरै राख्न लगाइयो

काठमाडौं : सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठक सिरहाको लहानमा सुरु भएको छ । सरकारसँग भएको ११ बुँदे सम्झौताबाट मूलधारमा आएपछि गठबन्धनको यो पहिलो बैठक हो । बैठक सिरहाको लहान मरवारी सेवा आश्रममा बसिरहेको हो ।

मूलधारमा आएपछि गठबन्धनको अगामी रणनीति कस्तो हुने, पार्टी दर्ता गराएर अगाडि बढ्ने कि नबढ्ने, मधेशमा कुन–कुन एजेण्डा उठाउने लगायतका विषयमा छलफल हुने गठबन्धनका नेता सुदीपराज कुवाहाले जानकारी दिए ।

स्वतन्त्र मधेशको एजेण्डा छाडेको भन्दै सहमतिपछि गठबन्धनभित्र केही नेताले असन्तुष्टि जनाइरहेका छन् । कतिपय कार्यकर्ताले त धोका भएको भन्दै यो कुरा सिके राउत समक्ष राखिसकेका छन् ।

गठबन्धनले राममनोहर यादवलाई सहिद घोषणा गराउन नसकेकोमा पनि थुप्रै कार्यकर्ताहरुले चित्त दुखाएका छन् । यी सबै विषयमा सिके राउतले दुई दिनसम्म चल्ने बैठकमा चित्त बुझाउने प्रयास गर्ने स्रोतको दावी छ ।

बैठक वरिपरी सुरक्षा व्यवस्था कडा पारिएको छ । यहाँसम्म कि परिषद्का सदस्यहरुको मोवाइल समेत बैठकस्थलभित्र निषेध गरिएको छ । उनीहरुको नागरिकता वा अन्य पहिचान खुल्ने प्रमाणपत्र हेरेर मात्र भित्र छिर्न दिइएको छ ।

बैठकमा उपत्यका सहिद २३ जिल्लाका कम्तीमा २०० जनाको सहभागिता रहेको बताइएको छ । बैठक भोलिसम्म चल्नेछ । बैठकपछि राउतलाई लहानमै शक्ति प्रदर्शन सहित नागरिक अभिनन्द गर्ने कार्यक्रम रहेको छ ।

सरकारले गठबन्धनसँग फागुन २२ गते ११ बुँदे सम्झौता गरेको थियो । सो सम्झौतापछि गठबन्धनका संयोजक राउत फागुन २६ गते जनकपुर पुगेका थिए ।

प्रकाशित मिति: Mar 17, 2019

प्रतिक्रिया दिनुहोस्