Logo
७ बैशाख २०८१, शुक्रबार
(March 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विकासका कामले गति लिँदै भरतपुर महानगरपालिका, बोलेर होइन काम गरेर देखाउँछु : मेयर

चितवन : भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आफू बोलेर भन्दा पनि काम गरेर देखाउने उद्देश्यका साथ अगाडि बढिरहेको बताएकी छिन् । आइतबार भरतपुर महानगरपालिका वडा नम्बर १७ को कार्यालय भवनको शिलान्यास गर्दै उनले यस्तो बताएकी हुन् ।

भरतपुर महानगरपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखी कामहरु अगाडि बढाइरहेको बताउँदै प्रमुख दाहालले आफ्नै कार्यकालमा सुरु गरेका गौरवका आयोजनाहरू अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, सिटी हल, रिङरोड र लिंकरोड, फोहोरमैलाको दिगो व्यवस्थापन, पार्क निर्माण, व्यवस्थित अटोल्याण्ड, सडकहरूको स्तरोन्नति, कालोपत्रे लगायतका कामहरु भैरहेको बताइन् ।

गुणस्तरीय सेवा प्रवाहका लागि सुविधासम्पन्न कार्यालय अपरिहार्य हुने बताउँदै उनले सोही बमोजिम महानगरपालिकाले वडा कार्यालयहरु निर्माणको कामलाई जोड दिएको बताइन् । केही वडा कार्यालयहरुको निर्माण सम्पन्न भैसकेको र ४ वटा वडा कार्यालयहरु निर्माणाधीन अवस्थामा रहेको बताउँदै मेयर दाहालले महानगरपालिकाका सम्पूर्ण वडा कार्यालयहरु सुविधासम्पन्न र प्रविधिमैत्री हुने बताइन् । उनले निर्माणाधीन वडा कार्यालय गुणस्तरीय ढंगले तोकिएको समयमै सम्पन्न गर्न निर्माण व्यवसायिलाई आग्रह गरिन् ।

नदीतटीय क्षेत्रका जनसमुदायहरु विगतदेखि नदी कटान, डुबान र जंगली जनावरको आक्रमणबाट आक्रान्त भएको भन्दै उनले यसको दीर्घकालीन समाधानका लागि जग्गा उकास सहितको राप्ती र नारायणी नदीको तटबन्धन सहितको बाहिरी चक्रपथको कामलाई अगाडि बढाउन लागिएको बताइन् । प्रमुख दाहालले पूर्वाधारकासाथै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन विकासका साथै सामाजिक विकास गर्दै सुशासन कायम गरी महानगरको विकास गर्नु आफ्नो प्रमुख उद्देश्य भएको बताइन् ।

वडा नम्बर १७ का अध्यक्ष ललितमान तामाङले भाडामा लिएर कार्यालय संचालन गर्नु परेको अवस्थालाई अन्त्य गर्दै यसै आ.व.बाट नयाँ भवनमा सर्ने लक्ष्य राखिएको बताए ।

प्रकाशित मिति: Mar 10, 2019

प्रतिक्रिया दिनुहोस्