Logo
७ बैशाख २०८१, शुक्रबार
(March 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बर्षौदेखिको सपना हुने भयो पुरा : कालोपत्रे हुँदै पाँचपोखरी पर्यटनमार्ग

काठमाडौं : पर्यटन मन्त्रालयले १ सय गन्तव्यमा समेटिएको सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल पाँचपोखरी पुग्ने सडक कालोपत्रे हुने भएको छ । पाँचपोखरी पर्यटन मार्ग मेलम्ची(भोताङ सडकअन्तर्गत मेलम्ची बजारदेखि धापसम्म करिब १४ किलोमिटर सडक कालोपत्रे गर्न लागिएको हो।

१४ किलोमिटरमध्ये राम्चेबाट धापसम्म १० किलोमिटर सडकको ठेक्का लागेर काम सुरु गरिएको डिभिजन सडक कार्यालय चरिकोटका इन्जिनियर गागल भण्डारीले जानकारी दिए । उनका अनुसार ठेकेदार परिचालन भएर केहि दिन अघिबाट काम नै सुरु गरिसकेको छ । २ बर्षमा उक्त सडक तयार पार्ने लक्ष्य राखिएको छ । बाँकी मेलम्ची बजार पुलदेखि राम्चेसम्मको ४ किलोमिटर सडकको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) गर्न बाँकी रहेको छ ।

यो वर्ष मेलम्ची नगरपालिकाले आफ्नो खर्चमा डिपिआर गर्न सम्झौता गरिसकेको छ । डिपिआर तयार भएपछि टेण्डर निकालेर काम सुरु गर्ने योजना रहेको इन्जिनियर भण्डारीले जानकारी दिए । सुरुमा पाँचपोखरी पर्यटनमार्ग केन्द्रमातहत डिभिजन सडक कार्यालय चरिकोटले मर्मत, सम्भार र निर्माणको काम गर्दै आएको थियो । देशमा संघीयता गएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केन्द्र, प्रदेश र स्थानीय तहले हेर्ने सडकको वर्गीकरण गरेको थियो । उक्त सडक प्रदेश मातहत गयो ।

प्रदेशमा पर्याप्त बजेट र प्राविधिक जनशक्ती नभएका कारण एक बर्षजति सडक अलपत्र बनेको हो । सामान्य मर्मत सम्भारबाहेक योजनागतरुपमा केही काम भएन । त्यसपछि मेलम्ची खानेपानी आयोजनाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेख्दै राष्ट्रिय गौरवको आयोजनाको दोस्रो फेज जाने सडक अलपत्र परेको भन्दै केन्द्र मातहत ल्याउन आग्रह गर्यो । त्यसपछि यो सडक पुन डिभिजन सडक कार्यालय चरिकोटअन्तर्गत पुग्यो ।

चरिकोट पुगेपछि डिभिजन कार्यायले सडक कालोपत्रे गर्ने भन्दै ठेक्का निकालेको हो। अहिले सम्झौता नै भएर साईटमा काम नै सुरु भैसकेको छ। दोस्रो फेजको याङ्ग्री र लार्के खोलाको साइट यहि सडकको माध्यमबाट जानुपर्छ । धापमा याङग्री र लार्के जाने जङसन रहेको छ । त्यहाबाट याङ्ग्री लार्के खोलासम्म जानका लागि ठेक्का लागेर काम सुरु भैसकेको छ ।राम्चेदेखि धापसम्मको १० किलोमिटर सडकका लागि ‍ २० करोड रुपैया बजेट छुट्याएको छ । जसमा ३५ करोडमा निर्माण सम्पन्न गर्ने गरि निर्माण कम्पनीसंग सम्झौता गरिएको छ ।

इन्जिनियर भण्डारीका अनुसार सडक ३/५ र३/५ मिटरको दुई लेन गरि ७ मिटरमा ब्ल्याक टप गरिने छ। भने १/५र१/५ मिटरका दुईतिर ड्रेनेज र सोल्डर रहनेछन् । केहि बर्ष अघिसम्म यो सडकमा हिउदका केहि महिना मात्रै गाडी संचालन हुन्थ्यो। वर्षायाममा पैदल यात्रुसमेत आवतजावत गर्न मुश्किल पर्ने गरेको थियो। भूकम्पपछि जापानी सहयोगमा सडक काभ्रे खोला, खाल्डेखोला, तिपेनी खोला र हाडी खोलामा पक्की पुलसमेत निर्माण सम्पन्न भएपछि बर्खायाममा समेत गाडि चल्न थालेका छन्।

पाँचपोखरी क्षेत्रको मेरुदण्डका रुपमा रहेको यो सडक धापबाट भोताङसम्म समेत स्तरोन्नती गर्ने योजना रहेको छ । अहिले पाँचपोखरी क्षेत्रलाई पर्यटकीय रुपमा विकास गर्न केवलकार निर्माण गर्न सम्भाव्यता अध्ययन भैरहेको छ । पर्यटन मन्त्रालयले १ सय गन्तव्यमा पाँचपोखरीलाई समेत समेटेको छ ।

यो सडक निर्माणले पर्यटकहरुलाई पाँचपोखरी जान केहि सहज हुने अपेक्षा गरिएको छ । भने मेलम्ची नगरपालिका र पाचपोखरी गाउपालिकाका २० हजारले प्रत्यक्ष रुपमा फाइदा लिने छन् । पाँचपोखरीबासीको बर्षौदेखिको सपना पुरा हुने भएको छ ।

प्रकाशित मिति: Mar 3, 2019

प्रतिक्रिया दिनुहोस्