Logo
१५ चैत्र २०८०, बिहीबार
(March 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेशी लगानीमा आमुल कम्पनी नेपाल आउँदै, डेरी उद्योगीहरुको आपत्ति

काठमाडौं  : संघीय संसदमा ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक’ दर्ता भएपछि डेरी उद्योगीहरुले आपत्ति जनाएका छन् ।

सरकारले डेरी उद्योगको क्षेत्रमा विदेशी लगानी भित्र्याएर नेपाली उद्योग र किसानलाई समाप्त पार्न खोजेको आरोप लगाउँदै उनीहरुले डेरीको क्षेत्रमा आउने विदेशी लगानीलाई रोक्न आग्रह गरेका छन् ।

नेपाल डेरी एशोसिएशन र डेरी उद्योग संघले शनिवार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा डेरी उद्योगी सुमित केडियाले सरकारले आफूहरुलाई उठीवास गराउन चाहेको आरोप लगाए ।

उनले भने, ‘राज्यले विदेशी लगानी भित्र्याएपछि बाध्य भएर कारोबार छाडेर हामीलाई वैदेशिक रोजगारमा जानुपर्छ या उनीहरुको उद्योगमा काम गर्नुपर्छ ।’

‘डेरी क्षेत्रमा ३० अर्बको लगानी छ । एक अर्ब भन्दा बढी कर तिरिरहेका छौं । चाहिएको क्वालिटीमा दुग्धजन्य पदार्थ उपलब्ध गराईरहेका छौं । चाहिने आवश्यकता पुरा गरिरहेका छौं । भनि यहाँ किन चाहियो विदेशी कम्पनी ?’ उनले प्रश्न गरे ।

विदेश लगानी त्यो क्षेत्रमा भित्र्याउनुपर्छ जहाँ लगानी छैन, उद्योग छैन, काम गर्ने मान्छे छैन, उत्पादन छैन, डेरी क्षेत्र त आफैमा सक्षम हुँदा हुँदै पनि राज्यले विदेशी कम्पनी ल्याउन लागेको भनि उनले आपत्ति जनाए ।

नेपाल दुध विकास संस्थान (डिडिसी) का महाप्रबन्धक ईश्वरीराज न्यौपानेले विदेशी लगानीले नेपालका किसान र उद्योगी धारासायी हुने बताए ।

उनले भने, ‘सुन्दैछु भारतका आमुल कम्पनी नेपालमा उद्योग स्थापना गरिरहेको छ, यदि त्यस्तो हो भने नेपाली किसान र उद्योगीका लागि दुर्भाग्य हुन्छ, हामी आमुल कम्पनी भन्दा कुनै कुरामा कमजोर छैनौ ।’

दुधको क्षेत्रमा आत्मनिर्भर हुन गइरहेको बताउँदै उनले यस अवस्थामा आमुल जस्ता अन्तराष्ट्रिय कम्पनी नेपालमा आयो भने यहाँका किसान र उद्योगी धारासायी हने दावी गरे ।

डेरी उद्योग संघका अध्यक्ष अरनिको राजभण्डारीले नेपालीका डेरी उद्योग सक्षम भइसकेको कुरा सरकारले स्वयं स्वीकार गरिसकेको छ तैपनि त्यसमा विदेशी लगानी भित्र्याइरहेको छ यसले नेपालको डेरी उद्योग समाप्त हुने बताए ।

नेपालमा हाल एकहजार ८५० डेरी उद्योग क्रियाशिल रहेको बताउँदै उनले सबै उद्योग आआप्नो क्षेत्रमा सफल रहेको दावी गरे । देशको आवश्यकतालाई पूरा गरिरहेका छन् भने विदेशी कम्पनीको आवश्यक नरहेको उनले उल्लेख गरे ।

देशको कुल गृह्रास्थ उत्पादनमा कृषिले मात्र २९ प्रतिशत योगदान दिइरहेको छ त्यसमा दुध क्षेत्रले नौ प्रतिशत योगदान दिइरहेको बताउँदै उनले यसलाई धारासायी हुनबाट बचाउन सबैको कर्तव्य रहेको बताए ।

प्रकाशित मिति: Mar 2, 2019

प्रतिक्रिया दिनुहोस्