Logo
१३ बैशाख २०८१, बिहीबार
(March 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिना हानिकारक केमिकल प्रयोगबाट सौन्दर्य सामग्री अब नेपालमै बनाइदै

आफ्नो छाला सुन्दर र स्वस्थ राख्ने चाहाना कसलाई हुदैन र? तर हिजोआज छालाको सरसफाई र सौन्दर्यका लागि भनि प्रयोग गरिएको सामग्रीबाट नै उल्टो छालामा नकरात्मक असर परेको प्रसस्तै सुनिन्छ । यसो हुनुको मुख्य कारण भनेको यी सौन्दर्य सामाग्रीहरुमा प्रगोग हुने हानिकारक रसायनहरु हुन् जसले छालाको स्वास्थ्यमा निकै नकारात्मक असर पार्न सक्छ।

यी समस्याहरुका माझ नुग: इसेन्स इन्टरप्राइज(www.nugaessence.com.np) ले मानिसले खादा सामेत कुनै असर नगर्ने किसिमक व्याक्तिगत हेरचाह(Personal care) सामग्रीहरु बजारमा ल्याएको छ। सुन्दा अचम्म लाग्न सक्छ, तर नुग:मा बन्ने व्यक्तिगत हेरचाह तथा सौन्दर्यका सामग्रीहरुमा कुनै हानिकारक केमिकल प्रयोग गरिएको हुँदैन। चिनीमा आधारित (Sugar based) भएर बन्ने बडी स्कर्ब(Body Scurb), साबुन, फेस प्याक, ओंठका लागि Lips scurb जस्ता सामग्रीहरु नुग:ले उत्पादन गर्दै आएको छ।

नुग: इसेन्स इन्टरप्राइज दुई वर्ष अघि सुयश र रसनाले सुरु गरेका थिए। काठमाडौँको बबरमहल स्थित Kings College, बाट MBA गरेका यी दुई विद्यार्थीहरु पढाई सकेपछी जागिर पनि गर्न थाले। तर जागिरमा रमाउनु उनीहरुको उद्देश्य थिएन।

रसनाले पहिल्यै देखि घरमै सौन्दर्य र व्यक्तिगत हेरचाहका सामग्री बनाउने गरेकी थिइन्। उनको यहि क्षमतालाई व्यावसायिक रुप दिँदै Kings College का यी विद्यार्थी आफ्नै व्यवसाय स्थापित गर्न लागि परे। फेस प्याक, चिनी बाट बन्ने बडी स्कर्ब, लिप स्कर्ब जस्ता सामग्रीको व्यावसायिक उत्पादनले उनीहरुलाई सुरुवातमै राम्रो आँट दियो।

आफ्नो स्वास्थ्यको सबैलाई माया लाग्छ र कुरा बुझाउन सकेमा विविध प्रिजर्भेटिभ राखेर बनाइएका हानिकारक रसायनयुक्त सामग्री कसैले प्रयोग पनि गर्दैनन् भन्ने उनलाई लाग्थ्यो। २०१६ मा सुरु भएको नुग: इसेन्स इन्टरप्राइजले २०१७ को मार्चमा Kings College मै आफ्नो स्टल राख्ने अवसर पायो।

डेढ वर्षसम्म विविध तरिकाबाट खान पनि मिल्ने सरसफाई र सौन्दर्य सामग्री(edible personal care products) उत्पादन सम्बन्धी रिसर्च गर्दै आएका दुई संस्थापकहरुलाई आफ्नै कलेजले जुराईदिएको यो अवसरले व्यावसायिक रुपमा धेरै कुरा सिक्ने मौका दियो। अन्त्यमा उत्कृष्ट स्टलका लागि अवार्ड पनि जित्नुले नुग: इसेन्सका दुई सञ्चालकलाई निकै हौसला पनि दिएको सुयशले बताउँछन्।

नुग:का उत्पादनमा कफी, मह, वाइन, चकलेट, गुलावका पत्रहरु प्रयोग हुन्छन्। अब छिट्टै फलफूलको प्रयोग पनि गर्ने र स्तरीय उत्पादनको सङ्ख्या बढाउने उनको योजना छ। अहिलेसम्म मुख्यतः विदेशी नागरिकहरु नुग:को ग्राहक छन् भने नेपालकै धेरै ग्राहक पनि उनले कमाउँदै छन्। नेपालमा व्यवसाय गरेपछि नेपालीलाई नै सेवा दिनुपर्छ भन्ने उनलाई लाग्छ।

सामान्यत: २०/२५ रुपैंयामा नेपालमा साबुन बिक्री हुन्छ। बजारमा राम्रा ब्रान्ड भनिएका साबुनलाई भने १०० रुपैयाँ भन्दा माथि चार/पाँच सय सम्म मूल्य तोकिएको छ। तर त्यस्ता साबुनमा पनि प्रिजर्भेटिभस् राख्नै पर्ने हुन्छ। नुग:का साबुनहरु प्रिजर्भेटिभस्बाट मुक्त त छन् नै, मुल्यमा पनि त्यत्ति महङ्गा छैनन्। नुग:का २५० रुपैयाँ सम्मका साबुनहरु नेपालकै ग्राहकले पनि निकै मन पराउन थालेको सुयश बताउँछन्।

