Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युवालाई लोकसेवाको तयारी गर्न गाउँपालिका अध्यक्षद्धारा एक महिनाको तलब सहयोग

बझाङ : खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष बर्क बहादुर रोकायाले यहाँको एक जना गरिब तथा जेहेन्दार पढे लेखेको युवालाई लोकसेवाको तयारी कक्षा गर्नका लागि आफ्नो एक महिनाको पारिश्रमिक सहयोग स्वरुप दिएका छन् । खप्तड छान्ना गाउँपालिका ५ मोतुवा घर भएका भक्त बहादुर सिंहका कान्छा छोरा बिनय बहादुर सिंहलाई धनगढीमा लोकसेवाको तयारी कक्षा पढ्नका लागि मंगलबार गाउँपालिका कार्यालयमा नगद ३० हजार सहयोग गरेका हुन् ।

धनगढीमा एच. ए. पास गरेर जागिर नपाएको र माथिल्लो कक्षा पढन घरको आय स्रोत नभएको हुँदा बिनयका बुवा भक्त बहादुर सिंहले आफ्नो छोराको पढाईको अबस्था र घरको पारिवारिक समस्याबारे गाउँपालिका अध्यक्ष रोकायासंग जानकारी गराएपछि अध्यक्ष रोकायाले सहयोग गरेका हुन् ।

घरमा जग्गा जमिन पनि नभएका सिंह गाउँकै सबै भन्दा गरिब परिवारका हुन् । अरु छोरा भन्दा पढाइमा बिनय तेजिलो हो, भक्त बहादुर सिंहले भने पैसा नभएर साह्रै समस्या थियो घरमा बोलाउने सोचेको थिए अध्यक्षले सहयोग गरेपछि धनगढी मै बसेर केही महिना अब लोकसेवाको तयारी कक्षा गर्न लगाउँछु । गत बर्ष नै हेल्थ असिस्टेन्ड प्रथम श्रेणीमा पास गरेका बिनयले लोकसेवाको तयारी कक्षा लिने सोच गरेका भएपनि घरबाट बुवाले पैसा नपठाउँदा पढ्न सकेका थिएन ।

हाई स्कुलको शिक्षा स्थानीय खप्तड माबि कालुखेतीबाट प्रथम श्रेणीमा पास गरेपछि एच.ए पढनका लागि पनि उनले सरकारी कोटामा छात्रबृत्तिमा नाम निकालेर धननगढी पढेका थिए । अध्यक्ष रोकायाले भने, ‘गाउँपालका भित्र बिनय जस्ता युवाहरु पढाइमा अब्बल भएका धेरै छन् । उनीहरुका लागि गाउँपालिकामै आउँदो वर्षदेखि लोकसेवाको तयारी कक्षा संचालन गर्नु आवस्यक छ ।’

व्यक्ति पिच्छे सहयोग गर्नु भन्दा युवाहरुका लागी लोकसेवा कक्षा संचालन गर्नु आवस्यक भएको युवाहरुको भनाई छ । गाउँका गरिब दुखीहरुको सेवा गर्ने परोपकारी मन भएका अध्यक्ष रोकायाले यस अगाडी पनि आफ्नो पारिश्रमिकवाट स्थानीय जगदीश्वर सामुदायिक बनको घेरबारका लागि २० हजार नगद सहयोग गरेका थिए ।

गाउँपालिका भित्रका अगुवा कृषक समेत रहेका अध्यक्ष वर्क रोकाया तरकारी फलफुल विक्री गरेर मात्र बार्षिक ४।५ लाख कमाउने गर्छन् । फुर्सदमा उनी जहिले पनि आफ्नो तरकारी फलफुल बगैँचामै काम गरेका भेटिन्छन् । संकटकालमा तत्कालिन माओवादीले कुटपिट गरेर मर्नबाट बाँचेका रोकाया यो जिवन उपहार भएको भन्दै जनसेवामै बढी तत्लीन छन् ।

प्रकाशित मिति: Feb 20, 2019

प्रतिक्रिया दिनुहोस्