Logo
१५ चैत्र २०८०, बिहीबार
(March 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुरक्षा गोष्ठी चलिरहँदा काँग्रेस कार्यकर्ताको हत्या, विरोधस्वरुप राजमार्ग नै अवरुद्ध

बुटवल : रुपन्देहीमा आइतबारदेखि ५ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठी चलिरहेको छ । जिल्ला सदरमुकाम भैरहवामा सुरक्षा प्रमुखहरु सहितको गोष्ठी चलिरहँदा २५ किलोमटिर मात्रैको दूरीमा रहेको देवदह नगरपालिकामा आइतबार साँझ काँग्रेसको भातृ संगठन नेपाल तरुण दलका नगर सदस्यको हत्या भएको छ ।

दुई दिने सुरक्षा गोष्ठी चलिरहेकै बेला तरुण दलका सदस्य अनिस पुरीको हत्या भएपछि सोमबार दिउँसो देवदह क्षेत्रमा काँग्रेस कार्यकर्ताले विरोधस्वरुप केहीबेर राजमार्ग नै अवरुद्ध गरेका छन् । देवदह नगरपालिका वडा नं। ५ का २२ वर्षीय पुरीको स्थानीय भलुही भन्ने स्थानमा ढुंगा तथा लाठी प्रहार गरी अज्ञात समूहबाट हत्या भएको थियो । हत्याको आशंकामा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । तर उनीहरुको विवरण सार्वजनिक गरेको छैन ।

ईलाका प्रहरी कार्यालय बुटवलमा डीएसपी डिल बहादुर मल्लले घटनामा संलग्न भएको आशंकामा केहीलाई पक्राउ गरिएको बताए । उनले घटनाबारे अनुसन्धान भइरहेको भन्दै थप विवरण खुलाउन चाहेनन् । गृहमन्त्री, प्रहरी प्रमुख, गृह सचिवलगायतका सबै सुरक्षा अधिकारी रुपन्देहीमै आएको बेला नै यो घटना भएको छ ।

यसैबीच नेपाली काँग्रेसले हत्यामा संलग्नलाई कडा कारवाहीको माग गरेको छ । काँग्रेस रुपन्देहीले सोमबार प्रेस विज्ञप्ती जारी गरी हत्या जस्तो जघन्य अपराधप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको भन्दै हत्यामा संलग्न भएका व्यक्तिलाई कडा भन्दा कडा कारवाहीको माग गरेको हो ।

नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणद्वारा जारी विज्ञप्तीमा राजनीतिक तथा सामाजिक रुपमा सकृया युवालाई योजनावद्ध तरिकाले गरिएको हत्याबाट सिंगो पार्टीलाई स्तब्ध बनाएको उल्लेख गरिएको छ ।  पूर्व पश्चिम राजमार्गमा संघसाँझै व्यक्तिमाथि आक्रमण हुनाले सरकारको सुरक्षा प्रवन्ध कस्तो छ भन्ने प्रष्ट पारेको पनि विज्ञप्तिमा उल्लेख छ।

यस्तै नेपाल तरुण दल रुपन्देहीका अध्यक्ष सोमबहादुर गुरुङ र सचिव रमेश शाहीले सोमबार नै संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरी गृहमन्त्री सहित सुरक्षा समितिको बैठक रुपन्देहीमै बसिरहँदा घटना हुनुले धेरै खालका आशंकाहरु पैदा गरेको उल्लेख गरेका छन् । विज्ञप्तीमा राजमार्ग क्षेत्रमै भएको यो घटनाले गृहमन्त्री रामबहादुर थापाको ‘देशमा शान्ति सुरक्षाको अवस्था चुस्त दुरुस्त छ’ भन्ने भनाईलाई हास्यास्पद बनाइदिएको उल्लेख छ ।

प्रकाशित मिति: Mar 11, 2019

प्रतिक्रिया दिनुहोस्