Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वीरगन्जका उद्योगी केडिया अपहरण काण्डमा प्रहरीले पनि ३० लाख लिएको दाबी

ब्यपारिक शहर वीरगन्ज स्थित उद्योगी सुरेश केडियाको अपहरणकाण्डका मुख्य नाइके भारतीय नागरिक बब्लु पासवानले अपहरणका बेला नेपाल प्रहरीले पनि मोटो रकम लिएको आरोप लगाएका छन्। उद्योगी केडियाको अपहरणमा संलग्न रहेको भन्दै प्रहरीले गत बिहीवार भारतसँग सीमा जोडिएको पर्साको भिस्वा नाकाबाट भारत बिहारको रक्सौल नगर परिषद् वडा नम्बर १७ का ३५ वर्षीय बब्लु पासवान र राजहर्नाही ग्राम पन्चायत वडा नम्बर ३ का २५ वर्षीय नन्की भन्ने विजय महतो कुशवाहालाई पक्राउ गरेको थियो।

पक्राउ परेका दुवैलाई सार्वजनिक गर्न शनिवार जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा अपहरणकाण्डका मुख्य नाइके भनिएका पासवानले केडियाको अपहरणपूर्व नै आफूहरूले बाराका प्रहरी अधिकारीहरूलाई १८ लाख भारु (करिब ३० लाख नेपाली रुपैया ) बुझाएको बताएका हुन्। तर उनले रकम कसले लिएका हुन् भन्ने खुलाएनन्।

पासवानका अनुसार केडियालाई अपहरण गरेर भारतीय भूमिसम्म लैजाने क्रममा बाटोमा नेपाल प्रहरीले कुनै प्रकारको रोकटोक नगर्ने शर्तमा उक्त रकम बुझाइएको पासवानले बताए। अपहरणका मुख्य योजनाकार बब्लु दुवे भन्ने मिथिलेश मिश्राले १८ लाख भारु (३० लाख नेपाली रुपैयाँ) बुझाएपछि प्रहरी अधिकारीले ‘कुनै समस्या हुँदैन’ भनेको पासवानले सुनाए। केडिया अपरहरणमा प्रहरी अधिकरीको पनि संलग्नता रहेको उनको दाबी छ।

पत्रकार सम्मेलनमा पासवानले अपहरणकाण्डका मुख्य योजनाकार रहेका कुख्यात अपराधी भारतीय नागरिक बब्लु दुबे भन्ने मिथिलेश मिश्राको हत्या आफूले नै गरेको दाबी पनि गरे। हत्या, अपहरण, फिरौती लगायतका मुद्दामा भारतीय जेलमा रहेका बेला बब्लु दुबेलाई भारतीय प्रहरीले २०७४ बैशाख २८ गते भारतको पटना उच्च अदालतमा हाजीर गराउन लगेका बेला अदालतकै अगाडी अपरिचित दुई हतियारधारीले गोली प्रहार गरि बब्लु दुबेको हत्या गरेका थिए।

त्यसबेला अदालतमा आफूले नै गोली हानेर हत्या गरेको शनिवारको पत्रकार सम्मेलनमा पासवानले बताए। केडियाको अपहरणकाण्डमा १० करोड रुपैयाँ फिरौती असुली गरिए पनि ब्बलु दुबेले सम्झौता अनुसार फिरौती रकम बाँडफाँड नगरी एक्लै कुम्ल्याएकाले आफूले उनको हत्या गरेको पासवनको दावी छ। पासवानले भने मुख्य योजनाकार बब्लु दुबेले आफूहरूसँग भएको पूर्व सहमतिअनुसार फिरौती बापत् आएको १० करोड मध्ये एक करोड रकम नदिएपछि उनको हत्या गरेको दाबी गरे।

‘बब्लुकै योजना मुताबिक अपहरण गरिएको थियो, फिरौती बापत १० करोड रकम आएको थियो तर बब्लुले सहमतिअनुसार एक करोड हामीलाई दिएनन् ,’ पासवानले भने ‘पुलिस प्रशासनको खतरा मोलेर सबै काम हामीले गर्ने, अनि रकम जति सबै ऊ एक्लैले लिएपछि उसको हत्या गरिदिएको हु।

पासवानका अनुसार केडिया अपहरणको मुख्य योजनाकार त्यस बेला भारतीय जेलमा रहेका बब्लु दुबे नै थिए। दुबेकै योजना र निर्देशन अनुसार पासवान तथा उनीसँगै बिहीबार पक्राउ परेका विजय गरी ६ जनाको समूहले केडियालाई २०७३ साल जेठ १३ गते बाराको बघवनबाट अपहरण गरी गाडीमा राखेर भारतीय सीमा कटाएका थिए। अपहरण गर्ने क्रममा अपहरणकारीको समूहले केडियाका गाडी चालक श्याम साहलाई गोली हानेर घाइते बनाएका थिए।

अपहरण भएको चार दिनपछि नै केडिया अपहरणमुक्त भएका थिए। नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा केडियालाई अपहरणमुक्त गराएको दाबी गर्दै आएको छ।  तर शनिवारको पत्रकार सम्मेलनमा पासवानले भने केडियाका आफन्तले १० करोड रुपैयाँ फिरौती बुझाएपछि आफूहरूले उनलाई भारतको मोतीहारी नजिकैको कटौवा गाउँ लगेर छाडिदिएको बताए। केडिया अपहरणमुक्त भएका बेला पनि १० करोड फिरौती बुझाएर अपहरणमुक्त भएको चर्चा चलेको थियो।

यसअघि केडिया अपहरणकाण्डमा संलग्न भएको भन्दै बारा प्रहरीले बाराको महागढिमाइका वीरेन्द्र यादव, कबहिजब्दीका जियालाल यादव, वीरेन्द्र यादव, जियालाल यादव र चन्चल पाण्डे गरी पाँच जनालाई २०७३ साल जेठमै पक्राउ गरेको थियो। उनीहरू पाँचै जना पुर्पक्षका लागि वीरगन्ज कारागारमा रहेका छन्।

पत्रकार सम्मेलनमा पर्सा प्रहरी उपरीक्षक रेवती ढकालले विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले पासवान र महत्तोलाइ पक्राउ गरेको जानकारी दिए। केडिया अपहरण सम्बन्धि मुद्दा जिल्ला अदालत बारामा दर्ता भएकोले पक्राउ परेका दुबै जनालाई आइतवार जिल्ला प्रहरी कार्यालय बारामा पठाइने जानकारी पनि उनले पत्रकार सम्मेलनमा दिए।

प्रकाशित मिति: Mar 9, 2019

प्रतिक्रिया दिनुहोस्