Logo
४ बैशाख २०८१, मंगलबार
(March 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१२ देखि १८ वर्ष समूहका १२ सय लागुऔषध प्रयोगकर्ता बालबालिका पक्राउ

कैलाली : कैलालीको टीकापुरस्थित इलाका प्रहरी कार्यालयले पछिल्लो १० महिनामा १ हजार २ सय लागुऔषध प्रयोगकर्ता बालबालिकालाई पक्राउ गरेको छ। यसरी पक्राउ गरिएका बालबालिका १२ देखि १८ वर्ष समूहका छन् । पक्राउ गरिएका बालबालिकामध्ये ९ जनालाई सुधारगृहमा र बाँकीलाई अभिभावकको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

पुनः लागुऔषध प्रयोग गरेको पाइए अभिभावकलाई पनि कारवाही गर्ने चेतावनी दिँदै प्रहरीले बालबालिकालाई सम्झाएर पठाउने गरेको छ । प्रहरीले पछिल्लो दश महीनामा लागुऔषध ओसार-पसारमा संलग्न दुई महिला गरी ४२ जनामाथि मुद्दा चलाएको छ । ओसार-पसारमा संलग्न तीन वटा समूहलाई पक्राउ गरिएको छ । प्रहरीले सो अवधिमा ६८ ग्राम खैरो हिरोइन, ५९९ ट्याबलेट नाइट्रोभेट, ९८ ट्याबलेट स्पाम, १२० ट्याबलेट एबिल, ३५ हजार २०० ट्याबलेट ट्रमाडोल नामक लागुऔषध पनि बरामद गरेको छ।

प्रहरीले लागुऔषधमा कडाइ गरेपछि मङ्सिर महीनाबाट एक-दुई जना मात्र प्रयोगकर्ता पक्राउ परेका छन्। माघ र फागुनमा एक/एक जना मात्र पक्राउ परेको प्रहरीले जनाएको छ। ‘१० महीनाअघि टीकापुर क्षेत्रमा लागुऔषध व्यापक रुपमा थियो। मङ्सिरदेखि कमी आएको छ,’ इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख नायब उपरीक्षक शिवहादुर सिंहले भने, ‘लागुऔषध यहाँको मुख्य समस्या थियो, सम्झाएर हुनेलाई सम्झायौँ, नमान्नेलाई मुद्दा चलायौँ।’

स्थानीय राजनीतिक दल र विद्यालयको सहयोगमा प्रहरीले नियन्त्रण गर्न सफल भएको प्रहरी नायब उपरीक्षक सिंहको भनाइ छ। ‘प्रत्येक विद्यालयमा गएर लागुऔषध विरुद्धको अभियान चलायौँ र भारतीय नाकामा कडाइ ग¥यौँ,’ उनले भने, ‘लागुऔषध नियन्त्रणमा कमी आएपछि अपराधका घटना पनि कमि भएका छन् ।’ प्रहरीले यस क्षेत्रमा विद्यालय र विभिन्न क्लब तथा समुदायमा गरी २ सयवटा लागुऔषध विरुद्धको अभियान सञ्चालन गरिसकेको छ ।

प्रकाशित मिति: Mar 10, 2019

प्रतिक्रिया दिनुहोस्