“नेपालमा यसभन्दा अघि प्राकृतिक रुपका राम्रा साबुन नबनेका हैनन्, तर त्यसमा प्याकेजिंग र ब्राण्डिंगको समस्या थियो”, सुयश भन्छन्। देख्दैमा अनाकर्षक लाग्ने त्यस्ता साबुनले ग्राहकको मन जित्न त्यत्ति नसकेको उनको बुझाई छ। त्यसैले नुग:का उत्पादनमा प्याकेजिंगमा पनि विशेष ध्यान दिइएको छ। स्तरीय र आकर्षक प्याकेजिंग नुग:को विशेषता हो। नेपालका पर्सनल केयर प्रडक्ट संसारभर “नुग:”को नामले प्रचलित बनाउने र पर्सनल केयर प्रडक्टको निकै ठुलो इन्डस्ट्री स्थापित गर्ने यी उदियमान युवा उद्यमीको लक्ष्य छ।

नेपालमा राम्रो प्याकेजिंग उद्योग स्थापना भएमा स्तरीय प्याकेजिंगको लागि भारतमा निर्भर रहनु नपर्ने उनी बताउँछन्। नेपालको अर्थतन्त्रलाई नै ठुलो धक्का दिएर अघि बढाउने गरि काम गर्नुपर्ने उनले महसुस गरेका छन्। त्यसैले “नुग:”को ब्राण्ड बनाउनमा उनी केन्द्रित छन्। प्रचारबाजी र मुलधारको बजारमा प्रवेश नगर्दै पनि उनले धेरैं ग्राहक बनाईसकेका छन्। सामाजिक सञ्जाल, वेबसाइट, विज्ञापन, अनलाइन स्टोरसँग सहकार्य अनि आफ्नै आउटलेटहरु खोल्ने तयारीमा उनी लागेका छन्।

यस्तै मौकाको फाइदा उठाउँदै यहि भाद्र ७ गते देखि १० गते सम्म भृकुटीमण्डपमा हुने १७औँ गुलाबरी तीज महोत्सवमा २०० भन्दा बढी व्यवसायीसँगै उनले पनि स्टल राख्दैछन्। “नुग:” अर्थात खस भासामा “मन” अर्थ आउने यो नेपाल भाषाको शव्दले उनका उत्पादनको बारेमा पनि एक किसिमको कोमलताको जनाउ दिने उनी बताउँछन्।

आजसम्म एकपटक आएका ग्राहक नै उनको निरन्तर ग्राहक बन्दै आएका छन्। सुरुवाति चरणमा उनले ग्राहकबाटै पाएको सुझावलाई आफ्मो उत्पादनमा प्रयोग गर्दै, परिष्कृत हुँदै, ग्राहकको आवश्यकता अनुसारको स्तरीय र स्वस्थ उत्पादन बजारमा ल्याएका छन्। प्याकेजिंगमा विशेष ध्यान दिँदै अन्तर्राष्ट्रिय ग्राहकको उनले धेरै मन जितेको र विदेशी ग्राहकले माया गरेकै कारण नुग: यो स्थानसम्म आएको बताउँछन्। व्यक्तिगत हेरचाहको सामग्री भन्नेबित्तिकै विश्वले नेपाललाई सम्झिने गरि नेपालको नयाँ पहिचान सहित आफ्नो व्यवसायलाई अघि बढाउने उनको उद्देश्य छ।

व्यापार(Trading) भन्दा पनि उत्पादनमुखी व्यवसाय(Manufacturing) नै सञ्चालन गर्नुपर्ने र उत्पादनले मात्रै देशको अर्थतन्त्रलाई बलियो बनाउन सक्ने सुयशको बिचार छ। कृषिमुखी व्यवसायमा उनी सबैभन्दा बढी सम्भावना देख्छन्। दुई वर्ष भन्दा अघिबाटै व्यक्तिगत समय पनि कटाएर व्यवसायमा खर्चेका सुयश र रसनाको कामप्रतिको लगाव साँच्चै अनुकरणीय छ। अन्तराष्ट्रिय स्तरको स्वस्थ सौन्दर्य र सरसफाईका सामग्री उत्पादन गर्ने र देशकै अर्थतन्त्र उकास्ने लक्ष्यसहित अघि बढेको साहसी नेपाली युवा व्यवसायीको “नुग:”लाई स्थापित ब्राण्ड बनाउने महत्वाकांक्षा पुरा होस् भन्ने कामना उद्यमी नेपालको टिमले गरेको छ।

#उद्यमीबाट

प्रकाशित मिति: Mar 6, 2019

प्रतिक्रिया दिनुहोस्