Logo
७ बैशाख २०८१, शुक्रबार
(March 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वतन्त्र मधेस गठबन्धनको प्रष्टोक्ती : ‘जनअभिमतको व्याख्या जनमतसंग्रह मात्रै होइन’

अहिले चर्चामा रहेको जनअभिमत भनेको जनमतसंग्रह र निर्वाचन दुवै भएको स्वतन्त्र मधेस गठबन्धनले प्रष्ट पारेको छ । स्वतन्त्र मधेस गठबन्धनका उपसंयोजक चन्दन सिंहले सरकार र आफ्नो गठबन्धनबीच भएको ११ बुँदे राजनीतिक सहमतिको बुँदा नंम्बर २ मा समावेश शब्द जनअभिमतको विषयमा धेरै शंका नगर्न आग्रह गरेका छन् ।

नागरिक टाइम्ससँगको कुराकानीमा उपसंयोजक सिंहले जनअभिमतको व्याख्या जनमतसंग्रह मात्रै नहुने बताए। आफ्नो गठबन्धनले नेपालको संविधान र अखण्डतालाई स्वीकार गर्दै सरकारपक्षसँग राजनीतिक सहमति गरिसकेको अवस्थामा आफ्नो गठबन्धनका विषयमा अनावश्यक अफवाह नफैलाउन पनि उनले आग्रह गरेका छन् ।

तर, राउत समर्थिक कार्यकताले उनको स्वागतका लागि विमानस्थलमा जम्मा हुँदा स्वतन्त्र मधेस लेखिएको ज्याकेट र झण्डाको प्रयोग गरेको विषयमा उनले कार्यकताको उत्साहका कारण यस्तो भएको बताए । उनले थप भने, ‘हामीले सरकारसँग भएको सहमति बिर्गाने उद्देश्यले यस्तो गरेका होइनौँ ।

शुक्रबार सरकारसँग ११ बुँदे राजनीतिक सहमति गरेका सीके राउत आइतबार अपराह्न जनकपुर प्रस्थान गरेका छन्। जनकपुरमा राउतलाई स्वागत गर्न विमानस्थलमा उत्रिएका उनी समर्थित कार्यकताले सरकारसँग गरेको सहमति उल्लङ्घन गरेको आरोप लागेको छ। सहमतिको बुँदा नम्बर ६ मा संविधानको व्यवस्थाविपरीत र सहमतिको प्रतिकूल हुने किसिमको काम कार्वाही गर्न नपाइने उल्लेख छ ।

सहमतिमा प्रयोग शब्द जनअभिमतको अभिप्राय लोकतान्त्रिक विधि अपनाउने भन्ने रहेको बताउँदै सिंहले लोकतान्त्रिक विधिमा जनमतसंग्रह र निर्वाचन दुवै प्रक्रिया रहेकोमा कुनै एक प्रक्रिया अपनाउँदै मधेसमा रहेको विद्यमान समस्या समाधान गर्ने प्रक्रिया अपनाउने विषयमा आफूहरु सचेत रहेको दाबी गरेका छन् ।

बिगतमा सद्भावना राजनीतिमा सक्रिय सिंह महोत्तरीबाट सांसदीय राजनीतिमा समेत भाग लिसकेका हुन् । ‘जनअभिमतले जनमतसंग्रहको मात्रै व्याख्या गर्दैन, यो शब्द आफैमा लोकतान्त्रिक शब्द हो, जनकपुरमा रहेका सिंहले भने, ‘सहमतिका लागि हामी लोकतान्त्रिक विधि अपनाउँदै संविधानअन्तर्गत रहेको व्यवस्थालाई आत्मसाथ गर्दै संसदीय निर्वाचन र जनमतसंग्रह दुईमध्ये एक प्रक्रियामा जाने भन्ने हो ।’ लोकतन्त्रमा जनताको अभिमत लिने विभिन्न प्रक्रिया हुनेमा हामीले त्यही प्रक्रिया अवलम्बन गर्ने कुरामा जोड दिएका हौँ, सिंहले भने ।

पहिलेको तस्विर : 

अहिलेको तस्विर

प्रकाशित मिति: Mar 11, 2019

प्रतिक्रिया दिनुहोस्